१९ साउन, काठमडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माओवादी केन्द्रले गरेको एकताको निर्णयमा कडा प्रतिक्रिया दिदै छलछामले एकता हुन नसक्ने बताएको छ ।
नेकपाले एकताको केन्द्रमा सहीदका सपना पुरा गर्ने अठोटसंगै जनताको चाहना र देशको आवश्यकता नभएसम्म एकता सम्भव नहुने बताएको हो ।
नेकपाले आफ्नो पार्टीसंग कुनै छलफल नगरी माओवादी केन्द्रले एकताको निर्णय गरेको बताएको छ ।
पद र प्रतिष्ठालाई गौण राखेर विचार, नेतृत्व र संगठन निर्माण गरी समाजवादी क्रान्तिको लक्ष्यलाई मुख्य बनाएर एकतामा छलफल गर्न सकिने नेकपाले बताएको छ ।
नेकपाका महासचिव विप्लव सीले माओवादी केन्द्रभित्र एकताका विषयमा स्पष्ट दृष्टिकोणको अभाव रहेको औंल्याउदै छलछामले एकता हुन नसक्ने स्पष्ट पार्नु भयो ।
“माओवादीका ७० प्रतिशतभन्दा बढी युवा कार्यकर्ता एकताको पक्षमा भए पनि पार्टीले ठोस निर्णय लिन सकेको छैन । माओवादी पार्टीले नै ठोस निर्णय नलिएसम्म हामीले एकताको बढी कुरा गरिराख्नुको अर्थ छैन” उहाँले संचारकर्मीसंग भन्नुभयो ।
शान्ति प्रक्रियापछि माओवादीभित्र देखिएका समस्याहरूका कारण नै आफूहरुले विद्रोह गर्नुपरेको विप्लवले स्पष्ट पार्दै राजनीतिक र वैचारिक विघटन भएको र यसको समीक्षा र करेक्सनबिना एकता सम्भव नभएको प्रतिक्रिया दिनु भयो ।
उहाँले जनयुद्धका बेला नेताहरूको सामान्य जीवनशैली र शान्ति प्रक्रियापछि उनीहरूमा देखिएको गम्भीर विचलन करेक्सन हुनुपर्ने बताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले पनि पार्टी एकताबारे नेकपा (माओवादी केन्द्र) सँग छलफल नै नभएको स्पष्ट पार्नु भयो ।
‘माओवादीले पार्टी एकता गर्ने निर्णय गरेको रहेछ, त्यो उनीहरूको कुरा भयो, हामीसँग छलफल गरेर त्यो निर्णय लिइएको भने होइन,’ संचारकर्मीसंग कुरागर्दै प्रकाण्डले भन्नु भयो, ‘यो निर्णय एकतर्फी छ ।’
माओवादीका कारण कम्युनिष्टहरू एकताबद्ध गर्न र ध्रुवीकरण अवरूद्ध भएको छ भनेर नेकपाले अभिव्यक्ति दिएकोले त्यसको जबाफमा माओवादीले पार्टी एकताको निर्णय लिएको हुन सक्ने जिकिर गर्नु भयो ।
उहाँले माओवादीमा हाम्रा पार्टीका केही साथीहरू मिसाउने गरी रणनीति लिएको भए त्यो दिवासपना मात्रै भएको जवाफ दिनु भयो ।
उहाँले भन्नु भयो ‘त्यो निर्णय हामीसँग सम्बन्धित छैन,’ आफूहरूले सैद्धान्तिक रूपमा कम्युनिष्ट र माओवादीहरू एक हुनुपर्छ, त्यसको आवश्यकता छ भनेर भनिराखेको पनि बताउनु भयो ।
‘हामीले क्रान्तिकारी कम्युनिष्ट पार्टीको कुरा गरेको हो, संसदीय कम्युनिष्ट होइन,’ उहाँले भन्नुभयो ‘क्रान्तिकारी कम्युनिष्ट पार्टीका लागि त अहिलेको माओवादी धेरै माथि उठ्नुपर्ने हुन्छ ।’ उहाँले पार्टी एकता भनेर माओवादीले हावामा तीर हानेको टिप्पणी समेत गर्नु भयो ।
‘पार्टी एकताबारे माओवादी स्थायी समितिको निर्णय हावामा तीर हानेजस्तो छ, हावामा हानेको तीरलाई हाम्रो पार्टीले कसरी लिने ? यसबारे छलफल त होला,’ उहाँले भन्नु भयो ‘तर यो कुन मक्सदका साथ आएको छ थप बुझ्नुपर्ने हुन्छ ।’