बेतनी खोलाको बाढीले अटो बगायो, दुई यात्रु बेपत्ता

१९ साउन, दाङ । दाङको तुलसीपुरमा खोलामा आएको बाढीले अटो बगाउँदा दुई महिला बगेर बेपत्ता छन्।

तुलसीपुर उपमहानगरपालिका-४ स्थित बेतनी खोलामा आएको बाढीले अटो बगाउँदा खाद्रे गाउँकी ५६ बर्षीया सीता आले र सुर्खेत जिल्ला घर भई खाद्रे गाउँमै बस्दै आएकी १७ वर्षीया मञ्जु खड्का बेपेत्ता छन्।

शुक्रबार बेलुका तुलसीपुर बजारबाट खाद्रे गाउँ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको पाँच जना सवार अटो तुलसीपुर– ४ स्थित बेतनी खोलामा आएको बाढीले बगाएको थियो।

खाद्रे गाउँका चालक ४६ वर्षीय हरिकिशन विक, स्थानीय ३४ वर्षीया सुनिता थापा र ७ वर्षीय सुशान्त आले भने खोलामा आएको बाढीबाट उत्रन सफल भएका थिए। आमा सुनिताले छोरा सुशान्तलाई जोगाएकी थिइन।

खोलाले बगाएर बेपत्ता रहेका सीता आले र मञ्जु खड्काको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

खोजीका लागि तुलसीपुरबाट प्रहरी निरीक्षक थापाको कमाण्डमा १० जनाको प्रहरी खटिएको छ। शनिबार बिहान पनि घटनास्थलमै रहेका प्रहरी निरीक्षक थापाका अनुसार अहिले पनि खोलामा बाढी नघटेका कारण खोजी कार्य प्रभावित भएको बताए।

शुक्रबार राति करिब पौने १० बजेतिर अर्कौ एउटा अटोलाई पनि काला खोलाले बगाएको थियो।

तुलसीपुर बजारबाट बिजौरी जाँदै गरेको रा १ ह २३५७ नम्बरको अटोसहित चालकलाइ काला खोलामा आएको बाढीले बगाएको थियो। चालक तुलसीपुर – ७ पर्सेनी गाउँका २२ बर्षीय दुर्गाबहादुर पुनको उद्धार भएको थियो।

चालकले मदिरा सेवन गरेका थिए। अटो बगाएको खबर पाउना साथ इप्रका बाट प्रहरी प्रमुख डिएसपी ठाकुरप्रसाद पोख्रेलको नेतृत्वका खटिएको ७ जनाको प्रहरीले चालक पुनको उद्धार गरेको थियो।

प्रतिक्रिया दिनुहोस