चिनियाँ राष्ट्रपतिको भ्रमणमा कर्णालीको अपेक्षा

असाेज २०, सुर्खेत । कर्णाली प्रदेश सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका अवसरमा दुई मुलुकबीच हुने समझदारीमा कर्णालीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएको छ ।

छिमेकी मुलुक चीनसँग मात्र सीमा जोडिएको कर्णालीले द्विपक्षीय समझदारीमा बढी लाभ आफूले पाउनुपर्ने भन्दै प्रदेश सरकारले यसका लागि उच्चस्तरीय ‘लबिइङ’ शुरु गरिसकेको छ ।

राष्ट्रपति सी भ्रमणका क्रममा विकास निर्माणसँग सम्बन्धित विषयले प्राथमिकता पाउने अवस्था सिर्जना भएमा कर्णाली सरकारले ‘लाइफलाइन’ का रुपमा अघि बढाउन खोजेको ‘सुर्खेत–हिल्सा दु्रतमार्ग’लाई समेट्न सङ्घीय सरकारसमक्ष प्रस्ताव गरेको हो ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले चिनियाँ राष्ट्रपति सीको भ्रमणका अवसरमा सुर्खेत–हिल्सा सडक र फुकोट कर्णाली जलविद्युत् आयोजनालाई समेट्न अनुरोध गरेको जानकारी दिनु भयो । कर्णालीको विकासका लागि उत्तरी छिमेकी मुलुक चीनसँग सहज यातायात सम्पर्क विस्तार गर्नुको विकल्प नभएको उहाँको भनाइ थियो ।

चीन सरकारको स्वामित्वमा रहेको चाइना रेलवे इन्जिनीयरिङ इयुआन कम्पनी ९सिआरइसीले १० महीना लगाएर यस सडकको विस्तृत सम्भाव्यता अध्ययन पनि गरिसकेको छ । अध्ययनअनुसार ४०३ किलोमिटर दूरी रहेको सुर्खेत–हिल्सा सडक निर्माणका लागि रु ६४ अर्ब लागत तथा कम्तीमा ६ वर्षको समयवधि लाग्ने अनुमान गरिएको छ । सिआरइसीले स्थलगत र हवाई माध्यमबाट सर्भे गरेको थियो । यससम्बन्धी प्रतिवेदन सिआरइसीले प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस