कर्णालीमा ५०३ परीक्षणमा ३८१ जना संक्रमित


२४ वैशाख, सुर्खेत । शुक्रबार कर्णाली प्रदेशमा ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५०३ जनामा गरिएको पीसीआर परीक्षणमा ३८१ जनामा संक्रमण पुष्टि भएको हो ।

अहिले कर्णालीका सबै जिल्लामा निषेधाज्ञा जारी छ । तर, निषेधाज्ञाको अवधिमा पनि संक्रमण दर उच्च देखिएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो एक सातायता मात्र प्रदेशमा दुई हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । अहिले सबैभन्दा बढी संक्रमित सुर्खेतमा छन् । दैलेख, सल्यान, जाजरकोट र रुकुम–पश्चिममा पनि संक्रमितको संख्या धेरै छ । शुक्रबारसम्म प्रदेशभर ३२ सय ४७ सक्रिय संक्रमित छन् ।

तीमध्ये सुर्खेतका मात्रै १७ सय ९६ जना रहेका छन् ।शुक्रबार सुर्खेतमा थप २७३ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

प्रदेश अस्पतालमा हालसम्म ८२ जना कोरोनाका संक्रमित उपचाररत रहेको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिनु भयो । जसमध्ये १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्ला दिनहरूमा कोराना संक्रमितमा गम्भीर प्रकृतिका लक्षणहरू देखिन थालेको उनी बताउँछन् । सिकिस्त बिरामीहरूको संख्या बढ्दै जाँदा अस्पतालहरूमा उपचार व्यवस्थापनमा समेत समस्या देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस