२ जेठ २०७५ को स्थायी कमिटी बैठक बोलाउन गौतमको माग

२५ जेठ, काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले पार्टीमा एकताका लागि मध्यमार्गी प्रस्ताव अघि सार्नु भएको छ ।

पार्टी एकता राष्ट्रिय अभियानको तर्फबाट आज प्रेश विज्ञप्ति जारी गदै २ जेठ २०७५ मा कायम रहेको एमालेको स्थायी कमिटी बैठक बोलाउने र पार्टीमा उत्पन्न विषयबारे छलफल गर्ने प्रस्ताव अघि सार्नु भएको हो ।

आइतबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ बुँदे प्रस्ताव अघि सार्नुृ भएको थियो , जसमा एमालेलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अगाडि बढाउने र सर्वोच्चको रिटमा प्रयोग भएको एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता लिने उल्लेख थियो ।

नेपाल समूहले प्रस्तावमा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिएको निष्कर्ष निकाल्यो र हस्ताक्षर फिर्ता नलिने अडान सार्वजनिक गरेको थियो ।

गौतम संयोजक रहेको पार्टी एकता राष्ट्रिय अभियानको मंगलबार बसेको भर्चुअल बैठकले अध्यक्ष ओलीको प्रस्तावमा कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैली प्रयास भएको निष्कर्ष निकालेको छ ।

तर एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थाबाट अगाडि बढाउने प्रस्ताव सकारात्मक भएको अभियानको ठहर छ ।
एकता अभियानको वक्तव्यमा भनिएको छ, छिटोभन्दा छिटो २०७५ जेठ २ मा कायम रहेको एमालेको दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव र दुई उपमहासचिव र पाँच सहित सहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष हार्दिक अनुरोध गर्दछ ।’
विज्ञप्तिको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस