२१ साउन, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताउनु भएको छ ।
बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा राखेको र एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गराएर १९ साउनको विज्ञप्ति जारी गराएको बताउनु भएको हो ।
आफूले १९ वैशाखमै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको जानकारी गराएको भन्दै उहाले भन्नु भयो ‘म माओवादी केन्द्र हो, माओवादीमै रहन्छु ।’
यसरी पु¥याइयो मुख्यमन्त्री निवास ?
१५ साउनमा नेकपा एमाले प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मानबहादुर राउत तुलसीपुरस्थित आफ्नो घरमा पुगेको उहाँले बताउनु भएको छ । उहाहरुले एमालेमा आउन दबाव दिएको, तर आफूले यसअघि नै इन्कार गरेको बताउनु भयो ।
आफू उपचारका लागि नेपालगञ्ज जान लागेको बताएपछि प्रमुख सचेतक ढकालले ‘हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाऔं’ भनेको बताउँदै भन्नु भयो ‘विश्वास गरेर गाडीमा बसें ।’
तर भूमिश्वरले भने विमलालाई उहाँकै इच्छाअनुसार मुख्यमन्त्री निवास पु¥याएको दावी गर्नु भयो । उहाँले भन्नु भयो ।
तुलसीपुरबाट अमिलिया आएपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासी बुटवलतिर मोडेको भन्दै विमलाले भन्नु भयो ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहें ।
उहाँहरुले एक पटक मुख्यमन्त्रीलाई भेट्नुपर्यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवासमा पुर्याइयो ।’
‘जबरजस्ती हस्ताक्षर गराइयो’
मुख्यमन्त्री पोखरेलले पहिला गल्ती भयो, अब त्यस्तो हुँदैन । एमालेमा आउनुस्, मन्त्री बन्नुस् भनेर प्रलोभन देखाएको प्रदेशसभा सदस्य वलीले वताउनु भयो । उहाले अघि भन्नु भयो , ‘मैले निरन्तर इन्कार गरिरहें । साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्कनै नदिई दबाब दिइरह्यो ।’
मुख्यमन्त्री निवासमै जबरजस्ती विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएको उहाले बताउनु भयो । थप केही माइन्युटमा पनि आफूलाई हस्ताक्षर गराएको भन्दै उहाले भन्नु भयो , ‘दलको बैठकको गराउनुभयो कि जिल्ला कमिटीको गराउनु भयो थाहा छैन ।’
त्यसपछि पनि आफूलाई बाहिर आउन नदिएको भन्दै उहाँले भन्नु भयो ‘अब घर जान दिन्छन् र बाहिर गएर खण्डन गर्छु भन्ने सोचेको थिएँ तर अझ कडाइका साथ साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै राखियो ।’
आफूलाई मुख्यमन्त्री निवासमा सांसद सरस्वती गौतमसँगै राखेको उहाँले वताउनु भयो ।
‘अनि शौचालयको चप्पल लगाएर भागें’ भन्नु भयो ।
प्रदेशसभा सदस्य वलीका अनुसार २० गते उहा मुख्यमन्त्री निवासबाट भाग्न सफल हुनु भयो ।
मध्यान्हतिर सबै आराम गरिरहेको बेला शौचालयको चप्पल लगाएर भागेको र माओवादी केन्द्रको संसदीय दलमा पुगेको भन्दै उहाँले भन्नु भयो ‘भाग्ने त पहिल्यै प्लान गरेको थिएँ । कमला विक माननीयले घर जान्छु भन्नुभयो, मैले हुन्छ भनें । त्यही बेला कसैलाई नदेखेपछि आएँ ।’
आफ्नो चप्पल लगाउँदा आवाज आउने भएपछि शौचालयको चप्पल लगाएर माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आएको उहाँले वताउनु भयो ।