आगामी सरकारको नीति तथा कार्यक्रम ः ४ वर्षमा १० प्रतिशतको आर्थिक बृद्धि, आगामी वर्ष ५ लाखलाई रोजगारी

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आकर्षक नारासहितका केही नयाँ कार्यक्रम समावेश गरिएको छ । आगामी वर्षमा ५ लाखलाई रोजगारीको अवसर सृजना गरिने, सातै प्रदेशमा औधोगिक क्षेत्र स्थापना गरिने र चार वर्षमै दोहोरो अंक १० प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

राष्ट्रिय राजमार्गका केहि क्षेत्रलाई आपत्कालिन विमान अवतरण गर्न सक्नेगरि धावन मार्गको रुपमा विकास गरिने, निजगढ विमानस्थलको निर्माण कार्य तीब्रता दिने, आउने वर्ष माथिल्लो तामाकोशी जलविद्यूत आयोजना निर्माण सम्पन्न गर्ने, ४ वर्षमा मध्यपहाडी लोकमार्ग निर्माण सम्पन्न गर्ने भनिएको छ । कोशी र कर्णाली कोरिडोरको सबै खण्ड खोल्ने विषयलाई पनि सरकारले प्राथामिकतामा राखेको छ ।

आगामी वर्षदेखि नवलपरासिबाट फलाम खानी उत्खनन् सुरु गर्ने महत्वकांक्षी योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ । नदी किनारका जमिन, राजमार्गका सडक किनार, खेतवारीका कान्लामा फलफुल खेतीलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ ।

विद्यालय वा विश्वविद्यालयका जमिन पनि प्रयोग गरिने, आधारभुत स्तरको खानेपानी सेवालाई आगामी वर्ष ९२ प्रतिशत र ४ वर्ष भित्र शत्र प्रतिशत पु¥याउने, चिनौं आफ्नो माटो, बनाऔँ आफ्नै देश, भन्ने अभियान सञ्चालन गरी स्नातक तह पास गरेका युवाहरूलाई छात्रबृत्तिसहित मुलुकभर परिचालन गरिनेछ ।

आगामी वर्षलाई वृक्षरोपण वर्ष घोषणा गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याउने र सामाजिक सुरक्षा रकम वृद्धि गर्ने घोषणा पनि सरकारको छ । आगामी दुई वर्षभित्रमा प्राविधिक विद्यालय सञ्चालन गर्ने, सबै सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गर्नेदेखि देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि निःशुल्क प्याड उपलब्ध गराउने पनि नीति तथा कार्यक्रममा छ ।

आगामी दुई वर्षभित्र नेपाललाई साक्षर नेपालको घोषणा गर्ने, महिला हिंसा हुन नदिने पनि सरकराले नीति तथा कार्यक्रममा भनेको छ । सम्वोधनको सुरुवाती २५ मिनेट राष्ट्रपतिले सरकारको प्रशंसा गर्नमै बिताउनु भएको थियो । राष्ट्रपतिले नीति तथा कार्यक्रम सुनाउँदा पटक–पटक मेरो सरकार भनेर उच्चारण गरेकोमा सत्तापक्षकै नेताहरुले समेत आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस