कैलाली र कञ्चनपुरमा भिषण हावाहुरी, दुईजनाको मृत्यु, ७६ जना घाइते

जेठ २४, कैलाली । बिहीबार साँझ आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार गोदावरी नगरपालिकामा एक जना र टीकापुर नगरपालिकामा एक जना गरी दुईजनाको मृत्यु भएको हो ।

हावाहुरीका कारण अहिलेसम्म ६७ जना घाइते भएका छन् । गम्भीर रहेका चारजनालाई उपचारका लागि भारत पठाइएको एसपी गिरीले बताए ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका २ का लहानु डंगौरा रहेका छन् । चौधरीको हावाहुरीका बेला मोटरसाइकल चलाउने क्रममा टिपरमा ठोक्किँदा मृत्यु भएको हो भने डंगौराको कुखुरा फार्ममा रहेको पर्खाल भत्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

क्षतिको थप विवरण संकलन भइरहेको एसपी गिरीले बताए । अहिले हावाहुरी रोकिएको छ । विद्युत भने अवरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस