हस्ताक्षर फिर्ता हुन्न ः एमाले नेता नेपाल

१९ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गर्नु भएको छ ।

शुक्रबार केन्द्रीय कमिटीको बैठकबाट सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन दिनु भएका ओलीले शनिबार दिउँसो ३ बजे अर्को बैठक बोलाउनु भएको थियो ।

त्यसअघि दुई नेताबीच टेलिफोन वार्ता भएको थियो ।
त्यस क्रममा नेता नेपालले आवश्यक सल्लाह र परामर्शबिना राखिएको बैठक रोक्न सुझाव दिनु भएको हो । साथै उहाँले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिन नसकिने अडान राख्नु भएको छ ।

प्रतिनिधिसभा विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ निवर्तमान सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए, जसमा माधव नेपाल समूहका २३ जना पनि छन् ।

सर्वोच्चमा यो मुद्दाको बहस अन्तिमतिर पुगेको छ । तर सर्वोच्चको फैसला आउनुअघि अध्यक्ष ओलीले बैठक राखेर हस्ताक्षर फिर्ता लिन निर्देशन दिनु भएको छ ।

सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता नभए पार्टी फुटको घोषणा मानिने उहाको चेतावनी छ ।

तर वरिष्ठ नेता नेपालले भने हस्ताक्षर फिर्ताको प्रस्ताव एकोहोरो भएको प्रतिक्रिया दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस