अनेमसंघ(क्रान्तिकारी) मध्यकर्णाली ब्यूरोद्धारा महिलामाथि हुने सबै प्रकारका हिंसाहरु बन्द गर्न माग

१७ असोज,सुर्खेत । अखिल नेपाल महिला संघ (क्रान्तिकरी) मध्यकर्णाली ब्यूरोले महिलाहरुमाथि हुने सबै प्रकारका हिंसाहरु यथाशिघ्र बन्द गर्न कर्णाली प्रदेश सरकारसंग माग गरेको छ ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मध्यकर्णाली ब्यूरो संयोजक सभ्यता सीको नेतृत्वमा बुधवार कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा पुगेको महिलाहरुको एक टिमले प्रदेश सरकारका प्रमुख राजकुमार शर्मालाई ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेको हो ।

क्रान्तिकारी महिलाहरुले उपभोक्तावादी संस्कृतिले महिलाहरुको जीवन निकै कष्टकर बनाएको उल्लेख गर्दै दिनप्रतिदिन घट्ने महिला हिंसाका घटनाहरुले महिलाहरुले आत्महत्या गर्ने अवस्था निम्त्याएको औल्याएका छन ।

महिला संघ (क्रान्तिकारी)ले समस्याहरुको गहिरो खोज अनुसन्धान र विश्लेषण गरी समयमै समाधानको पहल गर्नु राज्यको दायित्व भएको ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

महिला संगठनले महिलाहरुमाथि हुने गरेका र भैरहेका विविध खाले समस्याहरुलाई बेलैमा सम्बोधन गरी महिलाहरूको सुरक्षा, आत्मसम्मान, स्वभिमान र अधिकारको रक्षा गर्न राज्य र सरकार समक्ष जोडदार माग गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्रमा परिवारमा व्याप्त गरिबी, बेरोजगारी, मादकपदार्थ सेवन आदिजस्ता कारणले महिलाहरु बढी भन्दा बढी पुरुषहरुबाट घरेलु हिंसाका सिकार हुने गरेको उल्लेख छ ।

क्रान्तिकारी महिला संगठनले दाइजो, छाउपडी, बोक्सी जस्ता सामाजिक कुरीति र कुसंस्कारको कारणले पनि महिलामाथि हिंसा र दुव्यवहार मात्र होइन, ज्यान समेत लिने काम भैरहेको जनाएको छ ।

यस्तै क्रान्तिकारी महिला संगठनले मीटर व्याजको अवैद्य कारोवारबाट महिलाहरुको उठ्ठीबास भएको उल्लेख गरेको छ ।

संगठनले बढ्दो महंगी, आधारभूत आवश्यकताको बढोत्तरी र रोजगारीको अभावका कारण युवापुस्ता (महिला पुरुष)) दिनप्रतिदिन विदेश पलायन हुने गरेको र किशोरकिशोरीहरु लागुऔषध सेवन तथा कारोवारमा संलग्न हुने गरेको भन्दै यस्तो कार्यहरु यथाशिघ्र रोक्न सरकारसंग माग गरेको छ ।

संगठनले महिलामाथि हुने शोषण, उत्पीडन र हिंसाका वाह्य कारणहरु जे जस्ता भए पनि त्यसको आन्तरिक र चुरो कारण भनेको महिला आत्मनिर्भर नहुनु वा हुन नसक्नु भएको ठहर गरेको छ ।

क्रान्तिकारी महिला संगठनले राष्ट्रघाती एमसीसी सम्झौता राष्ट्रको हितमा नभएको भन्दै खारेजीको माग पनि गरेको छ ।

ज्ञापनपत्र

 

प्रतिक्रिया दिनुहोस