२४ माघ, कञ्चनपुर । नेकपा कञ्चनपुरले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमि दिनप्रतिदिन अतिक्रमण गरी समस्याहरु पैदा गरिरहेको भन्दै समस्याको दिगो समाधानका लागि पहल गर्न प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको छ ।
नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज बिराट र सचिब दिवार सीद्वारा संयुक्त रूपमा हस्ताक्षरित १५ बुँदे ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी नारायण सापकोटालाई बुझाईएको हो ।
ज्ञापनपत्रमा भारत र नेपाल दुबै देशको बिज्ञ टोली बनाई सो टोली मार्फत कुटनैतिक तरिकाले दिगो रुपमा सीमा समस्या समाधान गर्न नेकपाले जोडदार माग गरेको छ ।
नेकपाले २०८१ माघ २० गते कंचनपुरको दोधारा चाँदनी नगरपालिका वडा न. ८ धामीटोल र केहि समय अगाडि बेल्डाडी गाउँपालिकाको झिल्मिला लगायत ठाउँमा भारतले दशगजा खाली गर्ने निहुँमा नेपाली भूमि अतिक्रमण गरेको जनाएको छ ।
नेकपाले नागरिकलाई भन्सारमा चेकजाँचको नाममा आतंक मच्चाउने र दुर्ववहार हुने गरेको, भारतबाट निर्वाध रुपमा आयात हुने लागुऔषधको दुव्र्यसनीको सिकार नेपाली युवायुवती हुने गरेको भन्दै यस्ता खालका समस्याहरु समेत यथाशिघ्र समाधानको पहल गर्न माग गरेको छ ।
नेकपाले सीमा समस्या समाधानसंगै सुकुम्बासी, आरक्ष पीडित, बाढी पीडित, लघुवित्त, मिटर ब्याज र बैंक पीडितहरुको समस्या समाधान गरिनु पर्ने,जग्गा हडप्नेहरुलाई कानुनी कारबाही गरिनुपर्ने, भ्रष्टाचार नियन्त्रण गरिनुपर्ने, गुणस्तरहिन सामनसहित भैरहेको कालोबजारी रोकिनुपर्ने र निर्माणाधिन भौतिक संरचनाको ढिलोसुस्ति, गुणस्तरहिन र मापदण्ड विपरित काम भइरहेको ठाउँमा कारबाही गरिनुपर्ने पनि माग गरेको छ ।
नेकपाले नियम बिपरित सञ्चालित क्रसर उद्योग माथि कार्वाही गरिनु पर्ने, इटाभट्टाले वातावरणीय प्रदुषण फैलाइरहेको हुँदा अनुगमन गरि नियन्त्रण गर्नुपर्ने , महाकाली नदिमा नदिजन्य पदार्थ, गिट्टी बालुवाको सहि सदुपयोग गरिनु पर्ने, माछामार्न जनतालाई सहज गरिनुपर्ने, चुरेक्षेत्रको काठ तस्करी र ढुड्गा गिट्टी तस्करी रोक्नुपर्ने र नेपाल सरकार र नेकपाबिच भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न गराउन पहल गरिनुपर्ने लगायतका मागहरु ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
ज्ञापनपत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सापकोटाले मागहरूप्रति सकारात्मक रहेको भन्दै सीमा क्षेत्रमा तत्काल अनुगमन गरि समस्या समाधान गर्न बार्ता र कुटनैतिक पहल गरिने आश्वासन दिनु भएको छ ।