१७ कार्तिक दाङः । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले एमसीसी खारेजीको आन्दोलन संचालन गर्ने भएको छ ।
ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनले गरेका निर्णयहरु वुधवार पत्रकार सम्मेलन गरि सार्वजनिक गर्दै युवा संगठन नेपालले एमसीसी खारेजीको आन्दोलन गर्ने निर्णय भएको वताएको छ ।
संगठनले सन् १८१६ मा गरिएको सुगौली सन्धी र सन् १९५० मा गरिएको शान्ति तथा मैत्री सन्धी लगायत सम्पूर्ण असमान सन्धी सम्झौता र धाराहरुको खारेज हुनुपर्ने माग गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा रहेको भारतीय सेनाको क्याम्प हटाउन पनि सशक्त संघर्ष गर्ने निर्णय गरेको छ ।
युवा संगठनले राष्ट्रियता, स्वाधिनता, सार्वभौमसत्ता क्षेत्रीय अखण्डताको रक्षा गर्न निरन्तर संघर्ष गर्ने, गोर्खा भर्ती केन्द्रका नाममा युवाहरुलाई नवदास तथा गुलाम बनाउने कार्य रोक्न राजनीतिक, कुटनैतिक तथा संघर्षका कार्यहरु गर्ने, जनताको मौलिक अधिकारको रुपमा रहेका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, तथा जनअधिकार र जनजीविकाको पक्षहरुलाई स्थापित गर्न संघर्ष संचालन गर्ने निर्णय गरेको पनि सार्वजनिक गरेको छ ।
यस्तै सामाजिक विकृति विसंगतिका रुपमा रहेका धार्मिक अन्धता, जातिय विभेद, लैंगिक विभेद र महिलामाथी हुने सामाजिक दुर्व्यवहार तथा असुरक्षा र बलात्कार जस्ता अमानवीय घटनाहरुको अन्त्यका लागि सामाजिक जागरण तथा संघर्ष संचालन गर्ने युवा संगठनले निर्णय गर्नुका साथै लागूऔषध दुर्व्यसनी गर्ने गराउनेहरुलाई सचेतना कार्यक्रमहरु तथा कार्वाही गर्ने निर्णय गरेको छ ।
युवा संगठनले राज्यसत्ता र राजनीतिक दलहरुका आडमा भइरहेका दलाली, कमिसनखोर, भ्रष्टाचार, सरकारी सम्पत्तीको दोहनसँगै मानव तस्कर र चोरी पैठारी लगायतका क्रियाकलापहरुका विरुद्ध समेत सशक्त संघर्ष गर्ने निर्णय गरेको संगठनका नवनिर्वाचित अध्यक्ष पाटन जंगलीले वताउनु भएको छ ।
कार्तिक १२,१३ र १४ गते सम्म चलेको सम्मेलनले जंगलीको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत निर्वाचित गरेको थियो ।