२२ साउन, जाजरकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जाजरकोटका सेक्रेटरी विराजन सी १ लाख ५० हजार धरौटीमा रिहाई हुनु भएको छ ।
गैरकानुनी रुपमा पक्राउ गरि अपराध उपद्रवको मुद्धा लगाईएका सेक्रेटरी विराजनलाई जिल्ला अदालत जाजरकोटले बुधवार १ लाख ५० हजार धरौटीमा रिहाई गर्ने आदेश दिएको हो ।
प्रहरीले गत असार २७ गते गैरकानुनी रुपमा पक्राउ गरी विराजन विरुद्ध अपराध उपद्रवको मुद्धा लगाएको थियो ।
उहाँलाई अदालतको आदेशमा २६ दिनपछि रिहाई गरिएको नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य खडक सिंहले जानकारी दिनु भयो ।
डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमर प्रसाद शाहबाट खुलेआम पदिय मर्यादा र दायित्वको खिल्ली उडाउदै प्रशासनिक अराजकता मच्चाउदै भ्रष्टाचारजन्य गतिविधी गरेको आरोपमा नेकपा निकट युवा संगठन नेपालले असार २२ गते कार्वाही गरेको थियो ।
सोही विषयलाई लिएर प्रहरी प्रशासनले नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जाजरकोट जिल्ला सेक्रेटरी समेत रहनु भएका नेता विराजन सीलाई पार्टी कामको शिलशिलामा रहेका बेला नलगाड नगरपालिका वडा नं १० बाट गैरकानुनी रुपमा पक्राउ गरिएको थियो ।
नेकपा जाजरकोट जिल्ला इन्चार्ज केवि मल्लले विज्ञप्ति जारी गरी गैर कानुनी रुपमा पक्राउ गरेको घटनाप्रति घोर आपत्ति जनाउदै तत्काल रिहाईको माग समेत गर्नु भएको थियो । प्रहरी प्रशासनको गैरकानुनी पक्राउ विरुद्ध चौतिर्फ विरोध समेत भएको थियो ।
तर पनि राजनीति पुर्वाग्रहका आधारमा झुट्टा मुद्दा लगाई करिव २६ दिनपछि धरौटीमा रिहाई गरिएको छ ।
प्रहरी प्रशासनले हिरासतमा रहदा विराजनमाथि चरम मानसिक तथा शारिरिक यातना दिएको र यो मानवअधिकारको गम्भीर उल्लंघन भएको नेकपाले दाबी गरेको छ । बुधवार रिहाई भएका नेता विराजनलाई नेकपाले खुल्ला आकासमा स्वागत समेत गरेको छ ।