कालीगण्डकी करिडोरमा सुख्खा पहिरो, ५ मजदुरको मृत्यु

कार्तिक १९, कावासोती । नवलपुरको बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको छ ।

कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत पाँच जना मजदुरहरुको पहिरोमा पुरिएर मृत्यु भएको हो । सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला माथिबाट खसेको सुख्खा पहिरोमा मजदुरहरु पुरिएका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले मृत्यु हुनेहरु सबै बुलिङटार–४ का बासिन्दा रहेको बताउनु भयो ।

मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुंगेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको मल्लले जानकारी दिनु भयो । पहिरोमा पुरिएका पाँचै जनाको शव इलाका प्रहरी कार्यालय बुलिङ्टारबाट खटिएको प्रहरी टोली र स्थानीयले बाहिर निकालेका हुन् ।

पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएका छन् । उनीहरुलाई करिडोरमै कार्यरत अन्य मजदुरहरुले उद्धार गरेका हुन् । उनीहरु दुवै जनाको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस