कोटेश्वरका चलखेल सामना गर्न तयार छुः प्रधानमन्त्री

कार्तिक २०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरूद्धमा चलखेल भएको भन्दै त्यसलाई निस्तेज पार्ने चेतावनी दिनु भएको छ ।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकको सुरूमै आफ्ना धारणा राख्दै प्रधानमन्त्री ओलीले अस्थिरता निम्त्याउने गरी षडयन्त्र भइरहेको समेत आरोप लगाउनु भयो ।

उहाँले आफूलाई पदबाट हटाउनका लागि विभिन्न चलखेल भइरहेको दाबी समेत गरेको एक मन्त्रीले बताउनु भएको छ ।

‘कोटेश्वरमा विभिन्न खालका चलखेल भइरहेका छन । ती चलखेलको सामना गर्न तयार छु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्रीले भन्नु भयो ‘विश्वास अविश्वासका विभिन्न खालका चलखेलहरू भइरहेका छन् ।’

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा कानुन व्यवसायीहरूसँग परामर्श गर्नु भएको थियो ।

प्रचण्ड र नेपालले प्रधानमन्त्री ओलीले चाल्नसक्ने सम्भावित कदमका बारेमा छलफल गरेको स्रोतको दाबी छ । ओलीलाई सत्ताबाट हटाए प्रचण्ड र नेपालका नजरमा उहाँले गर्न सक्ने दुई विकल्प छन ।

पहिलो, रातारात अध्यादेश ल्याएर पार्टी फुटाउने । अहिलेको कानुनअनुसार कुनै पनि दल फुटाउन संसदीय दल र पार्टी केन्द्रीय समिति दुवैमा कम्तिमा ४० प्रतिशत संख्या चाहिन्छ । ओलीले त्यसलाई अध्यादेश मार्फत् बदलेर संसदीय दलमा मात्रै ४० वा ३० प्रतिशत संख्या भए पनि पार्टी फुटाउन मिल्ने कानुन ल्याउन सक्नु हुनेछ ।

दोस्रो, संविधानमा प्रावधान नै नभए पनि संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्नु हुनेछ । अदालत मिलाएर त्यो गैरसंवैधानिक कदमविरूद्ध आउन सक्ने मुद्दाहरू निस्तेज पार्नु हुनेछ र आफ्नै नेतृत्वमा चुनाव गराउनु हुनेछ ।

बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग्ने खेल भइरहेको तर आफूले राजीनामा नदिने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस