२५ चैत, बुटवल । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको वास आजबाट भैरहवा कारागरमा भएको छ । उहाँलाई आज जिल्ला कारगार भैरहवामा चलान गरिएको छ ।
शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ पर्नु भएका लामिछानेलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान ९ः१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।
सरकारी विदाका कराण दुई दिन हिरासतमा बिताउनु भएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार पुर्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । अब अदालतको फैसला नआउन्जेलसम्म उहाँको वास सोही कारगारमा हुनेछ ।
गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उहाँलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले सो आदेश गरेको हो । जिल्ला अदालत रुपन्देहीले भने उहाँलाई १ करोड धरौटीमा छाड्ने आदेश दिएको थियो । सो आदेशको उच्च अदालतले बदर गरेको हो । उच्चको आदेशसँगै लामिछाने पक्राउ पर्नु भएको थियो ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिनु भएको थियो ।