कार्तिक २०, काठमाडौँ । सत्तारुढ नेकपाभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ । बिहीबार दिउँसो बालुवाटारमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच भएको छलफलले विवाद झनै बढाएको एक नेताले दाबी गरेका छन । ती नेताका अुनसार छलफल सकारात्मक नभएको बरु त्यसले विवाद थप बढेको हो ।
बुधबार ओली समूहले आफू निकट प्रदेश १ का नेताहरुसँग गरेको भर्चुअल बैठक र प्रधानमन्त्रीको राजीनामा सम्बन्धी अभिव्यक्तिलाई लिएर अध्यक्ष प्रचण्डले आपत्ति जनाउनु भएको छ ।
पार्टी फुटाउन खोजेको आरोप आफूलाई लगाएर बालुवाटारबाट फुटका गतिविधि भएको भन्दै प्रचण्डले आपत्ति जनाउनु भएको हो । साथै पार्टीमा उठ्दै नउठेको राजीनामाको विषयबारे प्रधानमन्त्रीको बुधबारको अभिव्यक्तिप्रति पनि प्रचण्डले आपत्ति जनाएको वताइएको छ ।
अहिले पार्टीमा प्रधानमन्त्रीको राजीनामाको विषय नभई स्थायी कमिटीका निर्णय कार्यान्वयन र पार्टी बैठकको मात्रै माग भएको प्रचण्डले भन्नु भएको छ ।
ओली बैठकप्रति सकारात्मक नभएपछि दाहाल छलफलको औचित्य सकिएको भन्दै बालुवाटारबाट निस्किनु भएको थियो ।
प्रधानमन्त्री ओलीले आफूविरुद्ध षड्यन्त्रहरु भएका र त्यसको सामना गर्न तयार रहेको जवाफ अध्यक्ष प्रचण्डलाई दिनु भएको थियो । पार्टीभित्रैको असहयोगले सरकारको काममा असर पारेको भन्दै ओलीले आफूले पार्टी फुटका गतिविधि नगरेको बताउनु भएको थियो । दुई अध्यक्षबीचको छलफल सकारात्मक नभएपछि दुवै समूह थप रणनीति निर्माणमा जुटेका छन् ।