सुराकी शिक्षकको प्रतिकारमा मृत्यु


२४ मंसिर कालिकोट । विप्लव नेकपा विरुद्ध सुराकी गरिरहने मोरङ मिक्लाजुङ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठ हतियार सहित आक्रमण गर्न आउदा प्रतिकारमा मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५३ वर्षीय श्रेष्ठको प्रतिकारका क्रममा मृत्यु भएको नेकपाले जनाएको छ ।
नेकपा मेचि कोषि व्युरो इन्चार्ज प्रतापले मंगलवार एक विज्ञप्ती जारी गरी नेकपा विरुद्ध सुराकी गरिरहेको र पटक पटक सच्चिन आग्रह गर्दा पनि उल्टै हतियार सहित आफ्नो कार्यकर्ता विरुद्ध आक्रमण गर्न आउदा प्रतिकारमा मृत्यु भएको जनाउनु भएको छ ।
विज्ञप्तीमा २०७६ फागुन २६ गते मेची कोषि व्युरोको वैठकमा प्रहरी वोलाएर दमन गराएको ,जनमुक्ति सेनाको अभियानमा शसस्त्र प्रहरी वोलाएर अप्रेसन गर्न लगाएको,२०७७ साल कार्तिक १२ गते व्युरो इन्चार्ज वसेको घरमा प्रहरी वोलाई प्रहरी अप्रसन गर्न लगाएको र सो क्रममा व्युरो सदस्य कासीराम घिमिरे र विज्ञान राई लाई गिरफ्तार गराएको, पार्टीको महत्वपूर्ण सामान सहित नगद एक लाख लुट्न लगाएको लगायतका गल्तीहरु शिक्षक श्रेष्ठले गरेको नेकपाले जनाइएको छ ।
इन्चार्ज प्रतापले विज्ञप्तीमा भन्नु भएको छ “जनताका घरमा पटक पटक प्रहरी पठाएर नेकपाका नेता कार्यकर्तालाई वस्न खान दिए तातो गोली खान्छौ भनेर जनतालाई आतंकित पारेका राजेन्द्र श्रेष्ठले २०७७ साल साउन देखि नै पटक पटक त्यस प्रकारको गतिविधि रोक्न र आफुलाई सच्चाउन भनि सम्झाउन जाँदा पनि उग्र गतिविधि गरिरहेका थिए । उनलाई यस पटक पनि सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आईलागेकाले प्रतिकारका क्रममा निजको मृत्यु भएको सवैमा जानकारी गराइन्छ ।”

प्रतिक्रिया दिनुहोस