२१ कार्तिक, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी, प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले वृहत मोर्चाका लागि सामूहिक आह्वान गर्नु भएको छ ।
शुक्रवार तीन नेताहरुको विप्लव निवासमा भएको भेटवार्तापछि जारी एक प्रेश विज्ञप्ति मार्फत सबै प्रतिवद्ध कम्युनिष्टहरु, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुको वृहत मोर्चाका लागि सामूहिक आह्वान गरिएको हो ।
विज्ञप्तिमा भनिएको छ ’आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु आजको ज्वलन्त कार्यभार बनेको छ । राष्ट्रमाथि चौतर्फी सङ्कट आएको यस परिस्थितिमा सबै प्रतिवद्ध कम्युनिष्टहरु, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुले बृहत् मोर्चाबन्दीको लागि पहलकदमी लिनु आवश्यक भएको छ ।’
विज्ञप्तिमा ‘ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्न सकल्पवद्ध भएका छौं । र सबै प्रतिवद्ध कम्युनिष्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुसंग सार्थक संवाद, छलफल र सहकार्यको लागि आह्वान गर्दछौ’ं भनिएको छ ।
सत्तासिन नेताहरु गैरजिम्मेवार बन्दै र राजनीतिक दलहरुले खेल्नु पर्ने भूमिका कमजोर हुँदै जांदा राज्य, राजनीति, राजनीतिक दल र तिनका नेताहरु जनताबाट टाढिदै गएको भन्दै दलहरुमा सुधारका प्रयासहरु असफल हुँदै गएको दाबी गरिएको छ ।
तीन नेताको जारी विज्ञप्तिमा दलहरुले गत भदौ २३ गतेको जेन् जी आन्दोलन र २४ गते भएको विध्वंशलाई थेग्न नसकेको र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले मुलुकलाई झन् झन् अन्योलग्रस्त बनाएको उल्लेख गरिएको छ ।
‘राष्ट्रियता, लोकतन्त्र र जनताका हक अधिकार एकसाथ खतरामा परेका छन् । राष्ट्रिय जीवन असुरक्षित हुँदै गएको छ । मुलुकका पुराना राजनीतिक दलहरु, खासगरी तिनका नेताहरु पुरानै संरचना र तरिका जोडजाड गरेर सकटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व वचाउन चाहान्छन् । त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र सङ्कटतर्फ धकेल्ने कुरा निश्चित छ । पुरानै बाटो हिंडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिको पूर्णपाठ
