क्वारेन्टाइनमा बसेकाहरू स्वास्थ्य परीक्षणपछि मात्रै घर जान पाउने

चैत २३, काठमाडौं । क्वारेन्टाइन अवधि पूरा गरेकाहरू अब स्वास्थ्य परीक्षणपछि मात्रै घर फर्कन पाउने भएका छन् ।

यसअघि क्वारेन्टाइनमा बसेकाहरू लक्षण नदेखिएपछि विनापरीक्षण घर जाने गरेकोमा अब स्वास्थ्य परीक्षण अनिवार्य गरिएको हो ।

आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले क्वारेन्टाइनमा बसेकाहरू स्वास्थ्य परीक्षणपछि मात्रै घर जान दिने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव एवं समिति प्रवक्ता नारायण बिडारीले जानकारी दिनु भयाे ।

‘क्वारेन्टाइन अवधि पूरा गरेकाहरूलाई स्वास्थ्य परीक्षणपछि मात्रै घर जान दिने निर्णय भएको छ,’ सचिव बिडारीले उच्चस्तरीय समितिको निर्णय सार्वजनिक गर्दै भन्नु भयाे ।

कोरोना भाइरसको प्रकोप फैलने खतरा बढेपछि सरकारले विदेशबाट फर्किएकादेखि शंकास्पद बिरामीको सम्पर्कमा पुगेकासम्मलाई क्वारेन्टाइन अनिवार्य गरेको छ । क्वारेन्टाइनमा बसेका त्यस्ता व्यक्तिहरूलाई १४ दिने अवधिमा पनि कुनै लक्षण नदेखिएमा घर पठाउने गरिएको थियो । तर, त्यसरी घर पठाइएकी कैलालीकी एक महिलामा कोरोनाको संक्रमण भेटिएपछि सरकारले यसमा समीक्षा गर्दै नयाँ नियम बनाएको हो ।

त्यस्तै, आइतबार बसेको बैठकले कोरोनाविरुद्धको लडाइँमा ५० हजार स्वंसेविका परिचालन गर्नेलगायतका निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस