हुनेका लागि दसैं, नहुनेका लागि दशा

विभेदकारी सत्ताको, विभेदकारी चाडपर्व मनाउनुको कुनै सार्थकता छैन

दसैं र तिहार प्रतिको वुझाईः
दसैं र तिहार भनेको हिन्दु धर्मावलम्बीहरुका लागि महत्वपुर्ण र सवैभन्दा ठुलो चाड हो । यो चाडलाई देश विदेशमा रहेका घरपरिवार,आफन्त,इष्टमित्र,छरछिमेकहरु विचको भेटघाट,आपसि सद्भाव,शान्ति,सहिष्णुता र रमाइलो चाडको रुपमा लिने गरिन्छ । दसैंमा ठुला मान्यजनहरुको हात वाट टिका र जमरा थाप्ने चलन छ । तिहारमा आफ्नो दिदी वहिनीहरुको हात वाट टिका थाप्ने प्रचलन छ ।

यसले आफन्तहरुका विचमा माया,प्रेम,सद्भाव र सहयोगी भावनाहरुमा थप कसिलो वनाएको छ । यसअर्थ हिन्दु धर्मावलम्बीहरुका लागि यो चाड निकै महत्वको मानिन्छ । टाढा टाढा भएका आफन्तजनहरु आफ्नो जन्मथलोमा आउछन । सवै घरपरिवारका सदस्यहरु जम्मा भएर विभिन्न मिठा खाने परिकार वनाई खाने,नाचगान गर्ने र देउसी भैलो खेल्ने गरी रमाइलो गरिन्छ ।

तर पनि हुनेवर्ग र नहुने वर्गहरु विचको मनाउने दसैं र तिहार आकास जमिनको फरक छ । हुनेहरुको लागि कुनै अभाव छैन । नहुनेहरुको लागि अभावै अभावको विच वाट दसैं तिहार जोहो गरी मनाउनु पर्ने वाध्यता छ । यसैको विषयमा केहि लेख्ने प्रयास गरिएको छ । सुरुमा दसैं तिहार मनाउनुका केही ऐतिहाँसिक र धार्मिक कारणहरु छन ।

दसैंः

यो चाड मनाउनुको आफ्नै धार्मिक मान्यता तथा सामाजिक ऐतिहाँसिक विशेषताहरु छन । असोज महिनाको शुक्लपक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । यो वर्ष दश दिन सम्म मनाइन्छ । यसैदिन भगवान श्री रामले रावण माथि विजय प्राप्त गरेको हुनाले असत्य माथि सत्यको विजयको रुपमा यो पर्व मनाउने गरिन्छ ।

प्राचिनकालमा राजाहरु यस दिन विजयको प्राथाना गरेर रण यात्राको लागि प्रस्थान गर्दथ्ये । भारतमा रामलिलाको समेत आयोजना गरिन्छ । यो पर्वलाई दुर्गा भवानीको पुजाको रुपमा पनि मनाउने चलन छ । विजया दशमीको उत्पत्ति र मनाउने चलन भारत वाट आएको भन्ने विश्वास गरिन्छ ।

तिहारः

तिहार हिन्दु धर्मावलम्बीहरुको दसैं पछिको सवैभन्दा ठुलो पर्व हो । यो पर्व कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्तिक शुक्लपक्षको द्धितीया तिथिको भाइटिका सम्म पाँच दिन मनाइन्छ । पाँच दिन सम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेषगरी नेपालमा मनाईन्छ ।

हिन्दु धर्मावलम्बीहरुले दिपावलीको रुपमा यस पर्वलाई धुमधामका साथ मनाउदछन । यमराजले आफ्नी वहिनी यमुनाका घरमा आतिथ्यग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो ।

पाँच दिन सम्म वस्दा यमुनाको व्यवहारले निकै प्रशन्न भई यमराजले वहिनी यमुनालाई ‘जे मन लाग्छ बर माग’ भन्दा यमुनाले हरेक वर्ष आजैको दिन मलाई भेट्न आउनु पर्ने,साथै दिदी भाई दाजु वहिनीको प्रेम,अटल रहोस् र दाजुभाईको आयु कीर्ति सदा वृद्धिहोस भन्ने वरदान मागिन । यमराजले पनि तथास्तु भन्दै मनसा,वाचा,कर्मणा र शुद्धचित्तले यस प्रकार संग भ्रातृपुजा गर्ने गराउनेहरुको सदा उन्नति हुने तथा कीर्ति पनि फिजिने वरदिई आफ्नी वहिनी संग विदा भई गएको र यसरी प्राचिनकाल देखि अहिले सम्म अविछिन्न साथमा यो पर्व मनाउदै आएको परम्परा छ ।

यहि दिन भगवान धन्वन्तरीको जयन्ती वा धनतरेश पनि भनिन्छ । यमपञ्चकमा क्रमशःकाग,कुकुर,गाई लक्ष्मी र भाईको पुजा गरिन्छ । पिङ्ग खेल्ने,दीपावली गर्ने,देउसी भैलो खेल्ने, सेलरोटी आदि मिष्ठाई खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।

हुनेहरुका लागि दसैं, तिहारः

हुने खानेवर्ग ,धनी साहु महाजनहरुका लागि दसैं तिहार निकै फरक हुन्छ । उनीहरुको दसैं तिहार खानपिनको हिसावले वर्षभरी नै हुन्छ । धार्मिक हिसावले मात्र सवै संग हुन्छ । हुनेहरुका लागि मिठो ,मसिनो,विभिन्न चौरासी ब्यञ्जनको खानेकुराको पैसाका कारणले अभाव हुदैन ।

चाहेको दिन र समयमा खान सक्छन । चाहेको लुगा लगाउन सक्छन । चाहेको ठाँउमा कार, हेलिकप्टर, प्लेनको प्रयोग गरेर घुम्न जान सक्छन । उनीहरुलाई कुनै चिजको अभाव रहदैन । जहाँकि समस्या र अभाव भन्ने कुरा हुनेखानेहरुले कहिल्लै चिन्दैनन् । त्यसैले पनि उनीहरुको दसैं तिहार खान पिनका हिसावले वर्षका ३६५ दिनमै हुन्छ र छ पनि ।

हुनेखाने वर्गहरुले कहिलै पनि नहुने वर्गलाई दिन जान्दैन । वरु उनीहरु विभिन्न परिकारका खान खाएर फुटपोइजन भई अस्पताल भर्ना हुन तयार हुन्छन । नहुने वर्गको लागि सहयोग गर्न तयार हुदैनन् । धार्मिक मान्यता र परम्पराको हिसावले मात्र हुनेखाने वर्गको दसैं तिहार असोज कार्तिक महिना हो । अथवा सवैको तोकिएको तिथि मितिमा हो ।

उनीहरुको दसैं सौभाग्य, खुसी, कमाएको पैसा कसरी खर्च गर्ने भन्ने तिर केन्द्रीत हुन्छ । वर्षभरी भ्रष्टाचार,कमिशन,दलाली गरी कमाएको पैसा सेतो वनाउने तिर दसैं हुन्छ । यो सवै हुने खाने वर्गको लागि भने होइन । हुने खाने वर्ग भित्रपनि एउटा महादलाल भ्रष्ट हुनेखाने वर्ग छ । त्यस्तो वर्ग तल्लो वर्ग प्रति कहिलै गम्भीर हुदैन ।

तल्लो वर्गले खाहोस त ,नखाहोस त, दसैं तिहार मानहोस त नमानहोस त कुनै चासो राख्दैन । यस्तो वर्ग भनेको शोषक,दलाल,भ्रष्टाचारी र महासामन्त वर्ग हो । यो वर्गको दसैं तिहारमा मिठो मसिनो खाउला भनेर समय कुर्नु पदैन । यसअर्थ हुने खाने वर्गको दसैं तिहार जहिले पनि छ । जतिवेला पनि छ । जस्तो पनि छ । अभावरहित छ ।

नहुने वर्गको दसैं, तिहारः

यो वर्गको आफ्नो छुट्टै पिडा छ । यो यस्तो वर्ग हो । कम्मरमा पटुका वाँधेर काम गर्छ । २४ सैं घण्टा श्रम गर्छ । पसिना वगाउछ । तर पनि खान लगाउन अभाव छ । उसको श्रम माथिल्लो वर्गले शोषण गरिरहेको छ । खाडी मुलक र भारतका गल्लीहरु धाएर परिवार पाल्ने र दसैं तिहार मनाउने गर्छ ।

त्यतिमात्र होईन स्वदेशमै सडकमा दसैं तिहार मनाउनु परेको छ । यो वर्गलाई दसैं तिहार हर्ष न विषमात भएको छ । किनकि यो वर्गलाई दसैं तिहारको लागि जोहो गर्नुपर्छ । कहि कसैवाट मागेर ऋण गरेर दसै तिहारमा वालवालिकाको लुगा फाटो वदल्ने र मिठो मसिनो खानेकुरा खानु पर्ने वाध्यता छ ।

यो वर्ग भित्र सर्वहारा श्रमजिवी, किसान, मजदुुर, जोताहा, भुमिहिन, शुकुम्वासी, मुक्तकमैया, उत्पीडित तथा अपहेलित कर्णाली, सुदुरपश्चिम जस्तो क्षेत्रका जनता पर्दछन । उनीहरुले वर्षभरी मिहिनेत गर्दछन । तर मिठो मसिनो खान वर्षभरी आउने एक पटकको दसैं तिहार कुर्छन । अथवा चाहेको समयमा मिठो मसिनो खाने पैसा हुदैन । चाहेको समयमा घुम्ने भाडा हुदैन ।

तल्लो वर्गले एक दिन पसिना वगाउन छोड्यो भने साँझ विहानको खाना वन्द हुन्छ । किसानले वर्षभरी मिहिनेत गर्छ । उत्पादन हुदैन । सरकारको कृषि तर्फ ध्यान छैन । जोताहाले अरुको खेत जोत्छ । आफ्नो जमिन छैन । सवै मालिकले लिन्छ । उचित पारिश्रमिक पनि छैन । शुकुम्वासी र मजदुरहरुले दिनभर मिहिनेत गर्छ कहि ज्याला पाउदैन कहि मुल्य पाउदैन । उ पनि ठगिएको छ ।

अपहेलित उपीडित कर्णाली ,सुदुरपश्चिम जस्ता क्षेत्रका जनताहरु त पैसा भएरपनि चामल नपाउने अवस्था छ । पैसा नहुनेहरु आलु, कन्दमुल, तरुल खाएर दिन काट्नु पर्ने वाध्यता छ । यसको ज्वलन्त उदाहरण हुम्ला मुगु का विकट वस्ति र वाजुराको कुरु क्षेत्रका जनतालाई लिन सकिन्छ ।

उत्पीडित क्षेत्रको जनता पनि सधै हुने खाने वर्गको उत्पीडन मै छ । यसले के देखाउछ भने उत्पीडित वर्ग अथवा नहुने वर्गको लागि दसैं होईन यो दशा हो । तिहार होईन यो तितो हो । दसैं तिहारको खुसी र असन्तुष्टि कहिले पनि छैन । मन भित्र ठुल्ठुला पिडा राखेर हाँसे जस्तो हुदै दसैं तिहार मनाउनु पर्ने वाध्यता छ ।

यो वर्गको दसैं कहिलै पनि छैन । कहि पनि छैन । खुसी पनि छैन । शोषण र उत्पीडन वाट मुक्त पनि छैन । त्यसैले जहाँ सम्म आफु माथिको उत्पीडन वाट मुक्ति पाउदैन यो वर्गले दसैं र तिहार खुसि ,सुखि,र सन्तुष्टि मनले मनाउन पनि सक्दैन ।

निश्कर्षः

चाडपर्वमा पछिल्लो समय हुने खाने वर्गको देखासिकी गरी ऋण गरेर भएपनि नहुने वर्गले चाडपर्व मनाउने गलत परम्परा वसेको छ । यो वाध्यता र आवश्यकता दुवै छ । तर पनि यस्तो संस्कारको रुपान्तरण जरुरी छ । दसैं तिहार मनाईसकेपछि दसैं तिहारमा लागेको ऋण तिर्न वाल वच्चा सहित विदेश जानु पर्ने वाध्यता वाट टाढा वस्ने कोशिस गर्नु पर्छ ।

चाड पर्वमा ऋण गरेर पनि नहुने वर्गले अति खर्च गर्ने वानीको अन्त्य गर्नु पर्छ । चाडपर्वलाई भेटघाट र सद्भावको पर्व मनाउनु पर्छ । क्षमता अनुसारको खर्च गर्नु पर्छ । देखासिकी गर्नु हुदैन । हुनेले खाने, नहुनेले खान नपाउने अवस्था पनि हुनु हुदैन । पहिलो कुरा, नहुने वर्गको लागि दसैं तिहार त्यो दिन हुनेछ जव आफु माथिको सम्पूर्ण उत्पीडन वाट मुक्त भएको हुने छ ।

त्यस्तो राज्य व्यवस्था चाहिएको छ । त्यस्तो सरकार चाहिएको छ । त्यस्तो नेता चाहिएको छ । तर आज त्यस्तो सत्ता,सरकार,र नेता छैन । यो सवै प्राप्त गर्न उत्पीडित वर्ग पुनः उठ्नु पर्ने,संगठित हुनु पर्ने,र फेरी पनि भ्रष्ट,दलाल संसदीय व्यवस्थाका विरुद्ध संर्घष गर्नु पर्ने अवस्था आएको छ ।

दोस्रो कुरा, जव जनताको आफ्नै सत्ता प्राप्त हुन्छ । नहुने वर्गको लागि गास,वाँस,कपास,स्वास्थ्य, शिक्षा सवै राज्यले व्यवस्था गरेको हुनेछ । सरकारले विशेष व्यवस्था गरी चाडपर्व मनाउने खर्च समेत व्यवस्था गर्र्नेछ । त्यस्तो वेला मात्र चाडपर्वहरु सवैको लागि बरावर हुनेछन । नत्र भने विभेदकारी सत्ताको, विभेदकारी चाडपर्व मनाउनुको कुनै सार्थकता छैन ।

प्रतिक्रिया दिनुहोस