२१ वैशाख, काठमाडौं । वैशाख यता कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर उकालो लागेको छ । मंगलबार अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै मंगलवार मात्रै ७ हजार ६६० जनामा संक्रमण भएको छ ।
आइतबार २७ र सोमबार ३७ जनाको मृत्यु भएको थियो । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४१७ पुगेको छ ।
उनीहरुमध्ये ३५९ जनाको वैशाख महिनाको २१ दिनमा मृत्यु भएको हो ।वैशाख पहिलो साता दैनिक मृत्यु हुनेको संख्या एक अंकमा थियो । तर ७ गते ११ जना र ८ गते १० जनाको मृत्यु भयो । १२ गते २८ जनासंक्रमितको मृत्यु भएको थियो १६ गते ३५ जना र १९ गते २७ जनाले ज्यान गुमाएका थिए ।
वैशाख महिनामा मात्र ६९ हजार ४४१ जना नयाँ संक्रमित थपिएका छन् । दैनिक तीव्र रुपमा बढी रहेको संक्रमितमध्ये थुप्रैको स्वास्थ्य अवस्था गम्भीर देखिँदा मृतकको संख्या बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोलाले वताउनु भयो । ‘संक्रमित बढेपछि मृतकको संख्या त बढ्ने भइहाल्यो’ भन्दै डाक्टर वास्तोलाले ‘मृतकको संख्या तीव्र रुपमा बढ्नुको मुख्य कारण संक्रमित भएका मध्ये धेरै बिरामीको अवस्था गम्भीर देखिनु भएको वताउनु भयो ।
पछिल्लो समय सिकिस्त संक्रमितले समेत अस्पतालमा बेड नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था आएको उहाँले वताउनु भयो । ‘संक्रमण पुष्टि भएका अधिकांश संक्रमित होम आइसोलेसनमा छन् ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि मात्रै उनीहरु अस्पताल आउँछन्,’ डा. बाँस्तोलाले भन्नु भयो , ‘गाह्रो भएपछि मात्रै अस्पताल आउँदासमेत अस्पतालमा बेड नपाउने अवस्था छ । गम्भीर प्रकृतिका बिरामीको उपचारमा ढिलाइ हुन पुग्दा ज्यान गुमाउनु पर्ने अवस्था छ ।’