दलाल सत्ता र कोरोना भाइरस

विश्व समुदायले कोरोना भाइरसको भिषण आक्रमण र आतंकको सामना गरिरहका छन । त्यसका विरुद्ध प्रतिरोधमा सहभागी कैयौं देशका मोर्चाहरु निश्प्रभावित जस्तै वनेका छन । कतिपय देशले प्रतिरोध मोर्चाहरुमा विजय हासील गरिरहेका छन । संसारका दुई सय वढी राष्ट्रहरुमा कोरोना भाइरसले आफ्नो प्रभाव विश्वयुद्धकै शैलीमा तिव्र रुपमा विस्तार गरिरहेको छ । हजारौं नागरिकले ज्यान गुमाइरहेका छन । लाखौं मानिसहरु कोभिड १९ को लडाईमा मृत्यु वा मुक्तिको संघर्ष गरिरहेका छन । जसरी साम्राज्यवादी शक्ति केन्द्रहरु पूजि, शैन्य शक्ति, आणविक अस्त्रको बलमा प्राकृतिक श्रोत साधन माथिको अतिक्रमण दोहनमा होड गर्दथ्ये । त्यस्तै अविकसित,उत्पीडित मुलुक र विश्वका श्रमिक वर्गलाई लुट्नमा अस्वस्त घृणित प्रतिस्पर्धाको भाइरस फैलाइरहेका छन ।

आजको कोरोना भाइरस त्यही प्रतिकुलताको प्रभाव अतिक्रमणले मानव समाजमा सृजना भएको महासंकट हो भन्न सकिन्छ । यो महासंकटको समाधानका लागि विश्वले खोजि गरिरहेको छ । यसमा ढिलो चाँडो सफलता मिल्नेमा आसावादी हुनै पर्दछ । जुन चिजको जन्म भयो मृत्यु पनि असंम्भावी छ । विश्व समुदायले यसमा विजय हाँसिल गर्नु नै छ । तत्प्रश्चात पनि यसको समग्र प्रभाव सहित यसले विश्व शक्ति सन्तुलनमा असन्तुलन भने पक्कै ल्याइदिनेछ । साम्राज्यवादी पूजीवादको केन्द्र अमेरिकालाई यसले थला पारिरहेको छ । चाइनाले भन्नै पर्दछ सफल ढंगले यसको निराकरण गर्दछ । यो निकै रोचक विषय हो । यसले पूजीवादको संकट र समाजवादको अपरिहार्यताको संकेत दिएको छ ।

हाम्रो जस्तो अविकसित विपन्न मुलुक जहाँ सामाजिक दलाल फाँसीवादी राज्य व्यवस्था संचालन भइरहेको छ । यो देशका दलाल भाइरसको आक्रमणमा राष्ट्रियता, जनतन्त्र जनजिविका, मानवअधिकार लगायतका क्षेत्र थिलो – थिलो भएको छ । साथै आजको कोरोना भाइरस विरुद्ध संघर्षको तयारी पनि केवल प्रचारमा मात्र सिमित छ । नेपालमा देखिएका दुवैखाले भाइरसको शशक्त प्रतिवादको तयारी नागरिक स्तर वाटै अगाडि वढाउनु पर्ने हुन्छ ।

पहिलो खालको दलाल फासीवादी कोरोना भाइरसको विरुद्ध नेपाल कम्युनिष्ट पार्टी, देशभक्त, परिवर्तनकामी नागरिक लामो समय देखि युद्ध मोर्चामै छन । फाँसीवाद दलाल सत्ताले यसलाई लकडाउन मै राखेको छ । देशभक्त र जनप्रेमी शक्ति एक प्रकारको कोरोनामा नै छ । पार्टीले ढिलो चाँडो एकीकृत जनक्रान्तिको मोर्चा वाट विजय हासिल गर्नेछ । किनकी यो मोर्चा राष्ट्र, जनता र न्यायको मोर्चामा छ । जसले वैज्ञानिक समाजवाद चाहान्छ । सिङ्गो जनसमुदायको सहभागीता, समर्थन भरोसा यो मोर्चामा छ । मुख्य मोर्चा सफलतामा पुर्याईयो भने दोस्रो सहायक मोर्चा वेला वखत खुल्छन । त्यसको वैज्ञानिक तवर वाट समाधान गर्नु पर्दछ ।

जव देशमा संकट आउछ । दलाल सासन सत्ताको काम भनेको फेरी लुटनु, कमिसन खानु, भ्रष्टाचार गर्नु हो । दलाल चरित्र भनेको ठुल– ठुला आदर्सको कुरा गर्ने व्यवहारमा सिन्को नभाच्नु हो । यसको कुनै राष्ट्र, वर्ग, धर्म हुदैन । आफ्नो पद र पैसा सिवाय केही हुदैन । निरन्तर राष्ट्र र जनघात भइरहेकै छन भन्नु पर्दछ । विशेष संकटको कुरा गर्दा ०७२ सालको विनासकारी भूकम्पमा हालकै कोभिड १९ को विरुद्धमा जुट्न औषधि उपकरण खरिदको कुरालाई मात्र हेरे पुग्दछ । त्यसैले वेलैमा यसको समाधान ननिकाल्ने हो भने संकटको भूमरीमा देश कोलेप्स हुने खतरा छ ।

सरकारी कदम र कोरोना भाइरस

कोरना भाइरसको महामारी नियन्त्रणका लागि राज्यले लकडाउनलाई मात्र अचुक हतियारको रुपमा लिएको पाईन्छ । प्रचारको विभिन्न ढंगले वर्षा भैइरहेको भएपनि अझै आम जनतामा पुग्न सकेको छैन । ठोस तयारी केही देखिदैन जसले नागरिकहरुमा गाँस आतंक वढी देखिन्छ । लकडाउन भाइरसको प्रकोप नियन्त्रणका लागि उत्तम हतियार हुन सक्छ ।

यतिले मात्र के सवै समस्या समाधान हुन्छ त ? आपतकालीन अवस्थामा आपतकालिन निणर्य लिनु पर्दछ । चिनको वुहान प्रान्तमा डिसेम्वरमा नै फैलिएको महामारी यसको विश्वव्यापी हुन सकने प्रकोप, अपनाउनु पर्ने तयारी र सावधानी खोई ? यो त हदै दर्जाको उदासिनता वाहेक के हुन सक्दछ ? जव पर्यो राति तव वुढी ताती भने झै जव प्रकोपले विश्वव्यापी रुप लियो लकडाउनको निर्णय आयो । यसले जनजीवनमा निकै ठुलो प्रभाव पारेको छ । जो निम्न प्रकारले प्रस्तुत गर्न सकिन्छ ।

१, कोरोना भाइरस नियन्त्रणका लागि भएको आवश्यक उपकरण र औषधि खरिदमा नै पूर्व सेटिङ्गको आधारमा भएको करोडौ कमिसनको खेल जसको जनस्तर वाट चर्को विरोध भएपछि रद्द गर्नु, पूनः ल्याउने कुरा आएको छ । यो अपराधमा संलग्न भाइरसलाई केही गर्नु पर्दैन ? राज्य नै तईचुप र मै चुपको अवस्थामा छ । यो त राष्ट्रकै वेइज्यत भएन र ! हुन त इज्जत नभएका हरुलाई के को वेइज्जत हुन्छ ? कोरोना विरुद्धको मोर्चामा सहभागी वनाउने सिपाई स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयमसेवकहरु हतियार विहिन छन ।

आधारभूत औषधि र उपकरण छैन । जो संग एक थान मास्क छैन । अग्र मोर्चामा खटिनेहरुकै त्यो हालत छ । कसरी संक्रमणको पहिचान र उपचार गर्दछ ? यो केवल दुश्शासस मात्र हुनेछ । कोरोनाको नियन्त्रण होईन, कोरोना भाइरसले भष्म पार्ने खतरा हुन्छ । यो अवस्था वाट के वुझन सकिन्छ भने राज्यको नीति निमार्ण र कार्यान्वयन गर्ने तहको दरिद्रता व्यक्त गर्दछ । ढिलै भएपनि लिएका कतिपय पहलकदमीलाई भने सकरात्मक रुपमा लिनु पर्दछ । जनस्तरवाटै सवै क्षेत्रमा सावधानी अपनाउने, कोरोनाको प्रकोप नियन्त्रणका लागि हातेमालो गर्दै मोर्चा कस्नु पर्दछ ।

२, लक डाउनले हजारौ नागरिक अलपत्रको अवस्थामा सिमानामा छन । चाइनामा रहेका नागरिक लाई चार्टर गरेर ल्याउने भारतको सिमानामा रहेका कुल्ली, भरिया भातै खान नपाएर भोक भोकै मर्ने अवस्था सृजना गर्नु ठुलो अपराध हुनेछ । उपयुक्त विधि अवलम्वन गरी उचित व्यवस्थापन गर्नु पर्दछ । विपदको वेला आफनै देशमा प्रवेश गर्न नपाइने, भोक भोकै वस्नु पर्ने अवस्थाले नदिमा हाम फाल्नु पर्ने, भुण्डीएर मुर्न पर्ने, अवस्था आउन दिनु हुदैन ।

यसमा प्रष्ट वर्गियता झल्कीन्छ । संकटको वेला अभिभावकत्व प्रदान गर्न राज्य व्यवस्था यस कारण पनि जरुरी छ । यति मात्र होइन देश भित्रको अध्यागमन निकै कष्ट साध्य छ । कोरोनाको व्यापार गर्दै कोही पनि हिडेको छैन होलानी ! हो भने पहिचाहन र उचित ढंगले नियन्त्रण गर्नु पर्दछ । विशेष कामका लागि सहज वातवरण वनाउनु पर्दछ । आजको नागरिक १६ औं सताव्दीको जस्तो छैन भन्ने कुरा वुझनु पर्दछ ।

३, कोरोना भाइरसको प्रकोपको त्रासमा नीजि हस्पिटल वन्द हुनु, विभिन्न प्रकारका अन्य दिर्घरोगी, दुर्घटनामा परेका विरामीले उपचार नपाउनु, सुत्केरी अवस्थामा पनि स्वास्थ्य सेवा प्राप्त गर्न नसक्ने अवस्था सृजना हुनु अझै गम्भीर विषय हो । स्वास्थ्य क्षेत्रका विशाल वजार जो जनतालाई लुटन मात्र जानेका छन । विपदको वेला साथ दिदैनन भन्ने जनगुनासो निकै वढिरहेको छ । स्वास्थ्य, शिक्षा, रोजगार, गासँ र वास राज्यको दायित्व हो । नागरिकहरुको हक हो । त्यो त जनताको राज्य व्यवस्थामा हुन्छ । दलालहरुको राज्य व्यवस्थामा होइन ।

निजी क्षेत्रमा क्रियाशिल स्वास्थ्य क्षेत्रलाई नियमन, नियन्त्रण, राष्ट्रियकरणको आवाज उठीरहेको छ । तर राज्यलाई कमीसन भए पुग्दछ । यिनकै लगानीमा ति स्वास्थ्य क्षेत्रका विशाल वजार छन । संकटका वेला जनतालाई साथ नदिने स्वास्थ्य क्षेत्रका माफियाहरुलाई जनस्तर वाटै सशक्त कार्वाही गर्नु पर्ने जनस्तर वाट माग आइरहको छ । निश्चित कलष्टरमा हेल्थ डेस्कको स्थापना, जो औषधि उपकरण, दक्ष जनसक्ति सहितको यथाशिघ्र व्यवस्थापन गर्नु पर्दछ । नत्र भने स्थितिले अझै भयावह रुप लिन सक्दछ ।

४, राज्यले सुखी नेपाली समृद्ध नेपाल, आर्थिक क्रान्तिको नारा दिइरहेको छ । आजको लकडाउनको अवस्थामा जनता रोगले भन्दा पहिले भोकमरीले मर्ने अवस्था आउदैछ । दैनिक ज्यालादारी काम गर्ने मजदुर, सुकुम्वासी, भूकम्प पीडित, गरिव किसानहरुको वेलैमा उपयुक्त व्यवस्थापन गर्नु पर्दछ । थोरै पैसा हुनेले पनि किन्न सक्ने अवस्था छैन । राज्यले केही सुविधा सम्पन्न ठाउँ वाहेक अन्य क्षेत्रमा केही व्यवस्थापन गर्न सकिरहेको छैन । नुन, तेल, खाद्यान्न, तरकारी, ग्यास औषधि लगायतको हाकाहारी अवस्थाको सृजना हुदैछ ।

उपयुक्त ढंगले सप्लाई र वितरणको प्रवन्ध मिलाउन जरुरी छ । यतिवेलै कालो वजारी, तष्करी भित्र भित्रै मौलाउदैछ । पहुचवालाको सेटिङ्गमा कमिसनको खेल चल्दैछ । यस्तो अवस्थामा नागरिकहरुकै पहलमा गोदाम फोड अभियान चलाउनु पर्ने हुन सक्दछ । कालो वजारीलाई नियन्त्रणको प्रभावकारी कदम उठाउन जरुरी छ । कार्वाही गर्नु पर्दछ ।

५, आज नागरिकहरुमा निकै ठुलो तनाव र चिन्ताको अवस्था सृजना भएको छ । भोकले मरिने होकि रोगले भन्ने त्रास छ । आवश्यकता भन्दा वढी अनावश्यक गलत र भ्रमात्मक प्रचारलाई पनि प्रभावकारी रुपमा नियन्त्रण गर्नु पर्दछ । सहयोगी हातहरु मिलेर काम गर्नु पर्दछ । उच्च मनोवल, शाहस र विवेकले सवै प्रकारको चुनौति सामना गर्न हिक्मत गर्नु पर्दछ ।

६, दलाल पुजीवादी विशेषता भनेको नातावाद कृपावाद लगायत संकिण गुटगत समस्याबाट ग्रसित विशेषता हो । कोरोना महामारीको प्रकोप कुनै जाति, वर्ग, समुदाय र पार्टी विषेश हुने होइन । साथै लकडाउनको प्रतिकुल प्रभाव सबै क्षेत्रमा परेको छ । राहत वितरण, स्वस्थ्य उपचार, दैनिक आवश्यकताको परिपर्ति र आवागमन लगायतको क्षेत्रमा निकै पक्षपात, नातावाद, कृपावाद र पार्टीवाद हावि भएको चर्को जनगुनासो आईरहेको छ ।

विभिन्न क्षेत्रबाट आउने जनगुनासो समस्याको विशिष्टीकरण गरि अति विपन्न समस्या ग्रस्त तल्लो वर्गलाई प्रमुख प्राथमिकतामा राखी काम गर्नु पर्दछ । यस्तो गम्भीर अवस्थामा विभिन्न ढंगले भेदभाव गर्ने जनताको जिवनमा परेको संकट माथि थप ब्रजपात गर्ने जुनसुकै प्रबृत्ति र पात्र माथि यथाशीघ्र नियन्त्रण र कार्वाही गर्नुपर्दछ । जसका लागि हाम्रो पार्टीले सुष्म अध्यान निगरानी र आवश्यकताअनुसार जनअनुमोदीत कार्वाहीको प्रक्रिया अवलम्बन गर्नुपर्दछ ।

अन्तमा विश्वभरी विशेषतः हाम्रो देशमा २ खाले भाइरसको प्रकोपले चर्को रुप लिइरहेको छ । राज्य प्रणाली र शासन शक्तिमा देखिएको राजनैतिक शक्ति भित्रको भाइरसलाई एकीकृत जनक्रान्तिको माध्यमवाट वैज्ञानिक समाज स्थापना गरी समाधान गर्नु पर्दछ । राजनीतिक भाइरस यो सवै भन्दा वढी विनासकारी भाइरस हो । यो दिर्घकालिन खालको छ । दोस्रो भाइरस सापेक्षिक छ जो अग्रमोर्चामा लडिरहेका देशको अनुभव, स्वास्थ्य विज्ञानको शाहरा लिदै आ–आफ्नो क्षेत्रमा सर्तकता पूर्व तयारी शाहसका साथ लड्नु पर्ने हाम्रो वाध्यकारी अवस्था छ  ।

जनता ,राष्ट्र र न्यायको पक्षमा लडिरहेको हाम्रो पार्टी माथि दलाल सत्ताले लामो समय देखि प्रतिवन्ध लगाएपछि क्रान्तिकारी परिवर्तनप्रेमी, देशभक्त शक्ति लक डाउनमा वस्न वाध्य वनाएको छ । सयौ योद्धा दुश्मनको कालकोठरीको कोरन्टाइनमा छन । हजारौ योद्धाहरु जनताको घरमा दलाल सत्ताको लक डाउन र कोरोना भाइरसको कोरेन्टाइनमा वस्नु पर्ने वाध्यता छ ।

यो स्थितिमा पनि पार्टीले जनचेतना, जनश्रम, र जनसेवा संग सम्वन्धित तमाम कामहरु गरिरहेको छ । अवको मोर्चा कोरोना भाइरसको अन्त मात्र होईन समाजिक फासीवादी दलाल सत्ताले लगाएको लकडाउन दलाल सत्ताको अन्त्य र विजयको मोर्चामा वदल्नु पर्दछ । आजको संकटलाई समग्र राष्ट्र र कोरोना भाइरस वाट निकास र समाधानमा वदल्नु पर्दछ ।

(लेखक एटम वि.सि. नेकपा नेता हुन)

प्रतिक्रिया दिनुहोस