राजेन्द्र महतोको प्रश्न : दुई कौडीको सरकारसँग के माग्ने ?

वैशाख २६, काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले यो दुई तिहाईको सरकारले दुई कौडीको काम गर्न नसकेको बताउनु भएकाे छ । यस्तो ‘दुई कौडी’ को सरकारसँग केही पनि माग्न नसकिने बताउँदै महतोले देशलाई विकल्प चाहिएको बताउनु भयाे ।

शुक्रबार संसदलाई सम्वोधन गर्दै महतोले भन्नु भयाे, ‘जनता महामारीबाट पीडित छ, यहाँ त अर्कै धन्दा पो भइरहेको छ । सरकार अर्को धन्दामा लागेको छ । पार्टी फोर्ने, सांसद चोर्ने ? सांसद अपरहण गर्ने ? गराउने ? के हो भयो ?’

सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेर सरकारले मानवताविरुद्धको अपराध गरेको भन्दै महतोले यस्तो सरकारले केही दिन नसक्ने बताउनु भयाे । उहाँले भन्नु भयाे, ‘दिन पनि के सक्छ ? गुण्डा लगाएर अपहरण गर्छ । विपक्षीलाई ठेगान लगाउने रे ! यो सरकार कुर्सीको लडाइँ गर्नचाहिँ बडा सिपालु छ । त्यो काम त रातारात गर्दोरहेछ ।’

सांसद महतोले कोरोनालाई मजाकका रुपमा नलिन आग्रह गर्दै परीक्षणको दायरा बढाउन सरकारसँग माग गर्नु भयाे । सरकार जस्तोसुकै निकम्मा भए पनि मोदी वा सि चिनफिङसँग नभई आफ्नै प्रधानमन्त्री केपी ओलीसँगै माग गर्नुको विकल्प नरहेको महतोले बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस