साउन २५ मा विधान सम्मेलन गर्ने एमालेको निर्णय

१९ असार, काठमाडौं । नेकपा एमालेले साउन अन्तिममा विधान सम्मेलन गर्ने भएको छ । साथै निर्वाचनसँग जुध्न गए महाधिवेशन वैशाखमा सार्ने प्रस्ताव पेश भएको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र सहभागिता रहेको केन्द्रीय कमिटी बैठकले साउन २५ देखि २७ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।

विधान अधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन, विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन र रामबहादुर थापा बादलले व्यवस्थापन प्रतिवेदन लेख्ने निर्णय भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनु भयो ।

असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय गरेको छ । यस्तै भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनेको उहाले बताउनु भयो ।

बैठकमा महासचिव ईश्वर पोखरेलले निर्वाचनको मितिसँग जुध्न गएमा दशौं महाधिवेशन भने आगामी वैशाख मसान्तसम्म गर्ने प्रस्ताव पेश गर्नु भएको छ । यसअघि दशौं राष्ट्रिय महाधिवेशन मसिर २ देखि ६ सम्म गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस