२३ बैसाख, कालिकोट । कुनैबेला नेकपा (माओवादी)ले संचालन गरेको जनयुद्धमा अन्तरजातिय विवाह गर्नेको लहर थियो । जनयुद्धमा कुन जातको हो ? भनेर नत केटीले केटालाई सोध्ने चलन थियो नत केटाले केटीलाई नै !
विचार र भावना मिल्ने वित्तिकै पार्टीमा साझा प्रेम प्रस्ताव राखेर जनवादी विवाह गर्ने चलन थियो । ‘मानव समाज एउटै हो हाम्रो पूर्खा एउटै हो राजा महाराजाहरुले आफ्नो विभेदकारी सत्ता टिकाउन जात जातिको प्रचलन सुरु गरेका हुन अब त्यसलाई भत्काएर परिवर्तन गर्नु पर्छ’ हरेक माओवादी नेता कार्यकर्ताहरुको मन मस्तिष्कमा यही आदर्श थियो ।
यो महान आदर्श स्थापित पनि थियो । जसका कारण जनयुद्धमा थुप्रै जनवादी अन्तरजातिय विवाहहरु सम्पन्न भएका थिए ।
तर शान्ति प्रक्रियापछि भने माओवादी नेताहरुका आदर्श भत्किएका छन । उनीहरु पुरानो ठाउँमा फर्किन थालेका छन । त्यसको ज्वलन्त उदाहरण अन्तरजातिय जनवादी विवाहहरुमा देखिएको छ । एउटा यस्तै घटना कालिकोटको रास्कोटमा भएको ज्वाला खवरले भेटाएको छ ।
नेकपा (माओवादी केन्द्र)का रास्कोट नगरकमिटीका अध्यक्ष पदम खड्का (सुवास)ले जनयुद्धमा राजी खुसीले सुर्खेतकी मिना रम्तेलसंग २०६२ साल भदौ १२ गते अन्तरजातिय जनवादी विवाह गर्नु भयो ।
रास्कोट नगरपालिका वडा नम्वर २ घर भएका तत्कालिन नेकपा (माओवादी)का जनमुक्ति सेनाका कम्पनी कमाण्डर सुवासले सुर्खेत रामघाट माईती घर भएकी मिनासंग जाजरकोटको दसेरामा अन्तरजातिय जनवादी विवाह गर्नु भएको थियो ।
तत्कालीन डिभिजन कमाण्डर तेजबहादुर ओलीको उपस्थितिमा उहाँहरु दुवैको अन्तरजातिय विवाह भव्य रुपमा सम्पन्न भएको हो । विवाह भएको करिव २ बर्षपछि २०६४ साल कार्तिक ६ गते छोरी सलमी खड्काको जन्म पनि भयो ।
तर शान्ति प्रक्रियापछि भने श्रीमती दलित भएको र घरपरिवारले अस्वीकार गरेको भन्दै माओवादी नेता सुवासले सम्वन्ध विच्छेद गर्नु भयो ।
उहाँले श्रीमतीसंग सम्वन्ध विच्छेद मात्र गर्नु भएन आफ्नै जन्मिएकी छोरीसंग पनि सम्वन्ध तोडनु भयो । हाल छोरी १८ बर्षको उमेर पुग्दा पनि सुवासले नत पालन पोषण गर्नु भएको छ नत घरमै ल्याएर छोरीको रुपमा स्वीकार गर्नु भएको छ ।
छोरी सलमी खड्काले आमा दलित समुदाय भएकै कारण वुवाले आमा र आफूमाथि वेवास्ता गरेको ज्वाला खवरलाई दुखेसो पोख्नु भएको छ ।
सलमीले अन्तरजातीय विहेकै कारण आफूले एउटा छोरीले पाउनुपर्ने पालनपोषण, शिक्षादिक्षा र रेखदेखबाट बञ्चित हुनु परेको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘मलाई पालनपोषण र शिक्षा लिन गाह्रो भयो । केही समय आमाको सहयोगमा छुट्टै बसेर पढाइ लेखाइ पालनपोषण भयो । तर आमाले अर्को विहे गरेर गएपछि अहिले कोही साहरा छैन । कहिलेकाही आमाले खर्चपर्च हेरिदिनु हुन्छ । तर अर्कोसँग विहे गरेर गएपछि सधैं खर्च हेर्न सम्भव हुदैन ।’
‘एउटा बाबाले छोरीलाई गर्नुपर्ने व्यवहार भएन अहिलेसम्म कुनै सहयोग भएको छैन । मैले बाबा नै चिनेको छैन’ छोरी सलमीले भन्नु भयो, ‘नागरिकताको लागि एक पटक मैले फोन गरेको थिए । तर उल्टै धम्काउने काम भयो । अहिले फोन गर्न डर लाग्छ । सकिन्छ भने तपाईले नागरिकता दिलाउन सहयोग गरिदिनुपर्याे । अब मलाई पालनपोषण र शिक्षादिक्षा र अंश सहितको नागरिकता चाहिन्छ ।’
माओवादी नेता सुवासले छोरीलाई व्यवहारिसे छोड्दा छोरी मामाघरमा वसेर जेनतेन पढिरहनु भएको छ । सुवासकी पूर्व पत्नी मिना रम्तेलले जनयुद्धमा दुबै जनाले राजी खुसीमा अन्तरजातिय जनवादी विवाह गरेको बताउदै शान्ति प्रक्रियापछि श्रीमान सुवासले आफूमाथि दलितकी छोरी भएको भन्दै अपमान गरेर छोडेको ज्वाला खवरलाई बताउनु भएको छ ।
मिनाले आफुबाट जन्मिएकी छोरी समेतलाई अपमान गरेकाले छोरीको १८ बर्षको उमेरसम्म पनि पालन पोषण खर्च नदिएको गुनासो गर्नु भयो ।
मिनाले छोरीले नेपाली नागरिकताको प्रमाणपत्र समेत नपाएको दुखेसो पोख्नु भयो । उहाँले छोरीको वुवा सुवासले नागरिकता दिन आनाकानी गर्दा नागरिकता प्राप्तिको अधिकारबाट बञ्चित हुनु परेको बताउनु भयो ।
राजी खुसी र सहमतिका साथ गरिएको विवाह शान्ति प्रक्रियापछि एकाएक जातकै कारण विग्रिएको हो । सुवास अहिले नेकपा (माओवादी केन्द्र)को रास्कोट नगरकमिटीको अध्यक्ष समेत हुनुहुन्छ । एउटा राजनीतिक पार्टीको नेतृत्वसम्म पुगेको व्यक्तिले आफू दलित समुदाय भएकै कारण धेरै हिंसा र यातना दिने गरेको र आफुलाई जानकारी नै नदि अदालतमा सम्वन्ध विच्छेदको मुद्धा हालेको मिनाले बताउनु भयो । मिना र सुवासबाट जन्मेको छोरी सलमी ५ बर्षको उमेर हुदा सुर्खेत जिल्ला अदालतबाट सम्वन्ध विच्छेद भएको छ ।
तत्कालीन दलित मुक्ति मोर्चाको केन्द्रीय सदस्य समेत रहनु भएकी मिनाले पटक पटक पार्टीमा आफुमाथि जातियताकै कारण श्रीमानले विभेद गरेको र छोरी तथा आफूलाई रेखदेख नगरेको गुनासो गर्नु भएको थियो ।
सुवासले आफ्नो जातको मिल्ने केटीसंग विवाह गर्ने तयारी गरेकाले आफुमाथि घरेलु हिंसा हुने गरेको मिनाले बताउदै त्यो कुरा पार्टीमा उजुरीको रुपमा दिदा पनि समस्याको समाधान नभएको बताउनु भयो ।
आमा मिना र वुवा सुवासबाट जन्मिएकी छोरी अहिले १८ बर्ष पुगिसकेकी छन । तर उनले १६ बर्षमै पाउनु पर्ने नेपाली नागरिकता वुवा सुवासका कारण पाउन सकेकी छैनन । आमा मिनाका अनुसार वुवा सुवासले मेरोे छोरी होईन भन्दै नागरिकता दिन अस्वीकार गरेका छन ।
माओवादी नेता सुवासले शान्ति प्रक्रियापछि आफ्नो घरपरिवारले स्वीकार्न गर्न नसक्ने भन्दै पटक पटक अलग हुने मिनासंग प्रस्ताव गर्नु भएको थियो ।
पीडित मिनाका अनुसार माओवादी नेता सुवासले मेरो घरपरिवारले दलित बुहारी स्वीकार्दैन, म तसँग बस्न सक्दैन भनेर वारम्वार घरेलु हिंसा गर्नु भएको थियो ।
‘पहिले दलित देख्दादेख्दै विहे गर्याे । पछि दलित भएकै कारण मलाई यातना दिने, दलित भन्दै तुछ शब्द प्रयोग गर्दै गालीगलौज गर्ने गयो’ पूर्व पत्नी मिनाले भन्नु भयो, ‘दलित भएकै कारण सम्बन्ध बिच्छेद गरी पाउँ भनेर सुवासले पार्टीमा पनि मुद्दा दिए ,तर पार्टीले गर्न नदिएपछि अदालत पुगे ।’
मिनाले भन्नु भयो ‘छोरी पेटमा हुदा पनि अपमान सहएर वसे, सुत्केरी हुदा पनि श्रीमानले हेरचाह गरेन, माइतीमै वसेर छोरी जन्माउने र हुर्काउने काम गरे । पछि नानी ठुली पढ्ने भइसके पछि मैले वुवाको सोधीखोजी गरे । तर उसले उल्टै सम्बन्ध विच्छेदको मुद्दा अदालतमा हालेको रहेछ पछि मैले प्रतिउत्तर लगाउन वाध्य भए ।’
मिनाले आफूले छोरीको पालनपोषण देखि अंश दावी सहितको प्रतिउत्तर अदालतमा लगाएको बताउनु भयो । सुवासले अंश दावी गरेको थाहा पाएपछि जनमुक्ति सेनाको अवकासबाट आएको पैसाले सुर्खेतको लाटीकोईलीमा किनेको जमिन समेत अरूको नाममा नामसारी गरेको आरोप लगाउनु भयो ।
जसका कारण सम्वन्ध विच्छेद हुदा आफूले कुनै अंश नपाएको मिनाले बताउनु भयो । ‘अदालतले छोरीको तत्काल पालनपोषण गर्न भनेर २ लाख ५० हजार दिन आदेश गरेको थियो । त्यो पनि सुवासले एक रुपैया दिएन’ मिनाले भन्नु भयो, ‘म खोज्दै कहाँ जानू ?घर कहाँ हो ? के हो ? केही थाहा पनि थिएन उसले घरमा कहिल्यै लिएको पनि थिएन ।’
पीडित मिनाले विवाह पछि बारम्बार तेरो घर कहाँ हो? म घर हेर्छु, मलाई घर लगिदे भन्ने गरेको भएपनि सुवासले दलितलाई मेरो घरमा स्वीकार्दैनन, तलाई घर लिन सक्दैन भनेर अपहेलना गर्ने गरेको गुनासो गर्नु भयो ।
सुवासले श्रीमती त स्वीकार गर्नु भएको थिएन तर आफ्नै रगतको नाता छोरी पनि स्वीकार नगर्दा एकातिर नागरिकता बनेको छैन भने अर्कोतिर पठनपाठन लगायतका काममा समस्या हुन थालेको छ ।
मिनाले छोरीको जन्मदर्ता पनि कक्षा ८मा पढदा धेरै दवाव पछि बल्ल दिएको बताउनु भयो । मिनाले नागरिकता विना छोरी तड्पिएको बताउदै एउटा सन्तानले आमा वुवा हुदा पनि नेपाली नागरिकताको प्रमाणपत्रबाट बञ्चित हुनु निकै दुखत भएको बताउनु भयो ।
‘छोरी अहिले कक्षा ११ मा जनमावि सुर्खेतमा पढिरहेको छ । विद्यालयले पनि बारम्बार नागरिकता मागिरहेको छ । नागरिकता दिन्छौं दिन्छौं भनेर पर्खाइरहेका छौं । तर उसले कहिले नागरिकता पाउने ?’ दुखित हुदै मिनाले भन्नु भयो ।
नागरिकताको लागि माओवादीको दलित मुक्तिमोर्चाको प्रदेश कार्यालय र प्रदेश समितिको बैठकमा समेत कुरा राखेपनि समस्याको समाधान नभएको मिनाको भनाई छ ।
मिनाले छोरीले वुवा सुवासलाई नागरिकताको वारे आफै फोनमा कुरा गर्दा उल्टै धम्क्याउदै गालिगलौज गरेको खुलासा गर्नु भयो ।
आमा मिनाले भन्नु भयो ‘वुवा सुवासले छोरीको पालन पोषण र रेखदेख गरेन, जसका कारण छोरी अहिले भेरीगंगा नगरपालिका १३ राम्घाट मामाघरमा वस्दै आएको छ ।’
‘सुवासका कारणले छोरीको भविष्य विग्रिएको छ, छोरीले नत राम्रो पालनपोषण पायो नत राम्रो शिक्षा दिक्षा पायो । अन्तरजातीय विहे गर्नुमा छोरीको के गल्ती थियो ? छोरीलाई यतिसम्मको विभेद किन हुदैछ ?’ मिनाले प्रश्न गर्नु भयो ।
नेकपा (माओवादी केन्द्र)का रास्कोट अध्यक्ष तथा मिनाका पूर्व पती सुवासले जातकै कारणले सम्वन्ध नविग्रिएको जवाफ दिनु भएको छ । उहाँले छोरीलाई नागरिकता दिन आफू तयार रहेको भएपनि सम्पर्कमा नआएको ज्वाला खवरलाई प्रतिक्रिया दिनु भयो ।
स्मरणरहोसः माओवादी नेता सुवासले मिनासंग विवाह गर्नु पूर्व गाउँमा परम्परागत रुपमा अछाम बारलाबाट विवाह गर्नु भएको थियो । जसबाट पनि एउटा छोरी जन्मिएकी छन । उनीमाथि पनि विभेद गरेको खुल्न आएको छ ।
उता दलित मुक्तिमोर्चा नेपालका कर्णाली प्रदेश अध्यक्ष दिनेश चदाराले पीडितलाई न्याय दिनेमा मोर्चा सदैभ तयार भएको भन्दै पीडकले नमाने कानुनी प्रक्रियामा गएर न्याय खोजिने प्रतिबद्धता जनाउनु भएको छ ।
पछिल्लो समय शान्ति प्रक्रियामा धेरै जनवादी विवाहहरु भत्किएका छन । सुवासको प्रतिनिधि घटना मात्र भएपनि यस्ता घटनाहरु थुप्रै हुने गरेका छन ।
दलित समुदायको छोरी भएकै कारण अन्तरजातिय विवाह भत्किनु दुख भएको समाजशास्त्रीहरुले बताउने गरेका छन । उनीहरुले यो पुरानै सामन्ती व्रमाहणवादी चिन्तन हाबी भएका कारण समस्या पुनरावृति हुन थालेको विश्लेषण गरेका छन ।