भादौ १९, पोखरा । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य ओम हमालको गैरकानुनी गिरफ्तारी विरूद्व सर्वाेच्च अदालतमा दोस्रो पटक विहीवार बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।
जनपत्रकार संगठन कास्की सदस्य समेत रहेकी हमालकी श्रीमती मोनिका गुरूङले सर्वाेच्च अदालतमा रिट दायर गर्नुभएको हो ।
पोखराबाट सञ्चालित जनसञ्चार अनलाइनका सम्पादक पत्रकार ओम हमाललाई अदालतको आदेश विपरीत मंगलबार पुनः सर्वोच्च अदालतको ढोकाबाटै गिरफ्तार गरिएको थियो ।
नेकपा कास्कीका जिल्ला ईन्चार्ज कृष्ण वाग्ले रुपेशको अन्तर्वार्ता लिन कास्कीको शिशुवा पुगेका पत्रकार हमाललाई ईन्चार्ज वाग्लेसंगै भाद्र ६ गते पक्राउ गरिएको थियो ।
जनपत्रकार संगठन, नेपालका केन्द्रीय समिति सदस्य तथा गण्डकी धौलागिरी संयोजक र नेपाल पत्रकार महासंघ कास्कीको साधारण सदस्य रहेका पत्रकार हमालको पुनः गिरफ्तारीले प्रेसमाथि सरकारले गरिरहेको श्रृङ्खलाबद्ध हस्तक्षेपको पछिल्लो कडी भएको संगठनका अध्यक्ष प्रकाश डुम्रेले जनाउनु भएको छ ।
संगठनले एक प्रेश विज्ञप्ती समेत जारी गरी घटनाको घोर भत्सर्ना गर्दै पत्रकार हमालको यथाशिघ्र रिहाको माग गरेको छ ।