१९ कात्तिक, काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा प्रहरीले चकजाँच बढाएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले नरभानेको भ्रमणको तयारी स्वरुप चेकजाँच र शंकास्पद क्षेत्रमा निगरानी बढाएको हो ।
रानीपोखरीका एक प्रहरी अधिकृतका अनुसार नेपाली सेना र नेपालस्थित भारतीय दूतावासका अधिकारीहरुको समन्वयमा सुरक्षा प्रबन्ध मिलाइएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले तिहारका लागि सुरक्षा योजना पनि कार्यान्वयनमै रहेका वेला हुन लागेको नरभानेको भ्रमणलाई लक्षित गरेर पनि सुरक्षा व्यवस्था कडा पारिएको बताउनु भयो ।
नेपाल र भारतका सेना प्रमुखबीच एकअर्काको देशमा मानार्थ महारथीको दर्ज्यानी चिन्ह दिएर सम्मान गर्ने पुरानै परम्परा हो । तर नरभानेले नेपाल–भारत सीमा विवादमा दिएको विवादास्पद अभिव्यक्तिका कारण उहाँलाई सुरक्षा चुनौति रहेको सुरक्षा निकायको विश्लेषण छ ।
नरभानेले दिल्लीको सुरक्षा तथा रणनीतिक मामिलाका थंक ट्यांक मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए) ले आयोजना गरेको कार्यक्रममा नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको बताउनु भएको थियो ।
यही अभिव्यक्तिका कारण उहाँलाई विभिन्न समूहले कालो झण्डा देखाउन सक्ने, कफन बाँधेर बस्ने, कालो कपडा देखाउने र भिड जम्मा भएर विरोध प्रदर्शन हुनसक्ने विश्लेषण नेपालस्थित भारतीय दुतावासको पनि छ । त्यसअनुसार प्रहरीले सम्भावित समूह र व्यक्तिमाथि निगरानी बढाएको छ । यो समाचार तयार पारुञ्जेलसम्म प्रहरीले कसैलाई नियन्त्रणमा लिइसकेको भने छैन ।