अछाम, सर्लाही रौतहटमा भएका विभेद तथा छुवाछूतका घटनाहरुप्रति मोर्चाकोआपत्ति

२३ माघ, काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपालले अछाम,सर्लाही, रौतहट सहित देशभर घटेका विभिन्न जातीय विभेद तथा छुवाछूतका घटनाहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले बुधवार एक प्रेश विज्ञप्ति जारी गरी अछाम,सर्लाही र रौतहट जिल्लामा घटेका विभिन्न जातीय विभेद तथा छुवाछूतका घटनाहरुप्रति मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको हो ।
नेपालको संविधान, जातीय भेदभाव र छुवाछूत (कसुर तथा सजाय) ऐन २०६८ तथा विद्यमान ऐन कानून अनुसार घटनाका दोषीहरुलाई कार्वाही गर्न एवं पीडितलाई क्षतिपूर्ति दिन मोर्चाले माग गर्दै श्रमिक समुदायमाथि हुने गरेका अपराधिक घटनाहरुको स्थायी समाधानका लागि विशेष नीति तथा कार्यक्रम घोषणा गर्न नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।
मोर्चाले अछाम जिल्लाको साफेबगर नगरपालिका–९ बुढाकोट माविमा यही २०८१ माघ २१ गते विद्यालयमा आयोजित सरस्वती पूजामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सज्जन परियार लगायतका अभिभावकहरु तथा विद्यालयमा अध्ययनरत श्रमिक समुदायका विद्यार्थीहरु माथि पुजारी चेतराज भट्ट लगायतले गरेको जातीय भेदभाव तथा छुवाछूतको अपराधिक घटना प्रति निन्दा गरेको छ ।
यस्तै सर्लाही जिल्लाको बर्हथवा नगरपालिका–४ सत्येन्द्र राम चमार) र बरहथवा ५ की नेहा रौनियार बीच अन्तर्जातीय प्रेम विवाह पश्चात् कानूनतः विवाह दर्ता समेत गरिसकेको अवस्थामा अझ सम्मानित सर्वोच्च अदालतलाई चुनौती दिदै सत्येन्द्र विरुद्ध बाल विवाह लागू औषध देखि मानव बेचविखन सम्मको मुद्दामा फसाउने दुश्प्रयास गरिएको प्रति मोर्चाले भत्सर्ना गरेको छ ।
जारी विज्ञप्तिमा सर्लाही घटनामा गृहमन्त्री रमेश लेखक एवं प्रहरी प्रमुख कै निर्देशनमा प्रहरी शक्तिको चरम दुरुपयोग भएको रास्ट्रिय मानवअधिकार आयोगको प्रारम्भिक छानबिनको निश्कर्ष रहेको मिति २०८१ माघ २२ गतेको नयाँ पत्रिकामा कभर पेजमा समाचार प्रकाशित समेत भएको उल्लेख गरिएको छ ।
मोर्चाले विज्ञपितमा रौतहट जिल्लाको वृन्दावन नगरपालिका कार्यपालिका सदस्य राजेश पासवानमाथि २०७९ को छठ पर्वमा स्थानीय पसिन्द्र महतो लगायतले गरेको जातीय विभेद तथा छुवाछूत विरुद्ध मुद्दा हालेको भन्दै पुनः २०८१ मंसीर १९ गतेका दिन वृन्दावन स्थित बहुअरी गाउँमा पोखरीको विवाद सृजना गरी राजेश माथि आक्रमण गरिएको अझै उल्टै राजेशमाथि नै भुट्टा मुद्दा दर्ता गरिएको दाबी गरेको छ ।
जारी विज्ञप्तिमा मोर्चाले भनेको छ ‘उपरोक्त तीनवटा घटनाहरु प्रतिनिधिमूलक घटनाहरु मात्र हुन । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भए यता यस्ता अपराधिक घटनाहरु निरन्तर एकपछि अर्को घटिरहेका छन् रुकुम पश्चिममा ६ जना निहत्था युवाहरुको हत्या, रुपा सुनार, चिपा नेपाली, करुणा बिक., अंगिरा पासी, सम्झना बिक, सिराहा लहान का बहालवाला अध्यक्षले आफ्नो आमाको पितृ भोजमा श्रमिक समुदायमाथि गरिएको खुलमखुल्ला भेदभावका घटनाहरु रहेका छन् । हाम्रो मोर्चा यावत घटनाहरुको घोर निन्दा एवं भत्सर्ना गर्दछ । संघीय संसदको प्रमुख दल, संयुक्त सरकारको एक प्रमुख घटक दल नेपाली कांग्रेसका नेता एवं नेपाल सरकारको बहालवाला गृहमन्त्री रमेश लेखक कै संरक्षण एवं सक्रियतामा यसप्रकारको घटना घटनाइनु अत्यन्तै निन्दनीय एवं दुःखद परिघटना हो ।’
मोर्चाले रक्षक नै भक्षक भएपछि पीडितहरुले न्यायको लागि कसको आशा गर्ने ? भनि प्रश्न समेत उठाएको छ ।
विज्ञप्तिको अन्तमा मोर्चाले जातीय विभेद तथा छुवाछूतको अन्तका लागि दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा न्यायपूर्ण र समतामूलक राज्यप्रणाली अर्थात नेपाली विशेषताको समाजवाद प्राप्तिको मार्गमा अघि बढ्न सरोकारवाला सबैमा हार्दिक अपिल समेत गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस