चैत्र २६, महेन्द्रनगर । भारत संग जोडिएका सुदूरपश्चिम प्रदेशका सीमा नाका तीन दिनका लागि बन्द भएका छन् ।
भारतको उत्तराखण्ड प्रदेशमा आउँदो (अप्रिल ११ तारिख) चैत २८ गते हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतमा हुने निर्वाचनका वेला सुरक्षालाई ध्यान दिँदै उत्तराखण्ड प्रदेश संग जोडिएका कैलाली–कञ्चनपुर लगायतका सीमानाका तीन दिनका लागि बन्द गर्न लागिएकोे कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मोहन वैद्यले जानकारी दिए ।
उनका अनुसार उत्तराखण्ड प्रदेशमा पहिलो चरणमा हुने लोकसभा निर्वाचनका लागी आउँदो चैत २६ गते राति १२ बजेदेखि २८ गते राति ८÷९ बजे सम्म सीमा नाका बन्द रहने छ । भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा सुरक्षा बैठकले चुनावका बेला सीमा नाका बन्द गर्ने सहमती गरेको थियो । कैलालीको सिमा भने उत्तर प्रदेशसंग जोडिएकाले बन्द हुने छैनन् ।
चैत २८ गते हुने चुनावलाई मध्यनजर गर्दै कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टालगायतका सीमानाका २६ चैतको राति १२ बजेदेखि २८ चैतको बेलुका ८ बजेसम्म बन्द रहने प्रजिअ वैद्यले जानकारी दिए । ‘सीमानाकामा सुरक्षा व्यवस्था पनि कडा हुन्छ । बिरामी, एम्बुलेन्सलगायत आकस्मिक आवत–जावतका लागि दुवै देशका अधिकारीबीच समन्वय गरेर समस्या हल गरिनेछ,’ उनले भने ।
तीन दिनका लागि सीमानाका बन्द हुने भएपछि पूर्णा्गिरी मेलाका दर्शनार्थीसमेत प्रभावित हुने भएका छन् । भारतको पूर्णा्गिरी मन्दिरको दर्शन गरेर नेपालका सिद्धनाथ मन्दिरमा दर्शनका लागि आउने दर्थनार्थीलाईसमेत सीमामा आवत–जावत गर्न नदिने सहमति दुई देशका अधिकारीबीच भएको छ ।