१९ साउन,कालिकोट । भारतको उत्तराखण्डमा विहिवार राती गएको अविरल वर्षा पछिको पहिरोले कर्णाली प्रदेशका डेढ दर्जन वढी नेपालीहरु हराएका छन ।
उत्तराखण्ड स्थित केदारनाथको फेदको गौरीकुण्डमा व्यापार गर्दै आएका कर्णाली प्रदेशको कालिकोट,जुम्ला र हुम्ला जिल्लाका नेपाली श्रमिकहरु हराएको वताइएको छ ।
पहिरोमा परेका कालिकोट खाडाचक्र नगरपालिका वडा न २ धैनेडीका देबी बि क, टेक बिक र वडा न १ कोइरालगाउँका प्रकाश ताम्राकारको भने शव भेटिएको खुल्न आएको छ ।
पहिरोमा परी बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उहाँका छोरा लालबहादुर कामी, सुखरा रावत र उहाँका छोरा जोरा रावत रहेको खुल्न आएको छ ।
हुम्लाका वीरबहादुर नाम गरेका व्यक्तिले गौरीकुण्डमा होटेल सञ्चालन गर्दै आउनु भएको थियो । उहाँको होटेलमा खाना खान गएका नेपालीहरु वाढी पहिरोमा परेको वताईएको छ ।
पहिरोमा परेर होटेल सञ्चालक वीरबहादुर, उहाँकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन ।
होटलमा खाना खान गएका धर्मराज बुढा र उहाँका छोरा मानबहादुर बुढा पनि बेपत्ता भएका छन् ।
यस्तै, पहिरोमा परी अमर बोहरा, उहाँका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीद्वय राधिका र पिंकी पनि बेपत्ता भएका छन् । तर, उहाँहरू कुन ठाउँका हुनुहुन्छ भने खुलेको छैन । बेपत्ता भएका सबै जनाको खोजी कार्य भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । घटनामा धेरै जसो नेपाली परेका छन ।
प्रतिक्रिया दिनुहोस