दार्चुलाको मालघाटमा छानविन समितिविरुद्ध प्रदर्शन

२१ साउन, धनगढी । दार्चुला घटनाको छानबिनका लागि पुगेको गृह मन्त्रालयको टोलीविरुद्ध मालघाटमा प्रदर्शन गरिएको छ । तुइन तर्ने क्रममा गत शुक्रबार भारतीय एसएसबीले डोरी फुकालिदिएपछि खसेर युवक बेपत्ता भएको घटनाको छानबिन गर्न खटिएको टोलीविरुद्ध नाराबाजीसहित स्थानीयले प्रदर्शन गरेका हुन् ।

नदीमा बेपत्ता भएका व्यास गाउँपालिका–२ का जयसिंह धामीका भाइ नरेन्द्रले पीडित पक्षसँग भेटघाट समेत नगरेर भारतीय भूमिबाट घटनास्थलको निरीक्षणका लागि पुगेकाले प्रदर्शन गरिएको बताउनु भयो । प्रर्दशनकारीहरुले भारतीय भूमि टेकेर आउने छानबिन समिति मुर्दावाद, गोर्खाली कहिल्यै झुक्दैन, कालापानी लिपुलेक हाम्रै हो जस्ता नारा लगाएका थिए ।

‘टोली दार्चुला पुगेको आज तीन दिन पुगिसक्यो तर हामीसँग अहिलेसम्म भेटघाट गरेको छैन,’ धामीले भन्नु भयो ।
घटनास्थलको स्थलगत निरीक्षणपछि छानबिन टोली सदरमुकाम फर्किएको छ ।

छानबिन टोलीकी सदस्य समेत रहेकी दार्चुलाकी निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले घटनास्थलको निरीक्षण गरेर फर्किएको बताउनु भयो ।

‘हामी घटनास्थलको निरीक्षण गरेर फर्किएका छौं, अब थप के गर्ने भन्ने विषयमा छलफल गरेर अघि बढ्छौं,’ निमित्त प्रमुख जिल्ला अधिकारी भट्टले भन्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस