बुटवलको सलाई उद्योगमा आगलागी, चार करोड क्षति

१७ कात्तिक, बुटवल । बुटवलको एक सलाई उद्योगमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका–१५ स्थित महालक्ष्मी मैच फ्याक्ट्रीमा मंगलबार राति ८ बजेदेखि १२ बजेसम्म आगलागी भएको हो ।

आगलागी हुँदा चार करोड बढी क्षति भएको उद्योगका सञ्चालक राजेन्द्र ढकालले दाबी गर्नु भयो । रुपन्देही सहित छिमेकी जिल्लाका स्थानीय तहबाट आएका ८ वटा दमकलले चार घण्टामा आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताउनु भयो ।

आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ र तयारी उत्पादन सबै जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । उद्योगको विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे थप अनुसन्धान हुने डीएसपी केसीले बताउनु भयो ।

उद्योग राजेन्द्र ढकाललगायत पाँच जनाको साझेदारी लगानीमा सञ्चालनमा रहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस