२६ फागुन,वर्दिया । बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ ।
बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ को कोठियाघाट संग जोडिएको सम्झना सामुदायिक वनभित्र घाँस काट्न गएकी मधुवन ३ कोठियाघाट बजारकी एक महिलालाई बाघले आक्रमण ज्यान गएको हो ।
पाटेबाघको आक्रमणबाट कोठियाघाट ३ की २७ वर्षीय रिना सुनारको ज्यान गएको जनाइएको छ ।
आज (बुधबार) दिउँसो २ बजेतिर समूहमा घाँस काट्न गएका बेला पाटेबाघले सुनारलाई आक्रमण गरेको थियो ।
यसअघि फागुन १७ गते मात्रै बर्दियाको गेरुवामा पाटेबाघले भैंसी चराउन गएका ६५ वर्षका एक पुरुषलाई आक्रमण गरेर ज्यान लिएको थियो ।
योसँगै बर्दियामा यस वर्ष बाघको आक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय बर्दियामा बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीयबासी थप त्रसित बनेका छन् ।
बाघ आक्रमणका घटना दिनहु बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यलयले सूचना जारी गरेर निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाइभैसी चराउन तथा घाँस दाउरा लिन नजान पटक पटक आग्रह गरिरहेको छ ।
पाटेबाघ आक्रामक बनिरहेकाले केही समय जंगल प्रवेश नगर्न र गर्नै परे पनि एक्लै नजान डिभिजन वन प्रमुख महेन्द्र राज वाग्लेले सम्पूर्ण स्थानीयमा आग्रह गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस