सुशिलाको कठपुतली सरकार खारेज गरी सर्वपक्षीय सरकार बनाऔंः प्रेम सी

२५ पुस, कपिलवस्तु । नेकपा (माओवादी)का केन्द्रीय सदस्य प्रेम सीले अमेरिकी कठपुतली सुशिला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग गर्नु भएको छ ।
नेकपा (माओवादी)ले संचालन गरेको समाजवादी युवा जागरण अभियान अन्तरगत कपिलवस्तुको तौलिहवा र जीतपुरमा शुक्रवार भएको कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य प्रेम सीले अमेरिकी कठपुतली सुशिला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग गर्नु भएको हो ।
नेता प्रेम सीले सुशिला नेतृत्वको सरकार जेनजी आन्दोलनको भावना विपरित अमेरिकी एमविसीबाट गठन गरिएको सरकार भएको आरोप लगाउनु भयो ।
उहाँले भन्नु भयो ‘यो कठपुतली सरकार हो,खारेज हुनुपर्छ । देशलाई विदेशीको जिम्मा लगाउन सकिदैन,राष्ट्रिय स्वाधीनताको रक्षा गर्नु पर्छ, देशको संकट समाधानका लागि सर्वपक्षीय सरकार गठन गरिनु पर्छ ।’
उहाँले भ्रष्टाचार अन्त्यका लागि उच्च स्तरिय नागरिक आयोग गठन गरी उच्च स्तरिय न्यायलय गठन गरिनु पर्ने जिकिर गर्नु भयो ।
अमेरिकी साम्राज्यवादले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलास मधुरोलाई कव्जा गर्नु फासिवादी चरित्र भएको नेता प्रेम सीले टिप्पणी गर्नु भयो ।

देशको आत्मनिर्भर र समृद्धिको लागि नेपालमा नेपाली विशेषताको समाजवाद विना सम्भव नभएको उहाँले ठोकुवा गर्नु भयो ।
नेता प्रेम सीले नेकपा (माओवादी) जनताको सुझाव अनुसार आगामी फागुनमा हुने निर्वाचनमा गुलाफ चुनाब चिन्ह ल्याएर माओवादी आएको भन्दै सबैलाई त्यसैमा छाप लगाएर एकपटक जिताउन अपिल गर्नु भयो ।
शुक्रवारै समाजवादी युवा जागरण अभियानले जिल्लाको चन्द्रौटा बजारमा आयोजना गरेको कोणसभामा पार्टी केन्द्रीय सदस्य सुस्मा सी,भिष्म सीले बोल्दै विदेशी हस्तक्षेपको विरोध गरेका थिए ।
जिल्लाको गोरुसिंगेमा भएको कोणसभामा पार्टी केन्द्रीय सदस्य राजकुमारी सी र कपिल सीले बोल्दै अहिलेको सरकार विदेशीहरुको कठपुतली सरकार भएको भन्दै खारेज गर्न माग गरेका थिए ।
तौलिहवाको कोणसभामा नेता सुमन सी, धुव्र सी, जीतपुरमा भएको कोणसभामा भिम भारती, कपिलवस्तु जिल्ला इन्चार्ज संगम सी लगायतका नेताहरुले बोल्दै समाजवाद र राष्ट्रिय स्वाधीनताका लागि कम्युनिष्टहरु एकताबद्ध हुनुपर्ने बताएका थिए । अभियानका क्रममा सबै ठाउँका कोणसभामा जनकलाकार हिमशिखर लगायतका कलाकारहरुले गीतसंगीतको माध्यमबाट जनतालाई समाजवादी चेतना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस