२२ फागुन, कपिलवस्तुमा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले सी गार्मेन्टको उद्घाटन गर्नु भएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका– वडा नम्वर १, बनकट्टामा नेकपाले संचालन गरिरहेको “सी गार्मेन्ट” महासचिव विप्लव सीले बुधवार औपचारिक उद्घाटन गर्नु भएको हो । उहाँले आफै कपडा सिलाउने मेसिन चलाएर सी गार्मेन्ट उद्घाटन गर्नु भएको नेकपाले जनाएको छ ।
नेकपाले ‘कृषि उत्पादनबाट आत्मनिर्भरता र उद्योग र व्यायवसायबाट आर्थिक समृद्धि’ भन्ने मुलनारा सहित ‘सी गार्मेन्ट’ संचालनमा ल्याएको हो । उद्योगको उद्घाटन गर्दै नेकपा महासचिव ‘विप्लव’ सीले अब देशमा विदेशी हैन स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सी गार्मेन्ट संचालनमा ल्याइएको बताउनु भयो ।
उहाँले नेकपा आफैमा एक आत्मनिर्भर पार्टी भएको बताउदै नेकपा अहिले अर्थतन्त्रको मार्गमा हिँड्ने पार्टीको रूपमा अगाडि बढेको दाबी गर्नु भयो । उहाँले सबैलाई कृषि उत्पादन र ब्यवसायमा लाग्न सुझाव पनि दिनु भयो ।
स्वदेशी उत्पादन र श्रमको सम्मान नगरी आर्थिक क्रान्ति सम्भव नहुने भन्दै महासचिव विप्लवले नागरिकलाई आर्थिकसंग जोड्न सी गार्मेन्ट सन्चालनमा आएको बताउनु भयो ।
उहाँले भन्नु भयो ‘यो गार्मेन्ट संचालनमा आएसंगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने छ । यसलाई व्यावसायिक रुपमा लैजान हामी सबै लाग्नु पर्छ । नेकपाले विभिन्न उत्पादनमूलक उद्योग सञ्चालन गरी पार्टीको आर्थिक सशक्तिकरण गर्न चाहान्छ । गार्मेन्टमार्फत उत्पादन गरिएका सामग्रीहरू स्थानीय तथा राष्ट्रिय बजारमा बिक्री गर्ने छ ।’ कार्यक्रममा प्रदेश सभा सदस्य एवम् पूर्व वन मन्त्री अर्जुन केसीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न यस्ता लघु तथा मध्यम उद्योगहरू आवश्यक रहेको बताउनुभयो ।
उहाँले उत्पादनशील अर्थतन्त्रको विकास र आत्मनिर्भर आर्थिक प्रणालीको आवश्यकता रहेको भन्दै आर्थिक क्रियाकलापमा जोड दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नगरपालिकाले उद्यमशीलतालाई प्रवद्र्धन गर्ने नीति लिएको भन्दै उद्योगहरू नगरकै विकासको लागि महत्त्वपूर्ण रहेको बताउनु भयो ।
नेपाली कांग्रेसका जिल्ला उपसभापति हुमकान्त खनाल, नेपाल आदर्श माविका प्रधानाध्यापक मुिक्त पोख्रेल लगायतका अतिथिहरुले उद्योग स्थापनाले रोजगारीको अवसर सिर्जना गर्न योगदान पुग्ने धारणा राखेका थिए ।
“सी गार्मेन्ट” सन्चालक सन्तोषी सीले आर्थिक सशक्तिकरण, स्वदेशी उत्पादन प्रवद्र्धन र स्थानीय रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर रहने गरि गार्मेन्ट संचालनमा ल्याएको बताउनु भयो ।