कार्तिक २१ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालयको अनौपचारिक बैठक सकिएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र उहाँ निकट सचिवालय सदस्यहरुले बहिस्कार गरेको शुक्रबारको सचिवालय बैठक सकिएको हो ।
बैठकमा भएको छलफलबारे जानकारी दिदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबारको बैठकले सचिवालयको औपचारिक बैठक बोलाउन ओलीलाई संयुक्तरुपमा लिखित अनुरोध गरिने निर्णय गरेको जानकारी दिनु भयो ।
त्यस्तै, ओलीले प्रचण्डलाई औपचारिक बैठकमा बसे त्यहि नै पार्टीफुटको घोषणाको बिन्दु हुनेछ भन्दै धम्काएको खुलेको छ । बैठकपछि श्रेष्ठले पत्रकारहरूलाई सो कुरा जानकारी दिदै भन्नु भयो ‘औपचारिक बैठक बस्नुभयो भने त्यो नै फुटको घोषणाको बिन्दु हुनेछ भनेर प्रधानमन्त्री ओलीले भन्नु भएको अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउनुभयो ।’
प्रवक्ता श्रेष्ठले अध्यक्ष ओलीकै सहमतिमा अनौपचारिक बैठक आह्वान गरिएको समेत दाबी गर्नु भयो । ‘अध्यक्ष ओलीकै सहमतिमा अनौपचारिक बैठक आह्वान गरेको हो । सबै सदस्यलाई बैठकबारे जानकारी गराइएको थियो । केही कमरेडहरू व्यस्तताले गर्दा आउनुभएन,’ उहाँले भन्नु भयो , ‘अध्यक्ष ओलीले हिजै प्रचण्डसँग अनौपचारिक बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी गराउनुभएको रहेछ ।’
सचिवालय बैठक बोलाउन प्रचण्डले अर्का अध्यक्ष ओलीसँग बारम्बार पहल गरे पनि बैठक आह्वान नभएको श्रेष्ठले बताउनु भयो । ‘कार्यकारी अध्यक्ष प्रचण्डले बैठक बोलाउन सक्ने भए पनि सकभर सहमतिमै सचिवालय बैठक राख्न खोजिएको छ । भोलि अध्यक्ष ओलीलाई भेटेर सहमतिमै छिटो सचिवालय बैठक राख्न आग्रह गर्न निर्णय भएको छ,’ उहाँले भन्नु भयो ।
दिउँसो ३ बजेबाट बसेको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित हुनु हुन्थ्यो । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल सचिवालय सदस्यहरु ईश्वर पोखरेल र रामबहादुर थापा बादल भने बैठकमा सहभागी हुनु भएन ।