चैत्र २६ ऐतिहाँसिक महिला प्रतिरोध र शिक्षा

भूमिका
जहाँ मानव समाज हुन्छ, त्यहाँ वर्ग हुन्छ, जहाँ वर्ग हुन्छ, त्यहाँ वर्गिय शोषण, असमानता र वर्गीय उत्पीडन हुन्छ । वर्गीय उत्पीडनले वर्ग संघर्षको जन्म गराउदछ । वर्ग संघर्षले मात्र वर्गीय उत्पीडन वाट हुने सवै खाले विभेदको अन्तका लागि ढोका खोलिदिन्छ । यो समाज विकासको सामान्य तथा सार्वभौम माक्र्सवादी मान्यता हो । सवै भन्दा उपेक्षित, उत्पीडित वर्गले आफ्नो मुक्तिको मालेमावादी हतियार प्राप्त गर्यो भने त्यही वर्ग वहादुर अग्रगामी, क्रान्तिकारी वर्गमा रुपान्तरित हुन्छ ।

अर्धसामान्ती, अर्धऔपनिवेशिक उत्पीडनमा परेको नेपाल र नेपाली जनतालाई मुक्त गर्नु जनताको नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्न थालिएको महान जनयुद्धको ऐतिहासिक प्रभावमा सिङ्गो उत्पीडित वर्ग स–गौरव सहभागी भइरहेको अवस्था थियो । केन्द्रीकृत सामान्तवाद वाट भौगोलिक उत्पीडनमा पारीएको सिङ्गो कर्णाली प्रदेशको कान्छो जिल्लाको रुपमा चिनिएको कालिकोट विशेषतः वर्गिय राजनीति, आर्थिक, सामाजिक र साँस्कृतिक भेदभाव शोषण दमन र उत्पीडनको शिकार वनाइएको दलित समुदाय र दोस्रो दर्जाको नागरिकका रुपमा अपहेलीत भएको महिला जो सामान्ती पुरुष प्रधान समाजको अत्याचारको वन्धनमा वाँधिएको थियो । तिनै माल्कोटवासी दलित वहादुर महिलाहरु द्धारा जनयुद्धकै इतिहाँसमा सवभन्दा पहिलो ऐतिहासिक शाहसिक प्रतिरोधको आवाज वुलन्द कालीकोटको माल्कोटको विथल डाँडामा भएको थियो ।

विस २०५४ साल चैत्र २६ गते एक करिश्मामय युगान्तकारी महिला प्रतिरोधको दिन रगतले इतिहाँस लेखिएको दिन थियो । जो युगौ युग सम्म वाचिरहने छ । यहि युगान्तकारी महिला विद्रोहको विरताको इतिहासँलाई एकीकृत जनक्रान्तिको मर्म संग जोड्न विरता र वलिदानको गौरवपूर्ण मार्गलाई उच्च कदर गदै आगामी क्रान्तिमा त्यसवाट लिनु पर्ने शिक्षालाई क्रान्तिको उर्जाको रुपमा पक्रिन त्यो ऐतिहासिक दिनको उच्च मुल्याङकन तथा स्मरणः गर्नु एक क्रान्तिकारी सिपाईको कर्तव्य रहन जान्छ । त्यही क्रान्तिकारी विरगाथाको चर्चा गर्न सान्दर्भिक ठान्दछु ।

दमित आत्माहरुको विष्फोट

तल्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) ले नेपालमा सामान्ती राज्यव्यवस्थाको समुल अन्त्य गर्दै जनताको जनवादी राज्य व्यवस्थाको स्थापना गर्न अर्धऔपनिवेशिक, अर्धसामन्ती अविकसित देशमा दिर्घकालीन जनयुद्धको माध्यमवाट नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि महान जनयुद्धको थालनी गरेको ठिक २ वर्ष पुरा हुदै थियो । जनयुद्धको कार्यदिशा गाँउवाट शहर घर्ने रणनीतिमा आधारित थियो । महान जनयुद्धको तयारी थालनी देखि गाँउ केन्द्रीत गतिविधि भइरहेका थिए । ग्रामीण वर्ग संघर्षका विविध रुपहरु मार्फत स्थानीय सुदखोर सामान्त, जाली फटाहाका विरुद्धमा धावा वोल्दै जनतामा राजनैतिक प्रचार, संगठन निमार्ण लगायतका शसस्त्रीकरणका कार्यक्रमहरु वढीरहेका थिए ।

महान जनयुद्धमा नेपाली उत्पीडित जनसमुदायमा सकरात्मक उर्जा आशा सहितको सहभागीता वढीरहेको थियो । दुश्मनको लुटको स्वर्गमा भूइचालो आउदै थियो । त्यही क्रमसंगै राज्यवाट सौतेनी व्यवहार गरिएको भौगोलिक रुपमा उत्पीडनमा पारिएको कर्णाली प्रदेशका जनसमुदायको सहभागीता वढदै थियो । कालीकोट जिल्लाको माल्कोट गाविस जहाँ दलित समुदायको वाहुल्यता छ ।

त्यहाँका दलित समुदायलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले सवै खाले उत्पीडन वाट मुक्त हुन विद्रोह गर्नु जनताको अधिकार हो । राज्यसत्ता वाहेक सवै भ्रम हो । नखोसे अधिकार पाइदैन सवै खाले अत्याचारको वन्धन तोडन जनयुद्ध उत्तम विकल्प हो । भन्ने मान्यतामा दर्हो ढंगले प्रशिक्षित र संगठित गरेको थियो । सोही क्रमसंगै सामान्ती राज्य व्यवस्थाका स्थानीय मतियार र रक्षक प्रहरी द्धारा जनदमनको श्रंखला भुट्टा मुद्धा, धरपकड, जालजेल, गिरफ्तारी, खानतलासी लगायतको दमनचक्र जारी थियो ।

सोही क्रममा २०५४ साल चैत्र २६ गते विहान ११ वजेको समय थियो । कुमालगाँउ इलाका प्रहरी कार्यालय वाट सामान्ती सत्ताका भाडाका सिपाईहरु गस्ती खानतलासी गर्दै माओवादी खोज्दै जनदमनका लागि माल्कोट विथलडाँडाको प्याउकली विश्वकर्माको घरमा पुग्दछन । जंगीदै घरमा को छ ? आतंककारी छन कि ! भन्दै ढोका फोडन थाले । घर खानतलासी प्रकृया अघि वढाए ।

घरमा आतंकित पार्दै ए रण्डी ! माओवादी पाल्छस, खाना दिन्छस भन्दै वुढी आमालाई हप्काउने काम गरे । घरमा खान तलासी गर्दा अरु केही भेटिएन, गाँउको कामकै लागि राखिएको एउटा हाते माइक फेला पर्यो । माइक घरकै हो भन्दै आमाले समात्न पुग्नु भयो । यो माओवादीको हो । आतंककारी पाल्छ रे ! भन्दै गालि गर्दै लछार पछार गर्न पुग्यो । स्थिति चर्को हुदै जाँदा हत्यारा दानवहरुले एक्कासी आमाको टाउकोमा ताकी गोलि प्रहार गरे । गोलीले वुढी आमा प्याउकली विकको निधार छेड्दै वाहिर गयो । आमा मुर्छापरी ढलिन, घर आगन रक्तामे भयो । गाँउघरमा रुवावासी र हल्ला खल्ली भयो ।

त्यसपछि गाउँका सवै महिला दिदी वहिनी, केटाकेटी, वुढावुढी त्यस्तो अवस्था देखेपछि आक्रोशित हुदै ढुङ्गा, मुडा, लाट्ठी, हसियाँ, वन्चरो, भाला खुकुरी लिएर विना कारण गरिएको दमनको चर्को प्रतिवाद गर्दै हत्यारा प्रहरी माथि घेराहाल्दै असिना झै वर्सिए । जनताको आक्रोशको सिमा थिएन । शाहासिक वहादुर महिलाहरु शसक्त प्रतिवादमा उत्रिएपछि दोहोरो भिडन्त भयो । सो क्रममा हत्याराहरुले निहत्था, निर्दोश महिला माथि अन्धाधुन्ध दर्जनौ राउण्ड गोली वर्सायो । प्रतिरोधमा सहभागी थप ४ जना क्रान्तिकारी महिलाहरु पुना विश्वकर्मा, मंगला विश्वकर्मा, विजा विश्वकर्मा र गोरीकला विश्वकर्मा गम्भीर घाईते भए ।

त्यो अवस्था देखेपछि झनै आक्रोशित माल्कोटवासी जनताले घाईते वाघसरी हत्याराहरु माथि आक्रमण सुरु गरे । माल्कोट विथलडाँडा युद्ध मैदानमा परिणत भयो । निशस्त्र जनताले शशस्त्र हतियारधारी संग शशक्त प्रतिवाद जारी राखे । दुश्मन आतंकित हुदै भाग्ने तिर गयो । जनताले दसैंको राँगो लखेटाई गर्न पुग्यो । दुश्मन रहगाड हुदै कोटवाडा तिर भाग्न थाल्यो । जनता जागे भने घमण्डी पहाडहरु पनि झुक्छन भने झै जनताले छोड्ने कुरै आएन । उता कोटवाडा वाट पनि जनताले भागीरहेका दुश्मनलाई घेरावन्दी गरिरहेका थिए । थप कुमालगाँउ,लालु वाट पनि सयौ जनता दुश्मन संग वदला लिन रहगाड र कोटवाडामा जम्मा भए ।

जनआक्रमक प्रतिरोध वाट निकै आतंकित भएको दुश्मन कोटवाडाको अमनाको भिर पाखोमा भएको ओडारमा स्याल झै गरी लुक्न पुग्यो । जनताले नजिकै वाट घेरा कस्दै गए । वदला भावले ओतप्रोत वहादुर जनताले गालि गलौज देखि आक्रमण जारी राखे । अनाहक गाँउलाई युद्ध स्थलमा परिणत गर्ने निर्दोश निहत्या जनतालाई गोलिको शिकार वनाउने हत्याराहरुलाई जनताले ओडारमै खर र पराल लगि दुम्सी पोले झै खरमा आगो लगाउदै ओडार भित्रै कैद गरे । घण्टौ सम्म भएको जनसंघर्षको ज्वाला आगोको रापमा वदलियो ।

हत्याराहरुले ओडार भित्रै वाट एक्कासी फायरिङ्ग गर्दा कोटवाडा निवासी काली वहादुर विकको छातिमा गोली लाग्यो । उहाँले विरगति प्राप्त गर्नु भयो । आक्रोसित जनताले ओडारमा ३ जना हत्यारा प्रहरीलाई भष्म पारे । एकथान राइफल र गोलीहरु कव्जा गर्न सफल भए । वाँकी प्रहरी कता वेपत्ता भए पत्तो भएन । घटना सुन्दा हेर्दा जति वयान गर्दा पनि नपुग हुन्छ जस्तो लाग्छ । माल्कोटी दलित महिला र जनसमुदायले शाहसिक, विरतापूर्ण ऐतिहाँसिक प्रतिरोध गर्न सफल भए । जसले सिङ्गो क्रान्तिकारी लाई पे्ररणा, उर्जा र आशाको दिप प्रज्वलन गरेको छ ।

जनताका वैरी जसले इतिहाँसको प्रवाहलाई रोक्ने न्यायको आवाजलाई वन्दुकको भाषा वोल्दै दवाउने धृष्टता गर्दछन । तिनलाई खवरदारी गर्दै हाँक दिएको छ । जो विरतापूर्ण संघर्ष अजर र अमर रहने छ । जसको उद्देश्य अझै पुरा भएको छैन । प्रतिक्रान्तिकारी गद्धारहरुले धोका दिएका छन । कायरहरुले घुडा टेकेका छन । वहादुरहरु एकीकृत जनक्रान्तिमा दृढतापूर्वक लागिरहेका छन । ति महान शहिदहरुको सपना पुरा गर्न घाईते अपाङ्ग योद्धा, मुक्तिकामी, न्यायप्रमी जनसमुदायको सपना पुरा गरी छाड्ने संकल्प गरिरहेका छन ।

आगामी क्रान्तिका लागि शिक्षा

आजको सापेक्षतामा मालेमाको रक्षा, प्रयोग र विकास गर्दै अधुरो क्रान्ति पुरा गर्न एकीकृत जनक्रान्तिमा होमिएको हाम्रो पार्टीले महान जनयुद्ध,जनसंघर्षका सकरात्मक शिक्षा लिनै पर्दछ । क्रान्तिकारी पार्टी नेतृत्व र सवै जनसंगठनलाई सुदृढ विकास गर्दै, जनमुक्ति सेनाको आवश्यकताको स्तरमा गठन विस्तार आजको क्रान्तिका लागि झन अपरिहार्य वन्न गएको छ ।

विशेषतः उत्पीडित, उपेक्षित जनसमुदाय, मध्यमवर्ग, प्रतिक्रान्ति भोगीरहेको नेपाली जनता, देशभक्त शक्तिलाई शिक्षित तुल्याउने, संगठित गर्ने,र संघर्षमा सहभागी वनाउने ठोस नीति तथा कार्याक्रम नयाँ चरणमा उठाउनु पर्दछ । आज हामीले एक दुई थवाङ्ग र माल्कोट मात्र वनाएर पुग्दैन । गाउँ शहर सवैतिर विसाल जनसंगठनको घेरा तयार गर्नु पर्दछ । साथै चौतर्फि आक्रमण समग्र रुपमा सामाजिक फासिवाद र दलालहरुको विरुद्ध केन्द्रीत गर्नु आजको अनिवार्य आवश्यकत्ता वन्न गएको छ ।

– दलाल तथा सामाजिक फासिवादी शक्तिको समुल रुपले अन्त गर्ने स्पष्ट विचार, राजनीतिक सहित सुदृढ संगठन वाहेकको अर्को अचुक अस्त्र हुनै सक्दैन । आज हामीले यहि कुरामा विशेष जोडदिनु पर्दछ । साथै दुश्मन वाट हुने आकस्मीक हमलाको लागि आकस्मीक प्रतिरोध र योजनावद्ध प्रतिरोधका लागि तयारी अवस्थामा एकीकृत जनक्रान्तिका ज्यावललाई धार लगाइरहनु पर्दछ ।

अव को एकीकृत जनक्रान्तिमा यसको महत्व निकै वढेर गएको छ । ढिलाई नगरी यो मोर्चामा हिम्मत र शाहसका साथ लाग्नु पर्दछ । संगठनको रुपलाई सेनामा र संघर्षको रुपलाई समग्र युद्धमा वलल्नु पर्दछ । विथलडाँडामा भएको महिला प्रतिरोधमा हेर्दा जनताले कुशलतापूर्वक जनसंघर्षको मोर्चावद्ध शैली अपनाएर मोर्चा सम्पन्न गरेको छ । जनप्रविधिको पनि भरपूर प्रयोग भएको छ । गम्भीरतापूर्वक यो शिक्षा एकीकृत जनक्रान्तिमा जोड्नु पर्दछ ।

– रगत, पसिना र आँसुले क्रान्तिको मुल्य चुक्ता गर्न वलिदानलाई क्रान्तिको उर्जाको रुपमा लिन माल्कोटी महिला दिदी वहिनी र जनसमुदायले दृढतापूर्वक अवलम्वन गरे । शहिद भए, घाईते भए, रगत वगाए, तर पनि वदला लिई छाडे । चुनौतिमा घुडा टेक्ने, ज्यानको भिख माग्ने, पद र पैसाको स्वार्थमा लिप्त जनयुद्धको उपलव्धीलाई लिलाममा विक्रि गर्न प्रतिक्रान्तिकारी गद्धारहरुलाई माल्कोटवासी दिदि वहिनीहरुले मुखै भरीको जवाफ दिएका छन ।

सचेत जनता इतिहाँसका निर्माता हुन भन्ने कुरा पुष्टि गरेका छन । जनता उठे भने जनसंगठन द्धारा प्रतिवाद भयो भने प्रतिक्रियावादीहरुका हतियार प्रविधि निश्काममा परिणत हुने कुरा पुष्टि गरेका छन । यो शिक्षालाई हामीले गम्भीरतापूर्वक लिनु पर्दछ । साथै वास्तविक जीवन र वलिदानीको उच्चतालाई नयाँ ढंगले कृतिमानी कायम गरेका छन । एकीकृत जनक्रान्तिमा रहेको हाम्रो पार्टीलाई २५ औं जनयुद्ध दिवश र शहिद सप्ताहमा शहिद परिवारले भनेको कुरा विशेष स्मरण योग्य छ ।

“जेल जानु, नेल खानु, पर्दा वलिदानी गर्नु तर प्रचण्डको जस्तै जुत्ता नखानु हामी तिम्रो साथमा छौ” यो सन्देश नेतृत्व सम्म पुर्याइ दिनु भन्नु भएको कुरा कम मार्मिक सन्देश होइन । यो सामान्य जिम्मेवारीको अभिव्यक्ति पनि होइन । यसको उच्च मुल्यवोध गर्न हाम्रो पार्टी प्रतिवद्ध छ । प्रतिक्रान्तिका मतियार जनयुद्धका उपलव्धीलाई कौडिको भाउमा विक्रि गर्ने नवदलालहरुलाई क्रान्ति र शहिदको सपना, जनता विर्सिदा के हुन्छ ? भन्ने चुनौति दिएका छन । यो हाम्रो पार्टीका लागि निकै ओजदार शिक्षा र सन्देश हो ।

– जुन वेला पार्टी संग जनप्रविधि वाहेक अरु केही थिएन । त्यही वेला माल्कोटवासी महिला समग्रमा भन्दा त्यो क्षेत्रका जनताले आधुनिक हतियार राइफल र गोली कव्जा गरी पार्टीलाई वुझाउन सफल भए । धन्य छ ती वहादुर महिला तथा क्रान्तिकारी जनसमुदायलाई । पार्टीले पनि तत्काल नगरेको शाहसिक कार्य गरे जसको जगमा पार्टीले आफुलाई शशस्त्र पार्दै लगेको थियो । आजका नवदलालले जनतालाई निशस्त्र पार्न विगत जनयुद्धमा कव्जा गरिएका हतियार र प्रविधि लिलाममा विक्रि गरी खाने, दुस्मनलाई वुझाउने काम गरेका छन । उचित वेलामा जनताले त्यसको जवाफ दिने छन । यसको मर्म र शिक्षालाई हाम्रो पार्टीले गम्भीरतापूर्वक ग्रहण गरिरहको छ ।

–राष्ट्र र जनताको मुक्ति, न्याय, स्वाधिनता, समानता विरुद्ध जाने अत्याचारी लुटको शासन व्यवस्था कायम गर्न खोज्ने,जनआवाजलाई वन्दुक, कानुन र शासनसत्ताको दुरुपयोग गरी कैद गर्ने, संसारका कुनै पनि प्रतिक्रियावादी सत्ता टिकेको एउटा पनि उदाहरण छैन । आज हाम्रो पार्टी माथि प्रतिवन्ध लगाउने, नेता कार्यकर्तालाई हत्या गर्ने, सयौलाई कष्टडी, जेल र नेलको चरम यातना दिने, कानुनको हवला दिने, वाक स्वतन्त्रताको वकवास गर्ने, त्यसको वुइ चढेर खिल्ली उडाउदै धोति लगाउने यो देशका नवदलाल तानाशाही राज्य व्यवस्था कदापि टिक्ने छैन ।

प्रतिरोध मोर्चामा आफू घाईते हुदा पनि ति महान क्रान्तिकारी महिला र जनताले उदम्य शाहस, सौर्य र कृतिमानी कायम गरे । आफ्नो अभिभावक काली बहादुर विकलाई भौतिक रुपमै विदाई गरेपनि वलिदानलाई उर्जामा, सोकलाई शक्तिमा वदले र दुश्मन संग वदला लिएर छाडे । दुश्मनको सफाया गरिदिए । सचेत जनताको तागत के हो ? चिनाउन सफल भए । यो क्रान्तिकारी शिक्षालाई एकीकृत जनक्रान्तिमा दृढतापूर्वक अवलम्वन गर्दै स्थापित गर्नु पर्दछ ।

– आज हाम्रो जनप्रिय नेपाल कम्युनिष्ट पार्टी समकालिन परिवेशको वैकल्पिक उदयमान राजनीतिक शक्ति हो । सामाजिक दलाल फासिवादी सत्ता र यसको कुनै पनि दमनचक्रलाई स्वीकार गर्दैन । यसको विकल्पमा वैज्ञानिक समाजवाद चाहान्छ । जसका लागि पार्टी एकीकृत जनक्रान्तिमा अहोरात्र खटिरहेको छ । साथै एकीकृत जनक्रान्तिका पाँच जादुगरी हतियारको तयारीमा दृढतापूर्वक अघि वढेको छ । यो भन्दा अर्को विकल्प छैन । नेपालमा अधुरो क्रान्ति पुरा गरी छाड्ने प्रतिवद्धता पुनः दोहोर्याउन चाहान्छ । भेरी कर्णाली क्षेत्रमा पनि यसले आफ्नो मोर्चा सुदृढ गर्दै लगेको छ ।

अन्तमा २०५४ साल चैत्र २६ गतेको ऐतिहाँसिक महिला प्रतिरोधका दिन क्रान्तिकारी महिलाहरुको मोर्चामा सहभागी भई आफ्नो अमूल्य प्राणको आहुति दिने महान शहिद काली वहादुर विश्वकर्मा प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । साथै शाहसिक प्रतिराधको क्रममा घाईते महान क्रान्तिकारी महिला योद्धा गोरीकला विश्वकर्मा (जो पछि हत्याराहरुले किलो सेरा टु नामक अप्रेसनमा हत्या गरे) उहाँ प्रति पनि हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु ।

घाईते अन्य महिलाहरु पुना विश्वकर्मा, विजा विश्वकर्मा, मंगला विश्वकर्मा र प्याउकली विश्वकर्माको शाहसिक कामको उच्च मुल्याङ्कन गर्दै विशेष स्मरणः सहित धन्यवाद ज्ञापन गर्दछु । त्यो प्रतिरोध संघर्षमा विभिन्न क्षेत्र वाट शशक्त भूमिका निवार्ह गर्ने महान क्रान्तिकारी जनसमुदायलाई हार्दिक अभिवादन गर्दछु । तपाईहरुले देख्नु भएको सपना हाम्रो पार्टी कुनै पनि मूल्यमा पुरागरी छाड्ने प्रतिवद्धता जाहेर गर्दछ ।

आगामी एकीकृत जनक्रान्तिको मोर्चा अझै कठिन र चुनौतिपूर्ण हुनेछ । नयाँ तथा निर्णायक क्रान्तिमा एकरति पनि पछि नहटी साथ सहयोगको पूर्ण आसा सहित सम्पूर्ण क्रान्तिकारी जनसमुदायहरुलाई एकीकृत जनक्रान्तिको मोर्चामा दृढतापूर्वक सहभागी हुन आहवान गर्दछु । महान शहिदहरु, घाईते अपाङ्ग योद्धा, क्रान्तिकारी जनसमुदायको सपना साकार हुनेछ । दुष्टहरुको खुनी सत्ता ध्वस्त हुनेछ । जनताको विजय हुनेछन । देशमा वैज्ञानिक समाजवादी सत्ता स्थापना भई छाड्नेछ । यसको दृढतापूर्वक हाम्रो पार्टीले नेतृत्व गर्ने छ ।

(लेखक एटम वि.सि. नेकपा नेता हुन)

प्रतिक्रिया दिनुहोस