मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकाको निर्णय, पाँच लाख मतदाता थप हुने

१९ साउन, काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको सरकारले सार्वजनिक गरेको छ ।

मंसिरमा हुने संघीय र प्रदेश सभा चुनावमा ५ लाख नयाँ मतदाता पनि थपिने भएका छन् ।
गत वैशाखमा भएको स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता थिए । त्यसमा अब करिब ५ लाख नयाँ मतदाता थपिने छन् ।
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार, असार १ गतेदेखि सुरु भएको मतदाता नामावली संकलनमा करिव साढे ४ लाख जनाले नाम दर्ता गरेका छन् ।
पछिल्लो २÷३ दिन यताको अद्यावधिक विवरण नआएकाले त्यो संख्या अधिकतम ५ लाख पुग्ने निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौड्यालले बताउनु भयो । ६ महिना अघिसम्म मतदाता नामावली संकलन भएकाले यो अवधिमा निकै थोरैमात्रै नयाँ नाम संकलन भएको हो ।

आयोगले १ असारदेखि यसअघिका मतदाताहरुलाई स्थायी बसोबास सारेको भए नामावली पनि सार्ने सुविधा दिएको थियो । त्यस अन्तर्गत केहीले सुविधा लिएको तर संख्या यकिन नभएको आयोगको भनाइ छ ।

यस्तै मंसिर ४ मा हुने संघीय र प्रदेश सभाको चुनावका लागि निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्नेछ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने जानकारी दिनु भयो ।

‘संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्छ, तदअनुसार आइतबारदेखि नै प्रक्रिया प्रारम्भ गरेर छिटै यसलाई सम्पन्न गर्छौं,’ उहाँले भन्नु भयो ‘सात वटा प्रदेशमा कुन कुन दलले भाग लिन्छन् र संघीय निर्वाचनमा कुन कुन दलले भाग लिन्छन् कुराको निधो भदौको पहिलो हप्ताभित्र गरिसक्छौँ ।

निर्वाचनमा भाग लिने चाहने दलले दल दर्ताको लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस