कालिकोटमा महेन्द्र शाहीको चौथो चुनाव ‘एक विश्लेषण’

२६,माघ,कालिकोट । कालिकोटको पछिल्लो एक दशकको निर्वाचन इतिहास पल्टाउँदा एउटा नाम निरन्तर दोहोरिन्छ, महेन्द्र बहादुर शाहीको । २०७०, २०७४ र २०७९ का तीनवटै निर्वाचनमा फरक–फरक राजनीतिक परिस्थितिका बीच उनी दुई पटक प्रतिनिधि सभा र एक पटक कर्णाली प्रदेश सभामा विजयी भए । तीन चुनाव, तीन जित । यो निरन्तरता सामान्य संयोग होईन, बरु त्यसको पछाडि बलियो पार्टी संगठन, गठबन्धन र शक्ति सन्तुलनको निर्णायक भूमिका स्पष्ट देखिन्छ । गहिरिएर हेर्दा उनका विगतका जितहरू व्यक्तिगत लोकप्रियताभन्दा पनि माओवादी पार्टी विभाजन हुनु,जिल्लाको मुल नेतृत्व प्रचण्डतिर नहुनु, चुनाब पनि लगातार वहिष्कार गर्नु मुख्य रहेको छ । त्यसपछि माओवादी विचारधारा राख्ने जनताको बलियो पार्टी संरचना उनको जीत हो । त्यसपछि गठबन्धन र संसाधन परिचालनको परिणाम देखिन्छन् । २०७० मा बलियो संगठनको भरमा उनले एक्लै जिते । त्यतिबेला पार्टीभित्र आजजस्तो असन्तुष्टि थिएन । २०७४ मा एमालेसँग र २०७९ मा कांग्रेससँग गठबन्धन गरेर उनी झनै सुरक्षित र बलियो अवस्थामा चुनावी मैदानमा उत्रिए । यसले स्पष्ट गर्छ कि महेन्द्र शाही एक्ला लोकप्रिय नेता भन्दा पनि संरचनामा टिक्ने नेता हुन् ।
तर २०८२ को निर्वाचनमा तस्वीर पूर्णतः बदलिएको छ । कालिकोटमा माओवादी जनयुद्धको संस्थापक नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) अहिले १८ बर्षपछि चुनाबमा फर्किएका छन । उनी निरन्तर पार्टीभित्रको खरावी विरुद्ध लड्दै प्रचण्डबाट बाहिर वसे र नयाँ पार्टी बनाएर एकीकृत जनक्रान्तिमा गएका थिए । अहिले उनी वास्तविक माओवादी जीवित राखेर नेकपा (माओवादी)को नाममा चुनावमा छन । प्रचण्डले भने नेपाली कम्युनिष्ट पार्टी बनाएर माओवादी पहिचान मेटाएर महेन्द्रलाई फेरी उम्मेदवारी दिएका छन । यो पनि विवादै विवादका बीच उनको उम्मेदवारी परेको छ । माओवादी पार्टी भने चुनावलाई पनि क्रान्तिको एउटा मोर्चाको रुपमा प्रयोग गर्ने भन्दै अहिले चुनावमा होमिएको छ । यसले गर्दा विगत भन्दा यो चुनाव निकै फरक तस्वीरमा देखिएको छ । यसपटक महेन्द्रको न गठबन्धन छ, न पार्टीभित्र एकता । महेन्द्र शाहीप्रति जनस्तरमै होईन, उनकै पार्टीभित्र गहिरो असन्तुष्टि देखिन्छ । इमान्दार, त्यागी र पुराना कार्यकर्तालाई पाखा लगाइएको आरोप छ । यही कारण उनी पहिलो पटक साँच्चिकै एक्लै चुनावी अग्निपरीक्षामा उत्रिएका छन् । यो नै उनको राजनीतिक यात्राको सबैभन्दा कठिन मोड हो ।
शाहीले निर्माण गरेको सीमित व्यक्तिको कोर ग्रुप (खेम सिंह, धर्मराज शाही, डम्बर शाही, रमेश मल्ल (युनाइटेड), देवजङ्ग शाही र मिमसरा बम जस्ता आफ्नै समुदायका केही व्यक्तिहरू ) ले पार्टीका हरेक निर्णय आफूमै केन्द्रित ग¥यो । स्थानीय तहको टिकट वितरणदेखि प्रदेश र संघ सरकारका योजना छनोटसम्म मनपरी चलायो । कार्यकर्ता र जनताको समस्या समाधानभन्दा पनि जहाँबाट कमिशन आउँछ, त्यहीँ योजना हाल्ने प्रवृत्ति मौलायो । छोटो समयका लागि प्रभावकारी देखिएको यही शैली आज उनको सबैभन्दा ठूलो राजनीतिक कमजोरी बनेको छ । यो ग्रुपकै मनपरि विरुद्ध जीवन बुढाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ता भएपछि समस्या समाधानभन्दा पनि पैसाको बलमा उम्मेदवारी फिर्ता गराइयो भन्ने छाप जनमानसमा गहिरोसँग बसिसकेको छ । यसले पार्टीभित्रमात्रै होईन जनतामा समेत विद्रोहको आगो भुसको आगो झै फैलिएको छ । चुनाव अघि हरेक जनता र कार्यकर्तासंग रुझेको बिरालो झै हातपाउ जोड्ने र चुनाव जितेपछि हात्ती झै टसको मस नहुने उनको प्रवृत्ति हो । यो आरोप महेन्द्र शाहीसँग वर्षौंदेखि जोडिँदै आएको छ । सहिद र घाइते परिवारको नाममा भोट माग्ने, जितेपछि बेवास्ता गर्ने व्यवहारले उनको नैतिक विश्वसनीयता गम्भीर रूपमा खस्किएको छ । आफन्तवाद उनको राजनीतिक मूलमन्त्र बनेको छ । अहिलेसम्म उनले श्रीमती, छोराछोरी र आफन्त बाहेक अन्य कुनै कार्यकर्तालाई स्वकीयमा राखेको उदाहरण भेटिँदैन ।
तत्कालीन जनमुक्ति सेनाको कमाण्डर हुँदा क्यान्टोनमेन्ट घोटाला, ऊर्जामन्त्री हुँदा तामाकोसी हाइड्रोबाट कमिशन, मुख्यमन्त्री हुँदा डीपीआर र योजनामा अनियमितता जस्ता कारणले उनको जनमत खस्किएको छ । शक्तिमा हुँदा अकुत सम्पत्तिका मालिक बनेका शाही आज काठमाडौंको हातिबनमा आलिशान महलमा बस्छन् । गाडी उनका लागि विलासिताको दैनिकी हो । छोरी अमेरिकामा पढ्दैछिन्, दुई छोराहरू काठमाडौंको महँगो लिटिल एन्जल्स कलेजमा अध्ययनरत छन् । श्रीमती टिकटक बनाएर रमाउछिन । तर यही व्यक्ति कालिकोटका गरिब जनतालाई “साधारण समाजवादी जीवन” को उपदेश दिन्छन् । आफ्ना सन्तानका लागि राजधानी र विदेशको सुख सुविधा सुरक्षित गर्ने नेता, जनतालाई भने धुलो, अन्धकार र अभावमै बाँधिराख्न चाहन्छन् । यही दोहोरो चरित्र आज उनको वास्तविक राजनीतिक पहिचान बनेको छ । अघिल्लो निर्वाचनमा “गृह र अर्थमन्त्री बन्छु”, “एक वर्षभित्र सुनथराली विमानस्थल सञ्चालन गर्छु” भन्दै भोट मागे । जितेपछि भने “कालिकोटका जनतासँग प्लेन चढ्ने हैसियत छैन” भनेर उल्टै जनताको खिल्ली उडाएको आरोप उनिमाथी छ । मान्मदेखि कोटबाडा केबलकार आजसम्म कागजमै सीमित छ । बाटोघाटो र बिजुलीको दाबी गरिए पनि जनता अझै अन्धकार र धुलाम्मे जीवन बाँचिरहेका छन् । यसपटक खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को उम्मेदवारीले कालिकोटको राजनीतिक खेल पूर्ण रूपमा बदलिएको छ । माओवादीको परम्परागत जनाधार, संगठनात्मक शक्ति र वैकल्पिक नेतृत्वको चाहनाले प्रकाण्डलाई सकारात्मक रूपमा हेरिएको देखिन्छ । यसले महेन्द्र शाहीको जितमा ब्रेक लाग्ने सम्भावना बलियो बनाएको छ ।
यदि महेन्द्र शाही फेरि जिते भने त्यो उनको व्यक्तिगत राजनीतिक सफलता त होला । तर उनको जितले कालिकोटको भविष्य उज्यालो बन्छ कि झन् अन्धकारतिर धकेलिन्छ ? प्रश्न अब जनताकै अदालतमा छ । अहिलेको माहोल हेर्दा यो चुनाव महेन्द्र शाहीको जितहारभन्दा पनि कालिकोटबासी जनताको राजनीतिक परिपक्वताको परीक्षा हो । उनको निरन्तरता कायम रहन्छ कि अन्त्य हुन्छ ? यसको अन्तिम उत्तर भने फागुन २१ पछिको मतपरिणामले मात्र दिनेछ ।

प्रतिक्रिया दिनुहोस