२५ वैसाख,काठमाडौँ । प्रमुख प्रतिपक्ष कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
शनिबार बसेको संसदीय दलको बैठकले ओलीले प्रधानमन्त्रीका लागि मागेको विश्वासको मत नदिने र अरु दललाई पनि विश्वासको प्रस्तावको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको हो ।
कांग्रेस सचेतक पुष्पा भुसालका अनुसार सरकार सम्पूर्ण रूपमा असफल भइसकेकाले विश्वासको मत नदिने संसदीय दलले निर्णय गरेको हो ।
ओली सरकार संवैधानिक, राजनीतिक, नैतिक सम्पूर्ण हिसाबले असफल भएको हुनाले सरकारलाई विश्वासको मत नदिने निर्णय भयो,’ उहाँले भन्नु भयो ’संसद्मा रहेका अरु दलहरूलाई पनि विश्वासको मतको विपक्षमा खडा हुनका लागि कांग्रेस संसदीय दलले आग्रह गरेको छ ।’
ओली सरकारलाई विश्वासको प्रस्तावमा असफल पारेर आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय पनि कांग्रेस संसदीय दलले गरेको भुसालले वताउनु भयो ।
त्यस्तै, कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकार गम्भीर नभएको, खोप आयतातमा कमिसन र भ्रष्टाचारमा संलग्न भएको पनि संसदीय दलले निष्कर्ष निकालेको छ ।
सरकारलाई जनताको स्वास्थ्यप्रति गम्भीर बन्न र अक्सिजन, भेन्टिलेटरलगायतका स्वास्थ्य उपकरण व्यवस्था गर्न ध्यानाकर्षण गराउने कांग्रेसले निर्णय गरेको छ ।
बैठकमा संवैधानिक परिषद् सम्बन्धि अध्यादेश र परिषद्को बैठकबारे छलफल भएको भुसालले वताउदै बैठकले प्रमुख प्रतिपक्ष दलको नेता बैठकमा नजाने र अरुलाई पनि उक्त परिषद्को बैठकमा सहभागी नहुन आग्रह गर्ने भन्ने निर्णय गरेको जानकारी दिनु भयो ।