नेकपाका नेता धर्मेन्द्र बाँस्तोला रिहा भएलगत्तै पक्राउ


२२ माघ काठमाडौं । बिहीबार बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोलालाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय दीपकुमार कार्की र सुष्मलता माथेमाको संयुक्त इजलासले नेता बाँस्तोलालाई फरक विचार र आस्था राखेकै आधारमा पक्राउ गर्न नपाईने भन्दै बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।
जारी बन्दी प्रत्यक्षीकरण आदेशमा बास्तोलामाथि लगाइएको आरोपमा वस्तुनिष्ठ आधार प्रमाण नभएको, पक्राउको पृष्ठभूमि हेर्दा फरक विचार र आस्था राखकै कारणबाट पक्राउ गरिएको ठहर गरिएको छ । तर अदालतबाट बन्दीप्रत्यक्षीकरण आदेश जारी भएर रिहा भएलगत्तै बाँस्तोलालाई फेरि प्रहरीले पक्राउ गरेको छ । नेता बास्तोलालाई अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको जनाइएको छ ।
उहाँ माथि प्रहरीले विष्फोटक पदार्थ (बम) विष्फोट गराई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगमा ललितपुर जिल्ला अदालतमा मुद्दा चलाएको थियो । बाँस्तोलालाई पुस २९ गते ललितपुरको गिम्दीबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस