१९ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समितिको बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको हो ।
विप्लव नेतृत्वको नेकपाले भने माओवादी केन्द्रसंग १५ महिना पहिले नै पार्टी एकता गर्ने निर्णय गरेको थियो ।
यो बीचमा माओवादी केन्द पार्टी एकताका लागि जिम्मेवार नभएको भन्दै नेकपाले तत्काल एकता नगर्ने निर्णय गरेको थियो ।
माओवादी केन्द्रले यो कुरा थाहा पाएपछि नेकपासंग एकताको लागि औपचारिक निर्णय गरेको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले स्थायी समिति बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउँदै नेकपासँग एकता गर्ने निर्णय भएको जानकारी दिनु भयो ।

‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने सहमति भएको छ । वार्ता टोली बनाएर छलफल थाल्ने छौँ’, सापकोटाले भन्नु भयो ।
उहाँले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पनि एकताका लागि छलफल भइरहेको बताउँदै एकताको निष्कर्षमा नपुगिएको जानकारी दिनु भयो ।
माओवादी केन्द्रको यो निर्णयले माओवादी धारमा सकरात्मक प्रभाव परेपनि कार्यान्वयनको पाटो भने निकै चुनौतीपूर्ण छ ।
एकताका लागि विचार, राजनीतिक कार्यदिशा, नीति नेतृत्व र संगठनको बिच राम्रो छलफल बहस र सहमति आवश्यक पर्ने नेकपा निकट श्रोतको दाबी छ ।