ओलीको प्रस्ताव जालझेल,अन्योल,भ्रम र दुराशय ः माधवसमुह


२४ जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको ६बुँदे प्रस्तावमा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिएको बताएको छ ।

यो समूहले संसद विघटन फिर्ता भए मात्र सर्वोच्च अदालतमा दायर रिटमा भएको हस्ताक्षर फिर्ता लिने प्रष्ट पारेको छ ।
प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टी एकताका निम्ति आह्वान गर्दै ६ बुँदे प्रस्ताव अघि सार्नु भएको छ ।

जसमा एमालेलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अगाडि बढाउने र सर्वोच्चको रिटमा प्रयोग भएको एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने उल्लेख छ ।

अध्यक्ष ओलीको प्रस्तावबारे सोमबार आफ्नो समूहका स्थायी कमिटी सदस्यहरुसँग परामर्श गर्नु भएका नेता माधव नेपालले साँझ वक्तव्य मार्फत औपचारिक धारणा सार्वजनिक गर्नु भएको छ ।

उहाँको वक्तव्यमा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिएको नेता नेपालले वताउनु भएको छ ।
नेता नेपालले पार्टी अध्यक्ष ओलीमाथि थुप्रै प्रश्न उठाउनु भएको छ । अध्यक्ष ओलीको वक्तव्यको आरम्भमै ‘पार्टी एकताको महत्व र खाँचोलाई गहिरो गरी बुझेको’ उल्लेख भएको भन्दै नेता नेपालले भन्नु भएको छ , यस्तो बुझाइ रहेको भए हामीले चैत २ गते र त्यसपछि अनेक पटक २०७५ साल जेठ २ गतेको अवस्थामा क्रियाशील बनाऔं भनी अगाडि सारेको उचित प्रस्ताव उहाँबाट अस्वीकृत हुने थिएन होला । हाम्रो निरन्तरको चाहना बमोजिमको पार्टी एकतामाथि कुठाराघात हुनेथिएन होला ।’
एमाले र माओवादी केन्द्रको पार्टी एकता सर्वोच्च अदालतको फैसलाबाट नभई प्रचण्डका कारण भएको अध्यक्ष ओलीको तर्कलाई पनि उहाले अस्वीकार गर्नु भएको छ । ‘यदि त्यसो हो भने पार्टी अध्यक्ष रहनुभएका केपी ओलीद्वारा पार्टीको विधिवत् बैठक बोलाएर नेकपा (माओवादी केन्द्र) सँगको एकीकरणको विषयमा के गर्ने भन्ने छलफल किन नगराएको त ? के यति गम्भीर विषय कुनै दुई जनाको मात्र सरोकार र कुराकानीको विषय हुनसक्छ ?’

अध्यक्ष ओलीको पत्रमा पार्टी एकताका आधार, सिद्धान्त र नीति, मूल्य र मान्यताहरु भएको उल्लेख रहेको भन्दै नेता नेपालले त्यसमा पनि प्रश्न उठाउनु भएको छ । ‘यस्तो स्वीकारोक्ति यथार्थ हो भने फागुन २८ गते र तत्पश्चात् पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र निर्णय, पारित विधान, नियमावली र आचारसंहिता विपरीत गरिएका निर्णयहरु एकमुष्ट खारेज गरिएको वक्तव्यमा किन आएन ?’ नेता नेपालले वक्तव्यमा भन्नु भएको छ ।

अध्यक्ष ओलीबाट पार्टी विधान विपरीत गुटबन्दी भएपछि पार्टीमा समस्या आएको नेपाल समूहले बताएको छ । आफूहरु शुरुदेखि नै एकताको पक्षमा रहेको तर ओलीले नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, नीति र कार्यदिशा छाड्नुका साथै पार्टी विधानको उल्लंघन गरेकाले समस्या भएको यो समूहको आरोप छ ।

केपी ओलीले पार्टीमा देखिएका समस्या समाधान हुन नसक्ने कारण नभएको भन्दै एक ठाउँमा उभिनुपर्ने र सबैले एकताको लक्ष्य राखेर सकारात्मक योगदान गर्नुपर्ने जोड दिनु भएको छ । उहाले पार्टीको समस्या समाधानका लागि ६ बुँदे प्रस्ताव समेत अघि सार्नु भएको छ ।

ओलीको प्रस्ताव ः नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीको संरचना गतिशील हुनेछन् ।

नेपाल समूहले यो प्रस्ताव पार्टी एकता हासिल गर्नेभन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित देखिएको नेपाल समूहले बताएको छ । पार्टीमा समग्र रुपमा २०७५ जेठ २ गते पूर्वको स्थिति कायम हुनुपर्छ भन्नुपर्नेमा ३ गते पूर्व भन्दै अल्मल्याउने भाषा प्रयोग भएको नेता नेपालले बताउनु भएको छ ।

वक्तव्यको पूर्णपाठ

Press-statement-SC-78-2-24 (1)

 

प्रतिक्रिया दिनुहोस