तीन बुदे सहमति कार्यान्वयन नगरे सशक्त प्रतिरोध गर्छौ ः चार दल


१८ साउन,काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित चार दलका नेताहरुले तीन बुदे सहमति कार्यान्वय नगरिए सशक्त प्रतिरोध गरिने चेतावनी दिएका छन । सोमवार मात्र ललितपुर उच्च अदालतले तीन बुदे सहमतिको खिलापमा नेकपाका महासचिव विप्लव सहितका नेताहरुलाई राज्य विरुद्धको मुद्धामा पक्राउ पुर्जीको आदेश दिएको थियो ।

सो आदेशको चौतर्फि विरोध भइरहेको वेला विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार दलिय रणनैतिक संयुक्त मोर्चाले बुधबार काठमाडौमा आयोजना गरेको ‘एमसीसी, एसपीपी, चर्को महङ्गी र नेकपा संगको तीन बुदे सहमति विषयक’ संयुक्त अन्तक्रिया कार्यक्रमलाई चार पार्टीका नेताहरुले सम्बोधन गर्दै सहमति कार्यान्वय नगरिए सशक्त प्रतिरोधमा उत्रिने चेतावनी दिएका हुन ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर (विषम)ले तीन बुंदे सहमति कार्यान्वयन नगरी दमन गर्ने नीति लिइएमा जनताको बीचबाट सशक्त प्रतिरोध गरिने चेतावनी दिनु भयो ।
अहिलेको पूँजीवाद्को चरित्र र समाजवादी आन्दोलनको चरित्रबारे व्याख्या गर्दै नेता विषमले अहिलेको विश्वमा पूँजीवाद र समाजवादी दुई प्रणाली र दुई वर्ग बीचको लडाई भैरहेको प्रष्ट्याउनु भयो ।

उहाँले पूँजीवादले तेस्रो विश्वका उत्पीडित देशहरुको अर्थतन्त्र लुट्न हिजोको भन्दा फरक शैलिको विकास गरेको भन्दै उसले माक्र्सवादी र पूँजीवादी द्वैद दर्शनको प्रयोग गरेको टिप्पणी गर्नु भयो ।
नेता विषमले नेपालमा एमसीसी र एसपीपी कार्यान्वयन गर्न खोज्नु भनेको समाजबाद र कम्युनिष्टहरुलाई दमन गर्नु खोज्नु भएको वताउनु भयो ।

उहाँले डोनाल्ड लु नेपालमा आउनु र यहाँका दलालहरुले नेकपा विरुद्ध पक्राउ पुर्जी जारी गर्न लगाउनु भनेको बाघ कराउनु र बाख्रो हराउनुको संयोग जुर्नु जस्तै भएको भन्दै यदि तीन बुदेलाई कार्यान्वयन नगरी दमन गर्ने नीति लिइएमा जनताको बीचबाट सशक्त प्रतिरोध गरिने घोषणा गर्नु भयो ।
कार्यक्रममा ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आरवि भण्डारीले तीन बुदेको कार्यान्वयन गरिनु पर्ने भन्दै त्यसो नगरिए प्रतिरोध हुने उद्घोष गर्नु भयो ।

उहाँले भन्नु भयो “तीन बुदेको पालना र कार्यान्वयन गर्नुको सट्टा पक्राउ पुर्जी जारी गर्ने भनेको नागरिकलाई युद्धमा जान बाध्य पार्ने दुस्प्रयास हो, यो खारेज गरिनु पर्छ ।” उहाँले सरकारले मुडभेटको स्थिति बनाउन खोजेको आरोप लगाउदै यदि पुनः प्रतिबन्ध लगाउने सरकारको तयारी हो भने हामी पनि लडाइका लागि तयार हुनुपर्ने हुन्छ भन्नु भयो ।

उहाँले जनतालाई उल्लु बनाउनका लागि एमसीसी पास गर्ने बेला तथाकथित व्याख्यात्मक घोषण र संकल्प प्रस्तावको एकपक्षीय नाटक मञ्चन गरिको आरोप लगाउनु भयो । नेता भण्डारीले एमसीसी र एसपीपी आएपछि नेपाली अनुहारका देशद्रोही को को छ्न ? भन्ने कुरा जनताले राम्रो संग चिन्न सक्ने अवसर पाएको टिप्पणी गर्नु भयो ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका संयोजक कर्णजित बुढाथोकी (शुसिल)ले नेपाल कम्युनिष्ट पार्टी र सरकार बीच भएको तीन बुदे सहमति राज्यले कार्यान्वयन गर्नु पर्ने भन्दै कार्यान्वय नगरिए सशक्त प्रतिरोध हुने चेतावनी दिनु भयो ।
उहाँले भन्नु भयो “फेरि देशलाई युद्धमा धकेलिन्छ भने यसको जिम्मा काङ्ग्रेस, देउवा र प्रचण्डले लिनुपर्छ । हामी नेपालमा युद्ध चाहन्नौ ,यदि युद्ध भैहालेमा हामी जनयुद्ध होइन राष्ट्रिय प्रतिरोध युद्धमा जानेछौ । हामी रणनैतिक मोर्चालाई अब पार्टी एकताको स्तरमा विकास गर्न चाहान्छौ । हामीले चुनाव प्रयोग गर्ने भए पनि, वहिस्कार गर्ने भए पनि एउटै कार्यनीतिमा जानू पर्छ ।”

बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता जागृत रायमाझीले भारत चीन वा अन्य कुनै देशले हाम्रा विरुद्ध कुनै काम गरेका छन वा छैनन त्यो बहसको पाटो भएको भन्दै अमेरिकी साम्राज्यवादको विरुद्ध उसको हाकाहाकी दमनका विरुद्ध मुख्यत चीन उभिएको वताउनु भयो । उहाँले चीनलाइ घेर्न अमेरिका एमसीसी , एसपीपी जस्ता कार्यक्रम लिएर आएको छ भन्नु भयो ।

नेकपा केन्द्रीय सदस्य सावित्रा दुरा (आस्था)ले वर्तमान गठवन्धन सरकारले मिलेर देश खादै गरेको उल्लेख गर्दै त्यस विरुद्ध प्रतिरोध गरिएकाले महासचिव विप्लव र अन्य कार्यकर्ताविरुद्ध ललितपुर अदालतद्वारा पक्राउ पुर्जी काटिएको वताउनु भयो । उहाँले यो देशभक्तहरु विरुद्धको षड्यन्त्र भएको भन्दै यसको घोर भत्सर्ना र विरोध गर्नुपर्ने वताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका उपाध्यक्ष लिला थापाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन नेकपा केन्द्रीय कार्यालय सचिव चिरञ्जीवी ढकालले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस