२२ पुस, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा एकल उम्मेदवार सिफारिस हुनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जिल्ला समिति कालिकोटको मंगलबार खुलालुमा बसेको विशेष बैठकले पार्टी प्रवक्ता प्रकाण्डलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा एकल उम्मेदवार सिफारिस गरेको हो ।
प्रवक्ता प्रकाण्ड श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने राष्ट्रिय नेता, सहिद परिवार र कर्णालीमा माओवादी आन्दोलन विस्तार गर्ने प्रमुख नेता भएको निश्कर्ष निकाल्दै उहाँलाई नै जिल्लाबाट प्रत्यक्षतर्फको एकल उम्मेदवारमा नाम सिफारिस गरिएको जिल्ला इन्चार्ज विवेक सीले जानकारी दिनु भयो ।
उहाँलाई धेरैजसो कालिकोटवासी जनताले माओवादी जनयुद्धको सुरुवात गर्ने जन्मदाता र कर्णालीकै प्रभावशाली नेताका रुपमा चिन्ने गरेका छन ।
नेता प्रकाण्ड २०६४ सालको संविधान सभा पहिलो निर्वाचनमा भारीमत ल्याएर विजयी हुनु भएको थियो ।
प्रचण्ड नेतृत्वको माओवादीले जनताको आसा अनुसार काम नगरेपछि असन्तुष्ट हुदै क्रान्तिका अधुरा सपना पुरा गर्ने लक्ष्य लिएर विप्लवसंगै प्रकाण्ड २०६९ सालमा नयाँ पार्टी बनाएर अलग हुनु भएको थियो ।
त्यसयता उहाँ कालिकोटमा चुनावी मैदानमा जानु भएको थिएन । उहाँले प्रचण्डको साथ छोडेपछि प्रचण्डतिर हुने प्रकाण्डका चेलाहरु महेन्द्र बहादुर शाही र दुर्गबहादुर रावतले प्रतिनिधि सभाको सदस्य हुने अवसर पाउनु भएको थियो ।
प्रचण्डबाट अलग भएपछि एकीकृत जनक्रान्तिको माध्यमबाट प्रकाण्डले विप्लवको नेतृत्वमा उहाँपछिको दोस्रो नेता भएर देश र जनताकोहितमा महत्वपूर्ण योगदान दिईरहनु भएको छ ।

केपी ओली प्रधानमन्त्री हुदा र प्रचण्ड समेत केपीसंगै पार्टी एकता गरी नेकपा बनाएको बेला भ्रष्टाचार विरुद्ध कार्वाही गरेकै कारण प्रकाण्डको पार्टीले २ बर्ष प्रतिबन्धको सामना समेत गर्नु पर्यो । २०७७ फागुन २१मा सरकारसंग तीन बुँदे सहमति पछि तत्कालिन नेकपा र अहिलेको नेकपा (माओवाद) खुल्ला राजनीतिमा प्रवेश गरेको हो ।
एकीकृत जनक्रान्तिको एउटा मोर्चाको रुपमा २०८२ फागुन २१ गतेको निर्वाचनलाई उपयोग गर्ने नीति लिएको यो पार्टीले गत मंसिर २ गते निर्वाचन आयोगमा औपचारिक रुपमा नेकपा (माओवादी)को नाममा पार्टी दर्ता गर्दै निर्वाचनमा होमिएको छ ।
प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) माधव नेपाल लगायतका साना दलसंग एकता गर्दा माओवादी सिद्धान्त र माओवादी पहिचान छोडेर नेपाली कम्युनिष्ट पार्टी बनाएपछि विप्लवको नेतृत्वको नेकपाको नाम जनयुद्धकालिन नेकपा (माओवादी) राखिएको थियो ।
निर्वाचन आयोगमा गुलाफ चिन्ह लिएर माओवादी अहिले निर्वाचनको मैदानमा छ । समानुपतिकको बन्द सूची पेश गरेको माओवादीले अव प्रत्यक्षतर्फ लड्ने उम्मेदवारहरुको नामावली सार्वजनकि गर्न थालेको हो ।
यही शिलशिलामा नेकपा (माओवादी) कालिकोटले आज सर्वसहमत रुपमा कालिकोटबाट चुनाव लड्न प्रकाण्डको नाम एकल सिफारिस गरेको हो ।
यसले कालिकोटमा नयाँ तरंग ल्याएको छ । उता नेपाली कम्युनिष्ट पार्टीले प्रचण्डको नाम सिफारिस गरेको छ भने यता माओवादीले प्रकाण्डको नाम सिफारिस गरेको छ ।
दुवै विगतमा एउटै पाटीको नेता र अहिले फरक पार्टीबाट निर्वाचन लड्ने कुरा वाहिर आउदा धेरैलाई चासोको विषय बनेको नेताहरुले बताउने गरेका छन । कालिकोटे जनताले भने स्थानीय नेता, देश र जनताप्रति प्रतिबद्ध भएको नेता एकमात्र प्रकाण्डलाई विजय गराउने धरैको अनुमान छ ।
