कालिकोटका हस्ति पूर्वमन्त्री प्रकाण्ड र सिंहबीच भेटवार्ता, वामपन्थी एकताबारे छलफल

२२ असोज, कालिकोट । कालिकोट जिल्लाका राजनीति क्षेत्रका दुई हस्ति विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) सी र वामपन्थी नेता तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहविच भेटवार्ता भएको छ ।
नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा मंगलवार कालिकोटका राजनीति क्षेत्रका दुई हस्ति पूर्वमन्त्री खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) सी र वामपन्थी नेता तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहविच भेटवार्ता भएका हो ।
उहाँहरु विचको भेटवार्तामा राजनीतिक छलफलदेखि जिल्लाको अवस्था र भलाकुसारी भएको छ । लामो समयदेखि अलग राजनीतिक धारमा भएपनि दुवै नेता कम्युनिष्ट विचारधारा र जिल्लाको विकासमा एक हुनुहुन्छ । कालिकोट जिल्लाका लागि यी दुवै नेतालाई सर्वोच्च नेताको रुपमा लिने गरिएको छ । उहाँहरु कालिकोटको मात्र नभएर सिंगो कर्णालीको प्रतिनिधित्व गर्ने राष्ट्रिय नेता हुनुहुन्छ ।
दुबै नेताविच भएको भेटवार्तामा देशको पछिल्लो राजनीतिक अवस्था, वामपन्थी एकता र धुव्रीकरण, कालिकोट जिल्लाको गर्नुपर्ने विकास र राजनीति अवस्थाको वारेमा गम्भीर छलफल भएको छ ।
यो भेटवार्ताले जिल्लाको राजनीतिक एकता र धुव्रीकरणलाई पनि सहयोग पुग्ने आसा गरिएको छ । आउने फागुन २१ गते हुने निर्वाचनमा पनि जिल्लाबाट कसरी अगाडि जाने ? को उम्मेवार हुने ? लगायतका विषयमा पनि सामान्य छलफल भएको बुझिएको छ ।
नेकपाका प्रवक्ता प्रकाण्ड सी जनयुद्धबाट जन्मिएको कालिकोटको श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने हस्ति नेता हुनुहुन्छ ।
प्रकाण्ड पहिलो पटक तत्कालिन नेकपा माओवादीबाट २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा सबै भन्दा बढी मत ल्याएर विजयी बन्नु भएको थियो । नेता प्रकाण्ड गिरिजा प्रसाद कोईराला नेतृत्वको अन्तरिम सरकारमा २०६३ बैसाख १२ गतेदेखि २०६५ साउन ३१ गतेसम्म दुईपटक महिला वालवालिका तथा समाजकल्याण मन्त्री बन्नु भयो ।
उहाँ २०६७ माघ २३ देखि २०६८ भाद्र ११ गतेसम्मको झलनाथ खनाल नेतृत्वको मन्त्रीपरिषदमा पर्यटनमन्त्री समेत बन्नु भएको थियो ।
पूर्वमन्त्री सिंह कालिकोट जिल्लाबाट २०५६ को आम निर्वाचनमा विजयी हुनु भएको थियो । उहाँ २०६६ जेठ ११ देखि २०६७ माघ २२ गते सम्म माधवकुमार नेपालको नेतृत्वको मन्त्रीपरिषदमा कानुनमन्त्री बन्नु भएको थियो । भने २०७२ असोज २५ गते देखि २०७३ साउन १९ गतेसम्मको केपी ओली नेतृत्वको मन्त्रीमण्डलमा खानेपानी तथा सरसफाई मन्त्री बन्नु भएको थियो ।
उहाँहरु विच भएको भेटवार्तालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । भेटवार्ताको तस्वीर पूर्वमन्त्री सिंहले स्वयम आफ्नो फेसवुकवालबाट सार्वजनिक गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस