भारतसंग पेट्रोलियम पदार्थ खरिदको एकाधिकार तोड्नु पर्ने पूर्व मुख्य सचिव लगायतको जोड

जवसको आयोजनामा वृहत अन्तरक्रिया

२५ माघ,काठमाडौँ । सरकारका पूर्व मुख्यसचिव लिलामणी पौडेलले भारतीय आयाल कर्पोरेशन (आईओसी) सँग भएको पेट्रोलियम पदार्थ खरिदको एकाधिकार तोड्नुपर्ने बताउनु भएको छ ।

विप्लव नेतृत्वको नेकपा निकट जनवर्गीय संगठनहरुको संयुक्त मोर्चाले मंगलवार राजधानिमा आयोजना गरेको ‘पेट्रोलियम पदार्थमा भैरहेको मृल्यवृद्धि, समस्या र निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले भारतीय कम्पनीसँगको एकाधिकार तोडेर अरु कम्पनीहरुसँग पनि पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने बताउनु भयो ।

नेकपाका केन्द्रीय सदस्य तथा जवस मोर्चाका प्रमुख चिरण पुन मिलनले प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणी गर्दै उहाँले भारतसँगको एकाधिकार तोड्न आफूले गरेका प्रयासहरु बारम्बार असफल भएको बताउनु भयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली परराष्ट्रमन्त्री हुँदा मैले आईओसीसँगको एकाधिकार तोड्नका लागि पहल गरेको थिएँ । त्यतिबेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवका कारण सफल हुन सकेन ।’ अध्यक्ष ओलीको चरित्रको बयान गर्दै उहाँले भन्नु भयो ‘उहाँले विकल्प खोज्ने प्रयास गर्नुभयो तर पछि के भयो मलाई पनि थाहा छैन ।’ उहाँको आशय भारतीय पक्षको दबाबका कारण ओली पछि हटेको भन्ने थियो ।
उहाँले आफूले चीनसँग पेट्रोलियम पदार्थ खरिद गर्नका लागि सुझाव दिएको भएपनि त्यो कार्यान्वयन नभएको बताउनु भयो । चीनका लागि नेपाली राजदूत समेत भइसकेका पौडेलले आफूले भनेको कुरा भारतले २०७२ सालमा लगाएको नाकाबन्दीमा प्रमाणित भएको भन्दै त्यसपछि ओलीले चीनसँग बाध्यभएर सम्झौता गरेको बताउनु भयो ।

‘म सहसचिव हुँदा उहाँ परराष्ट्रमन्त्री हुनुहुन्थ्यो । उहाँलाई मैले भारतसँगको एकाधिकार तोडेर नेपाली जनतालाई सस्तोमा पेट्रोलियम पदार्थ खरिद गर्नका लागि सुझाव दिएको थिएँ । उहाँले सुनेको नसुन्यै गर्नु भयो वा कसैको प्रभावमा पर्नुभयो ।’ उहाँले भन्न ु भयो , ‘२०७२ सालमा पनि चीनसँग पारवहान सम्झौता भयो । तर त्यो पनि कार्यान्वयन हुन पाएन ।’

राजनीतिक नेतृत्वका कारण अहिले मूल्यबृद्धिको मारमा जनता परेको भन्दै उहाँले भन्नु भयो ‘आयल निगममा पेट्रोलियम पदार्थ ढुवानीमा ठूलो भ्रष्टाचार हुने गरेको छ । पेट्रोल पम्पका संचालक र ट्याङकरका साहुबाट उठाएर आयाल निगमका कर्मचारीले नेताहरुको घरघरमा त्यो रकम पुर्याउँछ । नेताहरु भ्रष्ट भएपछि कसको के लाग्यो ?’

कार्यक्रममा बोल्दै अर्थराजनीतिक विश्लेषक हरि रोकाले पेट्रोलियम पदार्थ खरिद गर्दा कच्चा तेल खरिद गर्नुपर्ने बताउनु भयो । ‘कच्चा तेलबाट विभिन्न खालका वस्तुहरु तयार हुन्छ । त्यो खरिद गर्दा हामीलाई दोहोरो फाइदा हुन्छ ।’ उहाँले भन्नु भयो ‘अहिले हामीलाई भारतले प्युरिफाइ गरेर पेट्रोल डिजेल पठाउने गरेको छ । ’

उहाँले भारत सरकारले पेट्रोलियम पदार्थ विक्री गर्दा नेपालबाट दोहोरो भन्सार शुल्क लिने गरेको बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आयल निगमका डेपुटी प्रबन्ध निर्देशक नगेन्द्र शाहले नेपाल आयल निगम अहिले पनि घाटामा रहेको बताउनु भयो । नेपाल सरकारले विभिन्न कर लगाएका कारण पेट्रोलियम पदार्थ महङ्गो भएको भन्दै संसदमा प्रस्तुत हुने बजेटमार्फत करको दर घटाउँदा मात्र पेट्रोलियम पदार्थको मूल्य घट्ने जानकारी दिनु भयो ।

‘हामीले भारतीय आयल निगमसँग पेट्रोल ८४।३२ पैसामा खरिद गछौंँ ।’ उहाँले भन्नु भयो , ‘त्यसमा सरकारले विभिन्न करमार्फत ५८ रुपैयाँ उठाउने गर्दछ, आयल निगमले ६० पैसा अप्रेशन चार्ज काट्छ, ढुवानी र डिलरहरुको मिसन गरेर एक सय ५५ रुपैयाँ कस्ट पर्छ । त्यसमा हामीले १४२ रुपैयाँमा विक्री गछौँ । आयल निगमलाई १३ रुपैयाँभन्दा धेरै घाटा छ ।’

प्रतिक्रिया दिनुहोस