पूर्व नगरप्रहरीकाे गुनासाे ‘दारु बोक्नेदेखि व्यक्तिगत घरको कामसम्म निजी नोकरझैँ बनाइयाे’ 


१९ भाद्र, कालिकोट । रास्कोट नगरपालिकाले भर्ना गरेका नगरप्रहरीमाथि चर्को श्रम शोषण गरेको एक पूर्व नगरप्रहरीले खुलासा गरेका छन । पूर्व नगरप्रहरी समिर शाहीले पहिलो पटक २०७९ मंसिर १८ गते १५ जना नगरप्रहरीका लागि विज्ञापन आहवान गरिएकोमा आफू उत्साहबोकेर नगरप्रहरीमा भर्ना भएको भएपनि सोचेजस्तो नपाएको गुनासो गरेका छन ।

उनले नगरप्रहरीलाई उचित श्रममुल्य र साधन श्रोत विना २२ घण्टासम्म काममा लगाएको गुनासो गरेका छन । त्यतिमात्र होईन नगरप्रहरीलाई नगरप्रहरीका कमाण्डर धनबहादुर शाही (नगरप्रमुखका फुपुको छोरा) र नगरप्रमुख धर्मराज शाहीले दारु वोक्नेदेखि व्यक्तिगत घरको कामसम्म निजी नाेकरझै आफूहरुलाई प्रयोग गरेको खुसाला गरेका छन ।

फाेटाेः नगर प्रहरी प्रमुख धनबहादुर शाहीको घरकाे लागि ढुङ्गा फुटाउदै नगर प्रहरी

उनले आफ्नो लामो लेखमार्फत नगरप्रहरी हुदा नगरप्रहरीमाथि नगर सरकारले गरेका सबै कर्तुतहरु सार्वजनिक गरेका छन । अहिले उनी १ बर्षदेखि नगरप्रहरीको जागिर छोडेर दुबई देशमा रोजगारीको लागि पुगेका छन । उनीसंगै रविन्द लुवार, कपुरे विक, खम्ब सार्की, अशोक बम र श्रीष्टी शाही सहित ६ जना नगरप्रहरीहरुले चर्को श्रम शोषण गरिन थालेपछि जागिरमाथि लात हाल्दै रोजगारीको लागि विदेश पुगेका छन । १५ जना नगरप्रहरीको विज्ञापन मार्फत नगरप्रहरी भर्ना गरिएपनि अहिले आधाजसो भन्दा कम मात्र संख्या नगरप्रहरी वाँकी रहेका छन ।

जागिर छाेडेका नगर प्रहरी

जसका कारण नगरप्रहरीका लागि नगरपालिकाले हालै पुनः पदपुर्ति गर्न विज्ञापन आहवान समेत गरेको छ । पूर्व नगरप्रहरी समिरले रास्कोट ‘नगरप्रहरीका भोगाई,कार्य अनुभव,चेतना र सुधारको अपिल’ शिर्षकमा भर्नादेखि जागिर छोडदासम्मका सम्पूर्ण कर्तुतहरु सार्वजनिक गरेका छन । उनले अन्तीममा यदि रास्कोटमा नगरप्रहरी चलाउने हो भने सेवा–सुविधा बढाउनु पर्ने, निष्पक्ष छनोट गर्नुपर्ने र मिहिनेतको उचित मूल्याङ्कन गर्नुपर्ने सुझाव दिएका छन । उनले नत्र जति नगर प्रहरी भर्ना गरिएपनि रोग पुरानै दोहोरिनेमा कुनै संका नभएको चेतावनी दिएका छन । उनले लेखेको ‘नगरप्रहरीका भोगाई,कार्य अनुभव,चेतना र सुधारको अपिल’ शिर्षकको लेख यहाँ जस्तो जस्तै प्रकाशित गरेका छौ ।

रास्कोट नगरप्रहरीको भोगाई, कार्य अनुभव, चेतना र सुधारको अपिल
रास्कोट नगरपालिकाले पहिलो पटक २०७९/८/१८ गते १५ जना नगरप्रहरीको लागि विज्ञापन जारी ग¥यो । त्यसपछि शारीरिक, लिखित र मौखिक परीक्षा पार गर्दै १४ जना सफल भई नियुक्ति भयौ । नगर प्रहरी हवल्दारको विज्ञापनमा नियम परिवर्तन गरेर उमेर पुगेकालाई होईन, तोकिएको मापदण्ड विपरित उमेर नागेको व्यक्तिलाई समेत छनोट गरियो । २०७९/१२/२५ मा उनी नियुक्त भए ।

हामीलाई आधारभूत तालिमका लागि नेपालगञ्ज पठाइयो । तालिम सफलतापूर्वक पूरा गरेपछि फर्केर नगरपालिकाको कार्यालयमा हाजिरी भयौ । रास्कोटका विविध चुनौतीहरू सामना गर्दै काममा खटियौ र खट्याइयो । हाम्रो जिम्मेवारीमा आरसीपी बजार व्यवस्थापन, घर–टहरा हटाउने, बनजंगल गस्ती गर्ने, काठ चोरी पैठारि नियन्त्रण गर्ने, गाउँ–गाउँमा निरीक्षण गर्ने , पैदल गस्ति तथा शान्तिघाटमा अवैध गिट्टी–बालुवा नियन्त्रण गर्ने थियो । शान्तिघाटमा त अस्थायी पोस्ट स्थापना गरी समेत वस्यौ । नगरपालिकाद्वारा तोकिएका शुल्क उठाउने जिम्मेवारी पनि हामीले सम्हाल्यौं ।

धार्मिक मेला, महोत्सव, सभा–गोष्ठी, सडक सुरक्षा, स्कुल सुरक्षा, भीड–भाड व्यवस्थापन, आगलागी वा आपतकालीन अवस्थामा सहयोग, बालबालिका तथा महिलाको सुरक्षा, वृद्ध–वृद्धा सुरक्षा जस्ता जिम्मेवारीहरू भोक, प्यास नभनी नगरप्रहरीले इमानदारीपूर्वक पूरा ग¥यो । राति–राति पनि हामी सक्रिय भएर खटिन्थ्यौं । बालुवा, गिट्टी, काठ तस्कर नियन्त्रण, बाटो निर्माण, ढुङ्गा फुटाउने, पुरानो भवनको काठ र फलाम लोड÷अनलोड गर्ने कार्यहरू रातको समयमा समेत गरियो । तर नगरप्रहरीले काम कार्यबिधि भन्दा बढि गरेर पनि सेवा – सुविधा भने केही थिएन । उपकरण पनि केहि भनेको जस्तो थिएन । यति मात्र होइन, हामीलाई रात–रातभर काम गर्न बाध्य पारिन्थ्यो । कहिले ढुङ्गा फुटाउने, ट्याक्टर लोड गराउने त कहिले शान्तिघाटमा बालुवा , गिट्टि लोड त कहिले रास्कोट भित्रकै खोला खोल्सामा बालुवा उतार्ने त कहिले काठ बोकाएर लोड तथा निर्माण कार्यमा लाग्ने गथ्र्यौ । सबै जसो –हवल्दारको निर्देशनमा हुन्थ्यो । त कहिले निर्माण ब्यबसायमा संलग्न आफन्तको निर्देशनमा सबै कामहरु गर्नुपथ्र्यो । हामीलाई कहिले बोइलर कुखुराको दाना बोकाउने, कहिले लोकल कुखुरा बोकाउने, कहिले दारु होटल वा घरमै पुर्याउने कामहरु गर्यौ । यो नगर प्रहरीलाई निजी नोकरझैँ प्रयोग गरियो र अहिले पनि गरिरहेका छन । यहाँ यी सबै विषयवारे लेख्न गईरहेको छु ।

त्यसैले यस्तो बातावरणले गर्दा धेरै नगरप्रहरी साथीहरू निराश भएर वैदेशिक रोजगारी वा अन्य विकल्प खोज्न बाध्य भयौ र हुनुपर्यो । सरकारले बुझ्नै पर्छ । केवल रोजगारी दिनु मात्र समाधान होइन । रोजगारीसँगै उचित सेवा–सुविधा, तालिम, सम्मान, उपकरण र मनोबल बढाउने वातावरण दिनुपर्छ । त्यो कहिल्यै भएन । तर त्यहाँ के भयो ? भने आसे –पासेका लागि नक्कली बिल बनाउने, भुक्तानी सजिलै हुने , पार्टी पावरवालाई जागिर दिने, इमान्दार कर्मचारीलाई हेला गर्ने परम्परा मात्र चलाईयो ! हामीलाइ जागिर नामको औपचारिकतामा बाँधियो , तर बास्तविक सुरक्षाकर्मीको हैसियत दिएन र भएन ।

१ गाडी दुरुपयोग व्यक्तिगत कामदेखि दारु बोकाउनेसम्म
नगर प्रहरीको सरकारी नम्बर पिलेटको बाइक नगर प्रहरी प्रमुखको छोराले पावरको नाममा दुरुपयोग गथ्र्यो । त्यो बाइकको चाबी अहिले पनि १० । १२ हजार रुपैया तिर्न नसकेर कुनै होटलमा धरौटी राखिएको छ ! अझै निकालिएको छैन ! यो कुरा भन्दा पछि बाइक निकालिन्छको जवाफ मात्र थियो । बिना चावीको बाईक तार जोडेर प्रहरी कर्मचारिले एक महिना चलाउन बाध्य भए र पछि नगरप्रहरीले आफ्नै पैसाले चाबी लक किन्नु पर्यो ! एउटा नगर प्रहरीको नाममा बाइक दिइन्छ ! त्यो पनि प्रहरी कर्मचारीले चलाउन पाउदैन । नगर प्रहरी प्रमुखको ब्यक्तिगत बोइलर कुखराको चारो बोक्ने व्यक्तिगत काममा प्रयोग गर्ने गरियो । उनीहरुलाइ कार्बाही गर्ने निकाय रास्कोटमा त छैन । तर एउटा लाजमर्दो कुरा सरकारी बाइकको चावी अहिलेसम्म पनि निकाल्न सकिएको छैन । यो सबैभन्दा गम्भीर कुरा हो । नगरप्रहरीको हवल्दारले नगरप्रहरीका सदस्यहरुलाई निकृष्ट व्यक्तिगत काम गरादा पनि नगरप्रमुख वा नगरपालिकाका व्यक्तिहरुले बोलेनन । हवल्दारले आफ्नो घर बनाउन प्रयोग हुने ढुङ्गा, बालुवा, गिट्टी, सिमेन्टसम्म लोड÷अनलोड नगर प्रहरीमार्फत गराइयो । नगर प्रहरी कार्यालयमै दारु पार्टी, भोज भतेर गराइन्थ्यो । आफन्तहरु ल्याएर हामीलाई डिउटीको नाममा त्यही खटाइन्थ्यो । शान्तिघाटबाट गिट्टी–बालुवा ल्याउँदा, हवल्दार÷मेयरका आफन्तका गाडीलाई छुट दिन लगाउथ्यो । तर अन्य गाडीवाला÷व्यवसायीहरूलाई पैसासमेत असुल गर्न लगाइन्थ्यो र अझै त्यो चलिरहेकै छ । गाडी ब्याबसायिहरुलाइ एउटा कर नेपाल सरकारले असुल गथ्र्यो त अर्को कर रास्कोट नगरसरकारले असुल गर्न लगाउथ्यो ! अझै दोहोरो मारमा परेका छौ भन्ने गुनासो हामीलाइ नै पोखिरहन्थे । कर असुल त भैरहेको छ तर ब्याबसायीहरुलाइ कर तिरे बापत सेवा सुबिधा के मिल्थ्यो ? के पाउथे ? अत्तो पत्तो छैन र थिएन । अस्थायी नगर प्रहरी पोस्ट शान्तिघाटमा राखेदेखि अहिलेसम्म सयौ निर्माणका कामहरु सम्पन्न भए । केहि हुदै छन र भैरहन्छन ! तर तिनिहरुको प्रत्यक ट्रीपको रजिस्टरमा उदारा टिपाइन्थ्यो । त्यो पैसा कस्को खातामा जम्मा हुन्थ्यो गराइन्थ्यो थाहा छैन । त्यो पैसा असुल गर्ने जिम्मा नगर प्रहरीलाइ दिइएको थियो । कार्यअबधिभर पैसा उठाएको देख्न पाइएन । वाहिर वाहिर उठाएर कता के मिलाईथ्यो कस्लाइ मिलाईथ्यो ? थाहा भएन । विशेष गरी रातको समयमा, नगरपालिका भित्र रक्सि पाट्टि दैनिकी जसो १२–१ बजे सम्म चल्थ्यो । डिउटी निभाउनु पर्ने अवस्था पनि अनुभव ग¥यौं । दिन–रात, भोक–प्यास, गर्मी–चिसो, वर्षा जस्ता चुनौतीहरू आए पनि हामी सधैं रास्कोट र रास्कोटी जनताको सेवा गर्न खटियौँ । तर, यति मेहनत गर्दा पनि हाम्रो मूल्याङ्कन भएन ।

बुँदागत मुख्य समस्याहरु

  • कार्यविधिसंगै विचार अनुसार व्यवहार नहुनु ।
  • तलब, सेवा–सुविधा र उपकरण पर्याप्त उपलब्ध नगराउनु ।
  • जनताबाट गाली, अपमान र हातपात भोगिरहनु ।
  • कमान्डर वा नगर प्रमुखबाट कुनै सराहना र सम्मान नहुनु ।
  • हाम्रो इमानदारीलाई उपेक्षा गरेर व्यक्तिगत काममा प्रयोग गरिनु ।
  • आसे–पासे र पार्टी–सम्वद्धलाई मात्र प्राथमिकता दिनु ।

२ प्रशासनिक घोटाला र अन्य अनियमितता
नगर प्रहरीको आवश्यक पर्ने सामान्य पोशाकमा पनि घोटाला भयो । साहुको वास्तविक बिल कता गायब पारिन्थ्यो । खाली बिल भरेर बिल पेस गर्नेसम्मको काम गरिन्थ्यो । जस्तै रु २८०० पर्ने ज्याकेटको बिल रु ७००० बनाइएको थियो । रु ५०० पर्ने डस्नाको विल रु १६०० नक्कली बिल बनाईयो । रु १८०० को बलाङ्केट रु ३२०० को बनाईयो । रु २२०० पर्ने बुट जुत्तालाइ रु ४५०० देखि ५००० को नक्कली बिल बनाई पेश गरियो । एउटा नगर प्रहरी प्रमुखले यो सामान खरिद गरी बिल भुक्तानी माग्नु कानुन सम्बद कत्तिको मिल्थ्यो ? त्यसैमा पनि वास्तविक मुल्य भन्दा थप नक्कली मुल्य हालेर ! तालिम अवधिमा खाने व्यवस्था सरकारले उपलब्ध गराउने भनिएको भए पनि बिल नगरबाट लगिसकेपछि करिब ६००० रुपैयाँ हामीबाट असुलेर हवल्दारको खातामा हाल्न लगाइयो । एकिन कति पैसा हो, पत्ता लागेन । वार्षिक प्रशासनिक खर्चको नाममा ५ लाख छुट्याइएको भए पनि त्यसको वास्तविक प्रयोग र वितरणमा पारदर्शिता थिएन ।

बालुवा, गिट्टी र काठ पनि दिन–रात लोड÷अनलोड गरिन्थ्यो, राति १२ बजे नगरप्रहरि प्रमुख लगायत उसका आसेपासेको ठाडो निर्देशनमा ट्याक्टरमा पुरानो भवनको काठ , फलाम लोड र अनलोड गरिन्थ्यो कता पास हुन्थ्यो पत्तो पाइएन । करिब ३ वर्षे कार्य अवधिमा अनुगमनको नाममा दारु पाट्टि बाहेक अन्य कुनै अनुभव वा तालिम पाइन । नगर प्रहरी केवल नाम मात्र राखिएको थियो । काम कार्यालय सहयोगीभन्दा पनि तल्लो दर्जामा गराइन्थ्यो । कार्यबिधि अनुसार कार्य तालिका छुट्टाइएको भए पनि लागू भएन । २०–२२ घन्टा युनिफर्ममा बिना काम, बिना योजना, बिना डिजाइन, बिना सल्लाह , बिना मिशन जता पायो त्यतै लखेटिन्थ्यो । आफ्नो मनमा जे लाग्यो त्यही काममा परिचालन गरिन्थ्यो । कमान्डर महिनामा १०–१२ दिन मात्र युनिफर्ममा हुन्थे । त्यहि पनि मेहेर भएको बेला वा कुनै मिटिङको समयमा २–३ घन्टा मात्र । बाँकी समय आफ्नो व्यापार÷व्यवसायमा व्यस्त हुन्थे । बाािर्षकोसत्वका बेला एउटा खसि खरिद गरिन्छ । खसिको मुल्य रु १७००० जति पर्छ । त्यहि भित्रको कर्मचारिले किन्छ तर त्यसको बिलमा रु २२००० चढाइन्थ्यो । उत्सवबको नाममा कमाउ धन्दा चल्थ्यो ! बार्षिकोउत्सवमा जम्मा जम्मि खर्च रु २९००० खर्च हुन्थ्यो । बिलमा भने रु ७०,००० गरिन्थ्यो । आफु बच्न लाइ आफु माताहातमा रहेका कर्मचारिको खातामा बिल भुक्तानी गर्न लगाइन्थ्यो । पुरी , तरकारी र खसिले कसरी रु ७०,००० पुग्यो ? अचम्मको कुरा छ । यत्ति मात्र होइन धेरै कुरामा अनियमिता भैरहेको छ ! यसको खोजि निति गर्ने निकाय त थिएन । उनिहरुलाइ कार्बाही गर्ने निकायको झन के कल्पना गर्नु !

३ नयाँ विज्ञापनमा मेरो स्पष्ट माग
भर्ती निष्पक्ष हुनुपर्छ, आसेपासे र पहुँचवालालाई मात्र रोज्ने परम्परा बन्द गर !
१०÷१२ पास प्रमाणपत्रलाई औपचारिकता होइन, व्यावहारिक रूपमा मूल्याङ्कन गर !
जागिरमा आउनेलाई खान–लाउन पुग्ने तलब र सुविधा देऊ ! ताकि उनीहरूले काममा आत्मसमर्पण गर्न सकून् !
मिहिनेतको उचित मूल्याङ्कन गर ! मनोबल बढाउने वातावरण बनाउँ !

दिन–दुखी, गरिब–निमुखालाई पनि अवसर देऊ ! किनकि उनीहरू नै इमानदारीपूर्वक देश–नगरको सेवामा खटिन्छन् !
सरकारले अब यो बुझ्नै पर्छ । केवल विज्ञापन निकालेर, औपचारिकता पूरा गरेर, आसे–पासे भर्ने काम गरेर नगर प्रहरी खडा हुँदैन । साँचो सुरक्षाकर्मी बनाउने हो भने इमानदार, सक्षम, योग्य र पढे–लेखेकालाई अवसर देऊ । तलब, पाउनु पर्ने सेवा सुविधा, तालिम र सम्मान दिइयो भने मात्र जनताले पनि वास्तविक सुरक्षा महसुस गर्छन् ।

यदि फेरि पुरानै ढर्रा दोहोरियो भने यो नयाँ भर्ना पनि केवल “जागिर नामको औपचारिकता” मात्रै हुनेछ । र फेरि त्यही अन्याय, त्यही अपमान र त्यही निराशाले नयाँ पुस्ता पनि पलायन हुन बाध्य हुनेछ । विगतका तिता अनुभवहरू नयाँ प्रहरीले नभोगोस्, यस्ता अन्यायले भविष्यका सुरक्षाकर्मीलाई निराश बनाउँछ ।

फेरी पनि अन्तिम अपिलः

  • सेवा–सुविधा बढाउ सरकार !
  • निष्पक्ष छनोट गर सरकार !
  • मेहनतको उचित मूल्याङ्कन गर सरकार !

रोजगारी होइन, सम्मान र सुरक्षा देऊ ! औपचारिकता होइन, व्यवहारिकता देऊ ! तब मात्र नगर प्रहरीलाई इमानदारीपूर्वक सदुपयोग गर्न सकिन्छ । नत्र फेरि यो धोका मात्र हुने छ ! रास्कोट नगरप्रहरीले दिन–रात, भोक–प्यास, कठिन परिस्थिति र प्रशासनिक असमानतासँग लड्दै सेवा दिइरहेको छ । अब समय आएको छ । सरकारले तिनीहरूको इमानदारी, श्रम र बलिदानको उचित मूल्याङ्कन गरोस शुभकामना !

प्रतिक्रिया दिनुहोस