विप्लव नेतृत्वको सल्यान जिल्लाका नेता केसीको रहस्यमय मृत्यु

१९ साउन,सल्यान । नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यान जिल्लाका एक लोकप्रिय नेताको रहस्यमय तरिकाले मृत अवस्थामा शव फेला परेको छ ।

सल्यान जिल्ला पार्टीको विशेष कमिटीका सदस्य, पूर्व जिल्ला इन्चार्ज तथा जिल्ला नेता लोकमान केसी(लोकपाल)को बिहीबार बिहान रहस्यमय अवस्थामा शव फेला परेको हो ।

छत्रेस्वरी गाउँपालिका–४ भिम्पे ठूलीखर्क घर हुनु भएका उहाँ बाग्चौर नगरपालिका–१० मोख्ला नजिकै धान खेतमा मृत अवस्थामा भेटिनु भएको हो । झोला बोकेका उहाँ धान खेतमा घोप्टो परेको अवस्थामा मृत फेला पर्नु भएको जनाईएको छ ।
केसी मृत अवस्थामा फेला परेको खबर पाएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताउनु भयो ।

मोख्लाबाट स्यानीखालतिर जाने क्रममा घटना भएको हुन सक्ने र घटनाको थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस